सुरक्षण मुद्रण सम्बन्धी विधेयक अघि बढ्यो

सुरक्षण मुद्रण सम्बन्धी विधेयक अघि बढ्यो

सुरक्षण मुद्रण सम्बन्धी विधेयक संसदीय समितिबाट पारित भएको छ । 

राष्ट्रिय सभामा प्रस्तुत भई विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित आएको सो विधेयक प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले संशोधनसहित पास गरेको हो । समितिको आजको बैठकमा विधेयक प्रतिवेदनको मस्यौदामाथि छलफल भएको थियो । समिति सभापति अम्मरबहादुर थापाले भोलि बस्ने प्रतिनिधि सभा बैठकमा पेश हुनेगरी विधेयक पारित भएको जानकारी दिए । 

विधेयकमा सुरक्षण मुद्रण सामग्री भन्नाले नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, बैंक नोट, भिसा स्टिकर, हुलाक टिकट, अन्तःशुल्क स्टिकर, सवारी चालक अनुमतिपत्र, जग्गाधनी दर्ता प्रमाणपूर्जा वा डिजिटल नक्सालाई बुझाउने उल्लेख छ । त्यस्तै सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सुरक्षण मुद्रण सामग्री भनि तोकिएका अन्य सामग्रीलाई समेत जनाउनेगरी परिभाषित गरिएको छ ।

नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, बैंक नोट, अन्तशुल्क स्टिकर र सवारी चालक अनुमति पत्रलाई नेपाल सरकारले नै मुद्रण गर्ने प्रावधान राखिएको छ । त्यसबाहेक अन्यलाई सरकारको शेयर वा स्वामित्व भएको निकाय वा संस्थामार्फत् पनि मुद्रण गर्न सकिने भनिएको छ ।

टिप्पणीहरू