सदस्य डुबाउँदै सहकारी, नेताले मुख देखाउने कसरी ?

सदस्य डुबाउँदै सहकारी, नेताले मुख देखाउने कसरी ?

नेपालमा गरिब तथा श्रमजीवी वर्गको उन्नतिमार्फत समृद्धि र समाजवादको नारा लगाउँदै खोलिएका सहकारी संस्थाहरू गरिबको उन्नति गर्नु त परै जाओस् सरकारलाई समेत टाउको दुखाइको विषय बनेका छन् । ती संस्थाले बचतकर्ताको सम्पत्तिलाई सञ्चालक र आफन्त तथा सीमित व्यावसायिक साझेदारहरूको व्यवसायमा लगानी गर्दा सर्वसाधारणको बिचल्ली भएको छ । कार्यालय बन्द गर्दै सञ्चालक र कर्मचारी भाग्ने क्रम बढेको छ भने धेरै चर्चित मानिएकाहरू धमाधम लुक्न र भाग्न थालेका छन् । 

महँगो ब्याजको प्रलोभन देखाएर सर्वसाधारणलाई फसाउँदै बचत संकलन गरेको ओरेण्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत ७ अर्ब निक्षेप अपचलन गरेको अभियोगमा २०७३ साल पुस १२ गते पक्राउ परेसँगै बचतकर्ताको रकम अपचलनको ट्रेण्ड देखिएको थियो । त्यसयता सरकारी निकायका जिम्मेवार अधिकारीको अनदेखा र सहकारी अभियानका नेतृत्वकर्ता निकायमा रहेकाहरूको संलग्नतामै रकम अपचलन भएको देखिएको छ । संविधानमै अर्थतन्त्रको एउटा खम्बा भनेर परिभाषित गरिएको सहकारी क्षेत्रमा लगातार सञ्चालकबाट बदमासी भएको समाचार बाहिरिएसँगै सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरी समस्या सुल्झाउने प्रयत्न गरेको छ । 

६ अर्ब ७४ करोड २७ लाख रूपैयाँभन्दा बढी निक्षेप रकम दाबीको निवेदन समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमै आइसकेको छ भने दिनकै निक्षेपकर्ता सरकारी कार्यालयको सम्पर्कमा पुग्ने गरेका छन् । रास्वपाका उपसभापति डिपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीको संलग्नता रहेको हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेडले ५ करोड हाराहारी निक्षेप दुरूपयोग गरेको पाइएको छ ।

सहकारी बैंक, नेफ्स्कुन तथा राष्ट्रिय सहकारी महासंघमा राम्रो प्रभाव राख्दै साम्राज्य विस्तार गरिरहेका सिबी लामा एक्लैले पशुपति सेभिङको १ अर्बभन्दा बढी रकम अपचलन गरेका छन् भने ३ अर्बभन्दा बढी निक्षेप अपचलन भई निक्षेप फिर्ता नभएपछि सहकारीलाई संकटग्रस्त घोषणा गरिएको छ । सिबीलाई कांग्रेसको संरक्षणमा लामो समय सहकारीको उच्चस्तरीय नेतृत्वमा देखिएको थियो । कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्ष तेजविक्रम थापालगायतको समूहले पनि ठूलो रकम अपचलन गरेको पाइएको छ । थापाले माओवादी केन्द्रदेखि विभिन्न पार्टीलाई प्रभावमा पार्दै आफूअनुकूल काम गर्दै आएका थिए । 

शिवशिखर बहुउद्देश्यीय सहकारीमार्फत जिबी राईको प्रत्यक्ष संलग्नता र रास्वपा सभापति रवि लामिछाने सहितका व्यक्तिको संलग्नतामा भएको अर्बौंको हिनामिना त बजारमा छ्याप्छ्याप्ती आएकै छ । बहुउद्देश्यीय सहकारी संघका केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघको सञ्चालक भइसकेका सुरेन्द्र भण्डारी हर्ताकर्ता रहेको लालीगुराँस बहुउद्देश्यीय सहकारी पनि संकटग्रस्त घोषणा भएको छ । भण्डारीको रुचिमा विभिन्न १३ वटाभन्दा बढी कम्पनीमा जथाभावी लगानी गरेको र विधि प्रक्रिया मिचेर आफू र नजिकका मान्छेमार्फत निक्षेप दुरूपयोग गरेको तथ्य सार्वजनिक भएका छन् ।

भण्डारीले ०६४ लगत्तै लामो समयसम्म नेकपा माओवादी र विशेष गरी बाबुराम भट्टराईलाई उपयोग गरे । त्यसपछि नेपाली कांग्रेसलाई प्रयोग गरी सहकारीको नेतृत्व तहमा पुग्नेदेखि तत्कालीन मधेसी जनअधिकार फोरमको भागमा सहकारी मन्त्री भएताका शरत्सिंह भण्डारीलाई प्रयोग गरेर राजनीतिक प्रभाव बढाए । एमालेका विभिन्न नेतालाई प्रयोग गरे ।

यसबीच केबी उप्रेती स्वास्थ्योपचारको निम्ति भारत पुगेका छन् । उनले नेतृत्व गरेको हाम्रो बहुउद्देश्यीय सहकारी संस्था पनि संकटोन्मुख छ । एकीकरण र विभाजनको नाममा सरकारी निकायलाई अल्मल्याउने र बचतकर्ता झुक्याउने प्रयत्न गरे पनि सहकारी संकटोन्मुख रहेको छरपष्ट भइसकेको छ । उप्रेतीले सहकारीमा जम्मा भएको बचत अनेकौं नाममा शेयर घरजग्गा, हाइड्रोपावर, पार्टी प्यालेस, होटललगायतमा लगानी गरेका छन् ।

उनले सहकारी बैंकको लामो समय प्रबन्ध सञ्चालक र हाल अध्यक्ष रहँदा विभिन्न सहकारी संस्थामा दुर्गम क्षेत्रका जग्गा धितो राखेर कर्जा प्रवाह गरिदिने र उक्त रकम आफैंले चलाएको आरोप साधारणसभामै समेत उठेको थियो । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकम नतिरेकाले ०७४ सालमा कालोसूचीमा राख्ने तयारी गर्दा शक्तिकेन्द्रको पहुँचमा उम्किरहे ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू