भूकम्पपीडितमाथि अर्को प्रहार, तीन करोड लिएर बैंक कर्मचारी फरार

भूकम्पपीडितमाथि अर्को प्रहार, तीन करोड लिएर बैंक कर्मचारी फरार
सुन्नुहोस्

विनाशकारी भूकम्पले घरबारविहीन बनाएको रुकुम पश्चिमका स्थानीय थप तनावमा परेका छन् । प्रभु बैंक लिमिटेडको स्थानीय शाखाका कर्मचारीका कारण उनीहरुले दुःख पाएको बताइन्छ । 

आठबिसकोटमा रहेको प्रभु बैंकका एक कर्मचारीले सर्वसाधारणको करोडौं रकम अपचलन गरेपछि घरवारविहीनहरु थप तनावमा परेका हुन् । शाखाका अपरेसन इञ्चार्ज निरज विक्रम शाहले हालसम्म दुई करोड ७५ लाख ४२ हजार ९०० रुपैयाँ अपचलन गरेको खुलेको छ । 

अपचलन गरिएकोमध्ये एक करोड पाँच लाख रुपैयाँ भूकम्पपीडितको रकम हो । आठबिसकोट नगरपालिका प्रमुख रवि केसीले विभिन्न मितिमा भूकम्पीडितको अस्थायी आवास निर्माणको निम्ति खातामा जम्मा गरिदिन नगरपालिकाले उपलब्ध गराएको रकम अपचलन भएको बताए । तीन वटा चेकको रकम बैंकका कर्मचारीले लाभग्राहीको खाताको सट्टा अरुकै खातामा जम्मा गरेको पाइएको थियो । आवश्यक छलफल र प्रक्रियापछि उक्त रकम बैंकले फिर्ता गरिसकेको छ । 

त्यसैगरी बैंकले अन्य १४ जना बचतकर्ताको रकम पनि फिर्ता गरेको जनाएको छ । नगर प्रमुख केसीले १४ जना बचतकर्ताको ६७ लाख ७८ हजार रुपैयाँ फिर्ता गरिसकेको र थप १५ जनाको एक करोड दुई लाख ४४ हजार ९०० रुपैयाँ फिर्ता गर्न बाँकी रहेको जानकारी दिए । उक्त रकम बैंकले फागुन २४ गतेभित्र फिर्ता गर्ने लिखित सहमति गरेको छ । 

आठबिसकोट नगरपालिका प्रमुख रवि केसीको उपस्थितिमा भएको छलफलमा अपचलन भएको रकम फागुन २४ गतेभित्र फिर्ता गर्न र रोक्का गरिएका खाताहरु फुकुवा गर्ने सहमति भएको छ । फिर्ता गरेको र फिर्ता गर्न सहमति गरेको कुल रकम दुई करोड ७५ लाख ४२ हजार ९०० रुपैयाँ हुन आउँछ । 

बैंककै कर्मचारीले ग्राहकको उक्त रकम हिनामिना गरेपछि यतिखेर भूकम्पपीडितहरु बैंकसँगको कारोबारमा सशंकित भएका छन् । एकजना कर्मचारीको कारण यतिखेर प्रभु बैंकको सिंगो टिमले तनाव झेल्नुपरेको बताइन्छ । शाहले एकजना व्यक्तिको ३० लाख रुपैयाँसम्म दुरुपयोग गरेको पाइएको छ । 

रकम हिनामिनापछि बैंकका कर्णाली प्रादेशिक कार्यालय प्रमुख शरदराज तिमिल्सिना नेतृत्वको टोलीले आन्तरिक छानबिन थालेको थियो । प्रारम्भिक छानबिनपछि बैंकले कर्मचारी शाह विरुद्ध बैङ्किङ कसुर शीर्षकमा कारबाही अघि बढाउन जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गराएको छ । 

निवेदनमा इञ्चार्ज शाहले बैंकका खातावालाहरुको रकम अनाधिकृत रुपमा निकाल्ने, अन्य खातामा स्थानान्तरण गर्ने गरेको आरोप लगाइएको छ । प्रहरीले घटनाको छानबिन भइरहेको जनाएको छ । 

फरार आरोपी शाहको खोजीमा प्रहरी जुटेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी नमराज भट्टराईका अनुसार उनी माघ २० गतेदेखि बैंकको सम्पर्कमा छैनन् । प्रभु बैंकले आठबिसकोट शाखामा कार्यरत सबै कर्मचारीलाई तीन महिनाको निम्ति निलम्बन गरेको छ । 

यतिखेरसबै नयाँ कर्मचारीको टोलीले शाखाको दैनिक कारोबार सञ्चालन गरिरहेको छ । स्थानीय भने बैंकसँगको कारोबारमा झस्किन थालेका छन् । बैंकले रकम नहराउने प्रतिबद्धता जनाएको छ ।

टिप्पणीहरू