‘हनिट्रयाप’ मा पुरुष पनि सक्रियः प्रेमका नाममा एकल महिलाको सम्पत्ति सखाप,मिलापत्र गराउँदै प्रहरी

‘हनिट्रयाप’ मा पुरुष पनि सक्रियः प्रेमका नाममा एकल महिलाको सम्पत्ति सखाप,मिलापत्र गराउँदै प्रहरी

‘हनिट्रयाप’ अर्थात मोहजाल । महिलाहरुको गिरोहले पुरुष ठग्ने एउटा माध्यम । पुरुषलाई मोह जालमा पारेर महिलाको समूहले रकम असुली गर्ने गैरकानुनी धन्दाबारे अधिकांश जानकार नै छन् ।  तर,पुरुषले गिरोह बनाएर महिलालाई ठगेको सुन्ने सायदै कोही होलान् । सुशिला भट्टराई (नाम परिवर्तन) माथि यस्तै बज्रपात आइपरेको छ । 

जग्गा खोज्ने क्रममा भेटिएका व्यक्तिले उनको सर्वस्व सकाइदिएका छन् । जायजेथा सबै ती व्यक्तिले खाइदिएपछि उनी सडकमा आइपुगेकी छन् । एकल महिला उनले आफू ठगीमा परेको भन्दै सबै सरोकारवाला निकाय गुहारिसकेकी छिन् । विडम्बना,पीडितलाई न्याय दिलाउनुको साटो प्रहरी प्रशासन मिलापत्र गराउन लागिपरेको छ । 

यस्तो छ घटनाको नालीबेली

काभ्रे स्थायी घर भएकी उनका श्रीमानको सात वर्षअघि निधन भएको हो । ४५ वर्षकी उनी एक्लैले दुई सन्तान हुर्काइन् । काठमाडौंमै घर भए पनि श्रीमानले उनलाई खासै वास्ता गर्दैनथे । डेढ महिने शिशु आमाको साथमा छोडेर उनले १० वर्ष दुबईमा रगत पसिना बगाइन्, छोराछोरी पढाइन्,बढाइन् । 

छोराबुहारी अष्ट्रेलियामा छन् । छोरी विदेश जाने तयारी गर्दै छिन् । एउटा विदेशमा,अर्को पनि जाने भएपछि उनी सहाराको खोजीमा थिइन् । जग्गा खोज्ने क्रममा चिनजान भएका कैलाशमणि खरालसँग निकटता बढ्दै गयो । 

काठमाडौंको टोखा नगरपालिका ३ बस्ने ४९ वर्षीय खरालले अभिभावकत्व देखाउन थाले । सुशीलाले पनि उनलाई आफ्नै ठान्न थालिन् । कैलाशमणिले सुशिलालाई आफ्नो सम्बन्धविच्छेद भइसकेको र छोराछोरी पनि आफूसँग नबस्ने बताएका थिए । सोझी उनले खरालको सबै कुरा पत्याइन् ।

त्यही व्यक्तिले आज उनलाई ‘घर न घाट’ को बनाइदिएका छन् । उनको शीरबाट छत पनि गुमेको छ । काठमाडौं महानगरपालिका ४, धुम्बाराहीमा साढे दुई तलाको घर भएकी उनी अहिले बेघर हुन पुगेकी छिन् । आमाछोरी सडकमा भौँतारिरहेका छन् ।

आफ्नो सम्बन्धविच्छेद भइसकेको र छोराछोरी पनि आफूसँग नबस्ने बताएका थिए । सोझी उनले खरालको सबै कुरा पत्याइन् । 

एकातिर छोराले विदेशमा बसेर कमाएको सबै पैसा कैलाशमणिले खाइदिए, अर्कोतिर यहाँ भएको जायजेथो पनि सखाप बनाइदिए । विभिन्न बहाना बनाएर कैलाशमणिले उनीबाट पैसा उठाइरहे, उनले दिइरहिन् । 

हिसाब गर्दा पो उनले तीन करोड बढी रकम आफूबाट लगिसकेको थाहा पाइन् । उनको छोराले अष्ट्रेलियामा पीआर पाइनसकेको हुनाले पैसा यही पठाउँथे । त्यो पैसा उनले जग्गामा हाल्ने सोच बनाइन्, छोरा पनि सहमत थिए । 

‘कैलाशमणिसँग मेरो चिनजान भएको दुई वर्षजति भयो । उहाँसँग जग्गा खोज्ने क्रममा चिनजान भएको थियो । उहाँले मलाई आफ्नो सम्बन्धविच्छेद भइसकेको र छोराछोरी पनि साथमा नबस्ने बताउनुभएको थियो । म विश्वासमा परे । सबै लुटिसकेपछि खोज्दै जाँदा उहाँको सपरिवार नै बस्दै आएको थाहा पाए । मसँग अहिले केही पनि छैन्, सडकमै आइपुगेको छु’, उनले भनिन् । 

