अश्लील बोल्नै पर्छ, नाक खुम्च्याउनै पर्छ, मुख कुच्याउनै पर्छ ?

अश्लील बोल्नै पर्छ, नाक खुम्च्याउनै पर्छ, मुख कुच्याउनै पर्छ ?
सुन्नुहोस्

‘कला’ मानिसको अन्तःस्करणबाट प्रस्फुटन हुने क्षमता, प्रतिभा हो । कलामा गहिरो चिन्तन गराउन सक्ने मोहनी हुन्छ । कलामा भावना, यथार्थ, अँध्यारो–उज्यालो अर्थात् हाँसो– आँसु हुन्छ । दिव्यचक्षु लगाएर हेर्ने हो भने प्रकृति आफैँमा एउटा कला, कलाकार हो । चरीहरूको चिरबिर, पानीको बगाइ, हावाको सुसाइ आफैँमा कला हो । 

ढुङ्गे युगदेखि आजको च्याट जिपिटीसम्म आइपुगेको मानिसको चेतना, आविष्कार, अनुभव, भोगाइ, क्षमता, ज्ञान निकै नै भिन्न र उच्च छ । ज्ञान जति भयो कलात्मक प्रस्तुति पनि उति नै शक्तिशाली र प्रभावकारी हुन्छ । यसको प्रभाव गहिरो र छिटो हुन्छ । मानिसलाई अरु सूचना, प्रस्तुतिले भन्दा कलाले छिटो प्रभाव पार्छ । जस्तो कि हजारौँ पृष्ठमा लेखिएको पुस्तकभन्दा त्यही पुस्तकका आधारमा तयार पारिएको चलचित्रले तुरुन्त प्रभाव पार्छ । पढ्दा नसम्झिएका विषय चलचित्र हेरेर मानिसले दीर्घकालसम्म सम्झन सक्छ । 

राणाकालमा जस्तो कला र प्रस्तुति थियो, आजको लोकतान्त्रिक गणतन्त्रमा नेपाली समाजको कला र प्रस्तुति त्यस्तो छैन । प्राविधिक हिसाबले पनि आजको कलाले धेरै उच्च स्थान लिइसकेको छ । संसारभर कला र कलाकार एकै प्रकारका छैनन्, हुँदैनन् । मूर्तिकला, चित्रकला, साहित्य, विभिन्न गीत, सङ्गीत, नृत्य, नाटक, सडक नाटक, प्रहसन, चलचित्र, वृत्तचित्र, हास्य–व्यङ्ग्य, क्यारिकेचर, आदि फरक फरक कला हुन् । 

‘गीत’ समाज, राष्ट्र, मानवीय प्रवृत्ति, व्यवहार, आचरण, विभिन्न घटनाको कलात्मक अभिव्यक्ति हो । यसमा दुनियाँ तान्ने, मोहित पार्ने तागत हुन्छ । यसमा मनोरञ्जनसहित कथा, भावना, विचार, इतिहास हुन्छ । गीतबिना मानवीय जीवन खल्लो हुन्छ भन्दा पनि हुन्छ । यो शब्द, धुन र सङ्गीतको त्रिवेणी हो । लोक, शास्त्रीय, आधुनिक, पप, रकसम्मका गीत मानिसहरूले रुचिअनुसार श्रवण गर्छन् । अहिले त भिडियोमा हेर्छन् नृत्यसहित । 

प्रारम्भमा नै बिहे गरिहाल्ने, सेक्स गर्ने, बच्चा पाउने कुरा आउँछ । कमजोर मानिसलाई अपमान गर्ने, डाइलगहरूमा ‘पागल’, ‘बौलाहा’, जस्ता शब्द प्रयोग गर्ने, अपाङ्गता भएकालाई होच्याउने, महिलालाई अपमान गर्ने गरेकाे पाइन्छ ।

‘हास्य’ मानिसले अत्यन्तै मन पराउने कलात्मक प्रस्तुति हो । भनाइ छ नि हाँस्ने मानिस धेरै बाँच्छ किनकि हाँस्यो कि रोग नास्यो । यसले समाजमा विद्यमान विकृतिविरुद्ध घोचपेच, कटाक्ष गर्छ । यसले पनि समाजमा मैत्रीपूर्ण भावना जागृत गर्नमा महत्वपूर्ण भूमिका खेल्दछ । ‘व्यङ्ग्य’ कलाको अर्काे महत्वूर्ण पाटो हो । यो पनि विभिन्न प्रकारका हुन्छन् तर यहाँ प्रत्यक्ष अभिनय क्यारिकेचरसहित अभिव्यक्त गरिने व्यङ्ग्यको मात्र कुरा गरिएको छ । ‘चलचित्र’, ‘वृत्तचित्र’, विभिन्न टेलिसिरियलमा पनि समाजका विभिन्न घटना, विषयवस्तुको प्रस्तुति हुन्छ । यसलाई समाजको ऐना भन्दा पनि हुन्छ । 

जसरी समाचारका माध्यमबाट सम्प्रेषित सामग्रीले पाठक, स्रोता, दर्शकलाई सकारात्मक/नकारात्मक असर पार्छ । त्यसरी नै माथि उल्लिखित प्रस्तुतिहरूबाट पनि त्यस्तै असर पर्छ । समाचार माध्यमका विषयवस्तु(चलचित्रबाहेक) लाई नियमन गर्ने नियामक निकाय त छ तर यी उल्लिखित प्रस्तुतिबाट सम्प्रेषित सामग्रीका अन्तरवस्तुलाई नियमन गर्ने निकाय छैन । यी प्रस्तुतिबाट समाजमा भ्रम परी सकारात्मक/नकारात्मक धारणा बन्नमा कस्तो असर परिरहेको छ भन्ने अध्ययन, अनुसन्धान हुनसकेको छैन । अहिले राज्य, सरकार, दल, राज्यका संयन्त्रविरुद्ध नकारात्मक भ्रम सिर्जना गर्न समाचार माध्यमले भूमिका खेलेको आरोप र आलोचना खेप्नु परिरहेको छ । तर यतातिर खासै ध्यान दिएको देखिदैँन ।

