राजश्व चुहावट नियन्त्रणमा भन्सारको चर्चा

राजश्व चुहावट नियन्त्रणमा भन्सारको चर्चा

राजश्व चुहावट ठूलो सामाजिक अपराध हो । तरपनि मुलुकभरका भन्सार नाकाबाट राजश्व चुहावट भइरहेको छ । राजश्व अनुसन्धान विभागको भूमिका कमजोर भइदिँदा राजश्व चुहावटमा कमी आउन नसकेको बताइन्छ । यसबीचमा भन्सार विभागको निगरानी महाशाखा राजश्व चुहावट रोक्न सक्रिय भएर अघि बढेको छ । 

पछिल्लो आठ महिनाको विवरणमा सो महाशाखाले उल्लेखनीय उपलब्धि हासिल गरेको निर्क्यौल निकालेको छ । विभागका उपमहानिर्देशक रमेश अर्यालका अनुसार महाशाखाले ६ महिनामा ७७ करोड राजश्व चुहावट हुनबाट जोगाएको छ । यो आकँडा गत साउनदेखि पुससम्मको हो । माघ महिनामा पनि धेरै प्रगति गरेको उनी बताउँछन् । 

महाशाखाले भन्सार नाकामा विदेशबाट सामान आयात गर्ने व्यापारीका प्रतिनिधिले स्वःघोषणा गरेको मालवस्तुको बिलबिजक, मूल्याङ्कन परिमाणअनुसार बनाउन लगाउनेलगायतका कार्य गर्दै आएको छ । रसुवाको केरुङ्ग भन्सार नाकाको दैनिक सय वटा फारामको चेकजाँच गर्दा १० वटामा कैफियत भेटाउने गरिएको महाशाखाका एक कर्मचारीले बताए । 

त्यस्तै, महाशाखाले भन्सार कार्यालयलाई दरबन्दी तथा मूल्याङ्कनमा पनि सघाउँदै आएको छ । यसले नाकामा हुने सम्भावित राजश्व चुहावटलाई नियन्त्रणमा लिने र सही परिमाण मूल्याङ्कन गर्न बाध्य बनाउने बताइन्छ । यता, अनुसन्धान शाखाले पनि महाशाखालाई सहयोग गरेको छ । अनुसन्धान शाखाले छड्के जाँचलाई प्राथमिकता दिएको दावी गरेको छ । 

आफ्नो जिम्मेवारी वहन गर्न नसकेपछि गत महिना मात्रै विभागले अधिकृतद्वय मुरारी काफ्ले र नवराज चौलागाईंलगायत जाँचकी नायव सुब्बालाई स्पष्टीकरण सोधेको थियो । दरबन्दीसँगै मालसामानको ज्ञापनपत्रदेखि जाँचपाससम्म विगतको तुलनामा राम्रो भएको बताइन्छ । यतिखेर उमेश श्रेष्ठले निगरानी महाशाखा सम्हालेका छन् ।

टिप्पणीहरू