सिँचाई आयोजनामा 'बदमासी' गर्नेहरु भ्रष्टाचारमा तानिए

सिँचाई आयोजनामा 'बदमासी' गर्नेहरु भ्रष्टाचारमा तानिए

कालिकोटको पलाता गाउँपालिकाका पूर्वउपाध्यक्ष दाना न्यौपाने भ्रष्टाचारमा तानिएकी छन् । 

सिँचाई आयोजनामा घोटाला गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित आठ जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

तत्कालीन उपाध्यक्ष न्यौपानेसहित प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्मा, सबइञ्जिनियर माधवकुमार भट्ट, वडा नम्बर ८ का वडाध्यक्ष पटकबहादुर बम, वडासचिव जानकीकुमारी शाही, उपभोक्ता समितिका अध्यक्ष मनराज शाही, सचिव लोकेन्द्र बम र कोषाध्यक्ष मोतिपुरा रोकायविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ । 

आर्थिक वर्ष २०७४-०७५ मा पलात गाउँपालिका–८, स्थित मुलखोला थोपा सिंचाई आयोजनाका लागि उपभोक्ता समिति र पालिकाबीच सम्झौता भएको थियो । तर, योजनाको लागत अनुमान बमोजिम नभएको, गलत प्राविधिक मूल्यांकनसहितको नापी किताब तथा प्रतिवेदन प्रमाणित गरी बढी रकम भुक्तानी दिएको अख्तियारको दाबी छ । 

अख्तियारको आरोप पत्रमा उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम १३ लाख ७४ हजार ९९१ रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना मागदाबी गरिएको छ ।

टिप्पणीहरू