बरु, यी प्रस्तुतिले समाचार माध्यम या अन्य स्रोतबाट प्राप्त सूचना, खबरका आधारमा त्यसैलाई आधिकारिक तथ्य मानेर समाजमा थप बढाइचढाइ गर्ने, सामान्य विषयलाई पहाड बनाएर समाजमा वितृष्णा जगाउने खालका सन्देश दिएको देखिन्छ । जसबाट आम मानिस भ्रममा पर्ने गर्छन् । यस्ता विभिन्न उदाहरण छन् । समाजका विद्यमान अवस्था भन्दैमा अधिकांश गीत, लोकगीत, हास्य–व्यङ्ग्य, चलचित्र, वृत्तचित्र, टेलिसिरियल आदिमा आपत्तिजनक विषयवस्तुलाई जस्ताको तस्तै उठाएको पाइन्छ । अहिलेका धेरैजसो गीतमा विकृत पक्षलाई उपेक्षा गर्नुको सट्टा त्यसैलाई ‘हाइलाइट’ गरेको पाइन्छ । धेरैजसो लोकगीत, दोहोरीमा गायनको प्रारम्भमा नै बिहे गरिहाल्ने, सेक्स गर्ने, बच्चा पाउने कुरा आउँछ । अधिकांश चलचित्र, वृत्तचित्र, टेलिसिरियलमा पनि यस्तै देखिन्छ । यी प्रस्तुतिमा एकले अर्कालाई होच्याउने, खसाल्ने गरेको हुन्छ ।

समाजका कमजोर मानिसलाई अपमान गर्ने, डाइलगहरूमा ‘पागल’, ‘बौलाहा’, जस्ता शब्द प्रयोग गर्ने, अपाङ्गता भएकालाई होच्याउने, महिलालाई अपमान गर्ने, हेप्ने, आदरार्थी बिगारेर सम्वोधन गर्ने, रुढीवादी उखान टुक्का, अश्लील शब्द प्रयोग गर्ने गरेको पाइन्छ । कतिपयलाई जाति, भूगोल, धर्म, वर्ग, राजनीति आदि आधारमा पनि उपेक्षा गरिन्छ । अधिकांशमा ‘अर्काको बूढीसँग माया गरेको’, घुम्न गएको, भगाएको, अनैतिक सम्बन्ध राखेको, पेट बोकाएको, यौनसम्बन्ध राखेको, बच्चा पाएको आदि जस्ता शब्दावली प्रयोग भएको हुन्छ । समाजमा यस्ता विकृति भए पनि हटाउन वा कम गर्न भूमिका खेल्नुको साँटो त्यसैलाई प्रगाढ बनाउने गरी गरिन्छ हास्य–व्यङ्य, रचिन्छ, गाइन्छ गीत–लोकगीत–दोहोरी, बनाइन्छ चलचित्र–वृत्तचित्र । शारीरिक अवस्था कमजोर भएकाहरूको आत्मसम्मानमा चोट पुग्ने गरी नाक खुम्च्याइन्छ, मुख कुच्याइन्छ । जबकि यसबाट बुझ्ने बेला भएका बच्चादेखि वृद्धसम्ममा नकारात्मक प्रभाव परेको हुन्छ ।

३–४ वर्षका बच्चाबच्चीलाई सँगै राखेर यस्ता गीत सुनाइन्छ । गाइन्छ । गाउन लगाइन्छ । नाचिन्छ । नाच्न लगाइन्छ । अनि उमेर पुगेर माया–प्रेम, बिहे गरेमा तिनैलाई गाली गरिन्छ । त्यही परिवार जिउँदैमा काजक्रिया गर्छ आफ्नो सन्तानको । घरबाट निकाल्छ । तिरस्कार गर्छ । यस्तो ढोँगी समाज र ढोँगी मान्छे यहीँ छन् । यस्तै क्षणिक मनोरञ्जन दिने, ‘क्यारिकेचर’ गरेर हँसाउने, गाउने आदि नाममा पुष्टि र प्रमाणित नभएका सूचनाका आधारमा जबर्जस्ती अभिव्यक्ति दिइन्छ । के गलत, अश्लील कुरा भन्नु, अरुलाई होच्याउनु, अपमान गर्नु, अन्धविश्वास, रुढीग्रस्त विषयवस्तुलाई जस्ताको तस्तै पस्कनु, नाक खुम्च्याउनु, मुख कुच्याउनु, भ्रम छर्नु, हल्लाको भरमा पदासीन व्यक्तिहरूको तेजोवध गर्नु मात्रै कला हो र ? यो नै कलाकारिता हो र ? हँसाउने, व्यङ्ग्य गर्ने, गाउने, प्रदर्शन गर्ने अन्य विषय नपाएर यसो गरिएको हो र ? के कसैलाई नदुखाइ हाउभाउकै भरमा दुनियाँलाई हँसाएर, मनोरञ्जन दिने चार्ली च्याप्लिनबाट कला र कलाकारिता सिक्न सकिन्न ? समाजमा विद्यमान विषयलाई श्लील, सभ्य रूपमा उठाएर पनि दुनियाँलाई हँसाउन सकिन्न ? कुरा गर्‍यो कुरैको दुःख, यसतर्फ ध्यान दिने चाहिँ कसले होला, कहिले होला ?  

टिप्पणीहरू