कमरेडहरूलाई छानी–छानी कुनातिर

कमरेडहरूलाई छानी–छानी कुनातिर
सुन्नुहोस्

नेकपा (एमाले) ललितपुरको नवौं जिल्ला अधिवेशनबाट बालकोटको कोर टिमवाला सेटले चुनाव जितेको छ । अध्यक्षमा दोस्रो कार्यकालका लागि पुरुषोत्तम आचार्यले जितेका छन् । ४ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचनमा तेस्रो धार भन्दै उदाएका दिनेश कार्की एकाएक कमजोर बन्न पुगे ।

नवराज सिलवालको सिग्नल पाएर उठेका कार्कीलाई अन्तिम समयमा सिलवाललगायतले साथ छाडे । ०७४ र ०७९ को स्थानीय निर्वाचनमा अन्तर्घात गरेको आरोप व्यहोरेका चेतनाथ सञ्जेलले अन्तिम अवस्थामा सम्पूर्ण बल लगाए पनि उनको टोली पनि आचार्यतिरै फर्कियो ।

केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकारले विश्वासपात्र श्याम व्यञ्जनकारलाई उपाध्यक्षमा उठाएर सेट गरेको सञ्जेलको प्यानल कमजोर बन्यो । महानगरभित्रको ज्ञानेन्द्र शाक्य समूह र मञ्जरी शाक्यसहित पूर्वमाओवादी खेमाको भोट पनि अन्तिममा आचार्यतिरै सोहोरियो । केन्द्रीय सदस्य बाबुराम थापाहरू आचार्यको विकल्पको खोजीमा भन्दै घरी कार्की त घरी सञ्जेललाई जिताउन लागेका थिए । आचार्यलाई केन्द्रीय सदस्य सुशीला नेपाल र पूर्व जिल्ला अध्यक्ष मधुसूदन पौडेलको बलियो साथ थियो। 

आचार्यले फराकिलो मतान्तरले जिते भने मञ्जरी शाक्यलाई उपाध्यक्ष बनाउन बालकोटको निर्देशन आएपछि महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठको साथ छोडे । आफ्नै टिम भन्दै–भन्दै अन्तिममा आचार्यको साथ नपाएका श्रेष्ठलाई आचार्य टिमकै बनेर श्याम व्यञ्जनकार हराउने मनशायले उठेका अष्टवीर व्यञ्जनकारकै कारण बढी मार प¥यो।

महालक्ष्मी नगरपालिकाले जिल्ला अध्यक्षले चढ्ने गाडीको खर्चदेखि अरु धेरै भरथेग गरिरहेको चर्चा अधिवेशनस्थलमै चलेको थियो । श्रेष्ठ र शाक्यलाई ब्यालेन्स गरेका आचार्यले बालकोटसँगको परामर्शमा शाक्यलाई छान्नुपरेपछि सांकेतिक रूपमा हरिगोविन्द श्रेष्ठकी नातेदार सुवर्ण श्रेष्ठले अध्यक्षको उम्मेदवारी घोषणा गरेकी थिइन्। 

एकीकृत समाजवादीको सचिव परित्याग गरेर एमालेमा प्रवेश गरेका सुदर्शन मिश्रलाई सञ्जेल समूह र दशभाइको साथ भएकोमा अन्तिम समयमा साथ पाएनन् । सञ्जेल समूहले रत्न महर्जनलाई उठायो भने आचार्य प्यानलका राम राउतले पराजित गरिदिए । सचिवमा ८ जना थिए । उपसचिवमा फराकिलो मतान्तरबाट प्रभाकर थापाले जिते । सञ्जेल समूहको भनिए पनि थापाले दुबैतिर मिलाएका थिए । 

उपसचिवमा भने कट्टर ओली भन्दै विद्यार्थी राजनीतिदेखि भूगोलमा जमेकी संगीता अछामीलाई आशा राईले झिनो मतले हराइन् । निर्वाचन परिणामपछि ललितपुर १ र २ को आउँदो निर्वाचनमा घात÷अन्तर्घातका बिउ झांगिन्छन् कि भन्ने संकेत पाइएको एक पाका एमाले नेताले बताए । १ मा त अन्तर्घात हुने नै भो, देखिइहाल्यो, पुरानै रोग बल्झिइहाल्छ, २ मा के पो हुन्छ ! 

दश भाइ र समाजवादीबाट जानेलाई धोका 

केपी ओलीको ०७७ पुस ५ को कदमपछि आन्दोलनमा रहेर अन्तिम समयमा एमालेमै बसेका १० भाइ वालाहरूलाई छानीछानी हराइएको देखिएको छ । सचिवमा उठेकी सुदर्शन मिश्र एकीकृत समाजवादीको सचिव त्यागेर एमाले छिरेका थिए । उपसचिवमा उम्मेदवार भएका सुकुमाया घलान १० भाइ समूहसँग निकट हुन् । सोही समूहका विष्णुकुमार कार्की, सुलोचना नापित, होमप्रसाद बजगाईं, कुवेर केसी, पुष्कर गिरी, रविकुमार कार्कीहरू पराजित भए । अझ एकीकृत समाजवादी त्यागेर फर्केका ऋषिराज भेटवाल, माधव बञ्जारा, विनोदकुमार श्रेष्ठ, राजेन्द्र थापामगर, शालिकराम मिश्र, राजेन्द्रकुमार थाम्सुहाङ, बुद्धिलक्ष्मी महर्जनहरू जिल्ला कमिटी सदस्यमै हराइए ।

संस्थापनविरुद्ध बृहत मोर्चाबन्दी हुन नदिन हरेक आकांक्षी र सम्भावित नेतृत्वकर्तासँग इञ्चार्ज शेरबहादुर तामाङले मसिनो संवाद गरेको बुझिएको छ । अधिवेशनमा शेरबहादुर तामाङले द्वन्द्व व्यवस्थापन गर्न सकेको र तामाङ बाहुल्यता रहेको ललितपुर १ बाट विवादरहित उम्मेदवार बन्न सक्नेतर्फ पनि गाइँगुई चलेपछि नवराज सिलवाल भने झस्किएको उनीनिकट एक एमाले नेताले बताए । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू