हङकङमा पासपोर्ट हराएका गायकले अष्ट्रेलियामा देखाए प्रेमिका

हङकङमा पासपोर्ट हराएका गायकले अष्ट्रेलियामा देखाए प्रेमिका
सुन्नुहोस्

युवापुस्ताका चर्चित गायक नितेशजंग कुवँरले अष्ट्रेलिया पुगेर प्रेमिका सार्वजनिक गरेका छन् । ’रिबर्थ टूर’ सांगीतिक प्रस्तुतिका लागि सिड्नी पुगेका उनले प्रेमिका संमृद्धि राईलाई सँगै राखेर प्रेम सम्बन्धको खुलासा गरेका हुन् । 

सिड्नीको एक रेष्टुरेन्टमा आज बिहान आयोजित ’मिट एण्ड ग्रीट’ कार्यक्रममा कुँवरले समृद्धिसँगको प्रेम सम्बन्ध विवाहभन्दा धेरै अगाडि बढिसकेको बताए । म्युजिक करिअरको सुरुआतमा समृद्धिले साथ दिएको भन्दै खुलेर प्रशंसासमेत गरेका थिए । 

उनले भने, ‘हामीबीचको सम्बन्ध, साथ र आत्मियता विवाहभन्दा ठूलो छ !’, कार्यक्रममा कुँवरले आफ्ना केही चर्चित गीतका पंक्तिहरु पनि गुनगुनाएका थिए । 

यसै महिनाको अन्तिम साताबाट अष्ट्रेलियाका आधा दर्जन शहरमा हुने म्युजिक कन्सर्टका लागि गायक कुँवर प्रेमिका र आमासँगै अष्ट्रेलिया गएका हुन् । उनको अष्ट्रेलिया याता सुखद भने भएन । 

नेपालबाट आमा र समृद्धिसँगै अष्ट्रेलिया उडेका उनी ट्रान्जिटमा पासपोर्ट हराएपछि हङकङबाटै फर्कनुपरेको थियो । विमानस्थलका कर्मचारीको सहयोगमा लगातार ४८ घण्टासम्म खोज्दा पनि पासपोर्ट नभेटिएपछि समृद्धि र आमालाई अष्ट्रेलिया उडाएर उनी नेपाल फर्किएका थिए । नयाँ पासपोर्ट बनाएर उनी गएराति प्रस्थान गरेका हुन् ।   

म्युजिक कन्सर्टका लागि तय गरिएका कार्यक्रम फेबु्रअरी २३ बाट शुरु हुँदैछ । पहिलो कन्सर्ट सिड्नीको राउण्ड हाउस हुने बताइएको छ ।

टिप्पणीहरू