लेख्ने र बेच्नेको मुटुमा ढ्यांग्रो

लेख्ने र बेच्नेको मुटुमा ढ्यांग्रो

– यदुनाथ बञ्जारा

पेशा कर्म गरिखानु मानवीय कर्तव्य र धर्म हो । देशको नीति नियम र जनताको पक्षमा गरिने पेशा व्यवसाय मात्रै दिगो टिकाउ र बिकाउ हुन्छ । जहाँ रातारात धनी बन्ने महत्वाकांक्षी सपना बोकेर नीति र थितिविपरीत व्यवसाय गरिन्छ त्यो अल्प समयमै दिवा सपना बनेर आफैँलाई टोक्ने दुस्मन सावित हुन सक्छ ।

यस्तै भएको छ, नेपालका केही कमिसनप्रेमी चिकित्सक र नाफाखोरी औषधि व्यापारीहरूलाई । सिटामोल किन्न नसक्ने गरिब दुःखी नेपालीहरूलाई गुलिया आश्वासन र झुटको पुलिन्दा रचेर न्युट्रास्युटिकल ( खाद्य पूरक सामग्री) खान सिफारिस गरेर प्रेस्क्राइभ गर्ने कमिसन प्रेमी चिकित्सकहरूले हजारौं रूपैयाँ पर्ने कथित भिटामिन भिडाउने गरेको तथ्य छताछुल्ल बाहिरिरहेका बेला छापाहरूले समाचार सार्वजनिक गरेपछि सरकार नियन्त्रित ठूला अस्पतालले धमाधम सूचना निकालेर चिकित्सकहरूलाई त्यस्ता गैरकानुनी न्युट्रास्युटिकल्स सिफारिस नगर्न र गरेको खण्डमा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिने चेतावनी दिएका छन् ।

यसरी सूचना जारी गर्ने सरकारी अस्पतालमा वीर अस्पताल काठमाडाैँ, कोशी प्रादेशिक अस्पताल विराटनगर, भरतपुर अस्पताल चितवन, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरालगायत छन् । यी अस्पतालहरूले आफ्ना चिकित्सकलाई चेतावनीजन्य सूचना निकालेपछि अन्य अस्पताल पनि दबाबमा परेका छन् । कमिशन प्रेमी र कमाउ धन्दामा नलाग्ने चिकित्सकहरू नेतृत्वमा रहेको अस्पतालले आफ्ना चिकित्सकबाट नागरिकलाई ठगिनबाट जोगाउन सूचना जारी गर्न तत्पर देखिएका छन् भने आफैँ त्यस्तो धन्दामा लागेकाहरूलाई त्यस्तो सूचना निकाल्न सकस परेको बुझिएको छ । 

चिकित्सकहरूले केही औषधि पसले, आयातकर्ता व्यापारी र सप्लायर्सको सेटिङमा प्रेस्क्राइभ गर्ने भएपछि त्यस्ता सामग्री कारोबार गर्नेहरू राम्रै मोटाउँदै आएका थिए । ठूला अस्पतालले रोक लगाएपछि यतिखेर कमिसन प्रेमी चिकित्सक र नाफाखोरी व्यापारीको व्यापार चौपट हुने अवस्थामा पुगेको मात्र होइन उनीहरूको मुटुमा ढ्यांग्रो ठोकेको पाइएको छ । खाऊँ भने दिनभरिको सिकार नखाऊँ भने कान्छो बाउको अनुहार भनेजस्तै नियतिको फन्दामा परेका छन् उनीहरू । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभागीय प्रमुख चिकित्सकहरूको बैठकबाट निर्णय गराई न्युट्रास्युटिकल्स सिफारिस गर्न प्रतिबन्ध लगाएको अस्पतालका निर्देशक प्राडा भरतबहादुर खत्रीले बताए । प्रतिष्ठानको यो निर्णयले गरिब, दुःखी सर्वसाधारण बिरामीका लागि ठूलो राहत मिलेको बताइन्छ । भगवान्समान मानिनेमध्येका केही चिकित्सकको गलत आशयले गरिने कार्यशैलीबाट अस्पतालको समेत बदनाम हुँदै आएको थियो । चैत ८ गते प्रकाशित सूचनापछि प्रतिष्ठानमा कार्यरत चिकित्सक स्वास्थ्यकर्मीले कानुनविपरीत न्युट्रास्युटिकल्स सिफारिस गर्ने छैनन् गरेको फेला परे कारबाही सिफारिस गरिने अस्पतालका सूचना अधिकारी सुमन भट्टराईले बताए ।

केही औषधि पसलेले यो धन्दा गरे पनि औषधि व्यवसायी संघ गण्डकी प्रदेश समितिले गत साल पुसमा सूचना निकालेर न्युट्रास्युटिकल्स खरिद–बिक्री नगर्न चेतावनी दिएको थियो तर केही चिकित्सकको उक्साहटमा केही ब्यापारीले धन्दा जारी राखेका थिए । यस विषयमा कास्कीका प्रमुख जिल्ला अधिकारीको समेत ध्यानाकर्षण गराइएको छ । प्रजिअ वासुदेव घिमिरेले नागरिकलाई ठगी गर्ने कार्यविरुद्ध कानुनबमोजिम आवश्यक छानबिन हुने बताएका छन् ।

सरकारी अस्पतालमा मात्र होइन, निजी अस्पतालका चिकित्सक र आसपासका अस्पतालमा न्युट्रास्युटिकल्स लेख्ने, बेच्ने र कमाउने धन्दा राम्रै चलेको भेटिएको छ । गण्डकी मेडिकल कलेजले बिरामीलाई लेखेको एक पत्ताको हजार रूपैयाँ पर्ने एस क्यु १० नामको न्युट्रास्युटिकलको प्रमाण प्राप्त भएको छ । यो एउटा नमुना मात्र हो । ठूला अस्पतालका डाक्टरले नै अस्वाभाविक रूपमा गैरकानुनी भनिएको खाद्य पूरक सामग्री लेखेर मोटो कमिसन खाने महारोग फैलिएको छ भने तिनलाई रोक्ने कसले ? 

सरकारले बजारको सक्रिय अनुगमन गरी औषधिको स्वरूपमा भित्रिने तर औषधि व्यवस्था विभागको स्वीकृति पनि नलिने खाध्री अनुग्या पनि नहुने कथित भिटामिन भनी खरिद–बिक्री र आयात गर्नेलाई कडा कारबाही गर्नु आवश्यक देखिएको छ । सरकारी अस्पतालले बिक्री–वितरण रोक्ने तर निजी अस्पताल मेडिकल कलेज र नर्सिङ होममा कार्यरत चिकित्सकहरूले झन् बढी बेचेर बिरामी ठगेर कुस्त कमाउने मौका मिलेको भन्दै खुशी मनाउन थालिएको पाइन्छ ।

स्वास्थ्यमन्त्री उपेन्द्र यादवको ध्यान कहिले जान्छ जनताको हितमा ? औषधिको नाममा हुने अवैध खेती कहिलेसम्म चल्छ ? प्रदेशमा रहेका सामाजिक विकास मन्त्रालयले यो ठगी रोक्न कस्तो पहल गर्छ ? त्यो विषय निरन्तर निगरानीको विषय बनेको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू