गठबन्धनमा अर्काे झमेला, प्रधानमन्त्री र एमाले अध्यक्षबीच फेरि छलफल

गठबन्धनमा अर्काे झमेला, प्रधानमन्त्री र एमाले अध्यक्षबीच फेरि छलफल
सुन्नुहोस्

नेपाली काँग्रेस, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी खेमाले मिलेर सुदूरपश्चिममा सरकार बनाउने तयारी गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली छलफलमा जुट्नुभएको छ । 

आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उहाँहरुले कुराकानी गर्नुभएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र अर्का उपप्रधान तथा स्वास्थमन्त्री उपेन्द्र यादव पनि छलफलमा सहभागी हुनुहुन्छ । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने छलफलमा उपस्थित नरहेको बताइएको छ । 

आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकले नागरिक उन्मुक्ति पार्टीलाई सुदूरपश्चिममा मुख्यमन्त्री दिने सहमति गरेको थियो । तर, नाउपाभित्र अध्यक्ष श्रेष्ठ खेमाले कैलाश चौधरीलाई र संरक्षक रेशम समूहले लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउने छुट्टाछुट्टै तयारी गरेको अवस्थामा सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी काँग्रेससहितको गठबन्धनको पक्षमा उभिएको हो । 

लक्ष्मण किशोरलाई मुख्यमन्त्री बनाउने रेशमको प्रस्तावमा नेपाली काँग्रेस संससदीय दलका नेता कमलबहादुर शाह र नेकपा (एस) संसदीय दलका नेता दीर्घ सोडारीले सहमति जनाइसकेको अवस्था छ ।   

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार बनाउन २७ सांसदको समर्थन आवश्यक पर्छ । नेपाली काँग्रेसका १८ जना सांसद छन् । माओवादी केन्द्र सभामुखसहित ११, एमाले उपसभामुखसहित १०, नाउपा सात र एकीकृत समाजवादीका चार सांसद छन् । राप्रपाका एक र एकजना स्वतन्त्र सांसद छन् । 

सरकार गठनमा निर्णायक देखिएको नागरिक उन्मुक्ति पार्टीका सातमध्ये चार जना रेशम र तीनजना अध्यक्ष श्रेष्ठको पक्षमा छन् । प्रदेश प्रमुख नजिर मियाँले गत चैत २३ गते संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीका लागि आज साँझ ५ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए । उक्त समय सकिन दुई घण्टामात्र बाँकी रहँदा सरकारको नेतृत्व गर्ने अवसर पाएको नागरिक उन्मुक्तिभित्रको विवादले सत्ता राजनीति पेचिलो बनेको छ ।

टिप्पणीहरू