आफूलाई ठग्नमा कैलाशमणि मुख्य नाइके भएको सुशीला बताउँछिन् । उनलाई चितवनको माडी पुर्याएर कैलाशमणिसहित अन्य तीनले पनि लुटे । शुरुमा उनी काठमाडौंमै घडेरी किन्ने सोचमा थिइन् । कैलाशमणिले उनलाई मायाजालमा पारेर टोखाको कुखुरा फार्ममा पैसा हाल्न लगाए । 

२० लाख रुपैयाँ दिइसकेपछि मात्रै उनले त्यहाँको फार्म नाम मात्रको भएको थाहा पाइन् । फार्म खरिदको नाममा कैलाशमणिले उनको लाखौं रुपैयाँ खाइदिए । सुशिलालाई त्यतिबेलासम्म पनि आफूमाथि ठगी भइरहेको आभाष भएन् । जग्गा किन्ने भन्दै कैलाशमणिले उनलाई माडी नगरपालिकाको कल्याणपुर पुर्याए ।

चार जना जग्गाधनीको ९ बिघा जमिन किन्ने भनेर पैसा लिन शुरु गरियो । सोहीबीच माडीकै गंगादेवी पाण्डे, माया भट्टराई (मैया) र चितवनको टाडी निवासी नवराज तिमल्सेना पनि उनीहरुको समूहमा जोडिए । अनि शुरु भयो ठगीको खेल । 

जनप्रतिनिधि र मालपोत कार्यालयका कर्मचारीलाई पैसा खुवाउनुपर्छ भन्दै उनीहरुले धमाधम पैसा असुलिरहे । लाख–लाख गर्दै सुशिलाको खाताबाट कैलाशमणिले निरन्तर पैसा लैजान थाले । उनले पनि दिइरहिन् । यसरी उनको कति पैसा ती समूहले लगे ? लेखाजोखा छैन् । 

यता, करिब दुई करोड रुपैयाँ खर्च हुँदासम्म माडीमा किनिएको ९ बिघा जमिन उनको नाममा आएन् । उनको काठमाडौंमा सात आना, १५ आना र ६ आना घडेरी थियो । धुम्बाराहीमा साढे दुई तलाको घर पनि थियो । हाल उनीसँग न जग्गा छ न घर । 

कैलाशमणिले आफ्नो पैसा नआएको भन्दै थप पैसा लगेको सुशीलाको भनाइ छ । उता, माडीमा भेटिएका दुई महिला पनि उनकै घरमा आएर तीन महिना बसे । सँगै प्रल्हाद अधिकारी नामका गुण्डा पनि ल्याए । घरभित्रै बन्धक बनाइयो । जबरजस्ती जग्गा बैंकमा धितो राख्न लगाइयो, घर ३० लाख रुपैयाँमा उनीहरुका नजिकका व्यक्तिलाई बन्धकीमा पास गर्न लगाइयो । 

त्यसपछि उनीहरु पैसा लिएर भागे । आफ्नो उठीबास लागेपछि सुशीला कानुनी उपचारतर्फ लागिन् । राष्ट्रिय मानव अधिकार आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र, महिला पुनःस्थापना केन्द्रमा निवेदन दिइन् । त्यताबाट पनि उनले कुनै सहयोग पाइनन् । 

‘महिलाले नै महिलालाई बर्बाद पारिदिए । मेरो घरमा आए, बसे । त्यसपछि गुण्डा बोलाएर मलाई नै धम्काउन थाले । त्रसित भएर मैले आफ्नो जग्गा बैंकमा राखे, पैसा उनीहरुले लगे । घर पनि बन्धकी राखेर पैसा उनीहरुलाई दिए । अहिले मेरो बिल्लीबाठ भएको छ । मेरो छोरा पनि एक वर्षदेखि बिरामी छ । काम गर्न सकेको छैन्’, उनले गुनासो पोखिन् । 

सुशीलाका अनुसार उनलाई लालपूर्जा र नक्सा हेर्नसमेत आउँदैन् । १० सम्म पढेकी उनले राम्रोसँग हिसाबकिताब गर्न जानेकी छैनन् । उनी आफ्नो बाँच्ने आधार केहीपनि नभएको दुःखेसो पोख्छिन् । सुशीला भन्छिन्,‘म मेरो छोरीको अनुहार हेरेर बाँचिरहेको छु । मसँग अब केहीपनि छैन् । मैले न्याय पाइँन् भने म बाँच्नुको अर्थ पनि छैन् ।’

प्रशासनको निर्देशन प्रहरीद्धारा अवज्ञा 

अपराध गर्नेलाई सजाय हुनुपर्छ, मेलमिलाप होइन । रोचक प्रसङ्ग त के छ भने प्रहरी अपराध गर्नेलाई कारबाही गर्नुको साटो मेलमिलाप गराउनतर्फ लागेको छ । यता, प्रहरीले जिल्ला प्रशासन कार्यालय, चितवनको निर्देशनसमेत अवज्ञा गरेको छ । आफू ठगिएको भन्दै उनले गत चैत ३० गते प्रशासनमा निवेदन दिइन् । प्रशासनले आवश्यक कानुनी कारबाही अघि बढाउनु भनी वैशाख ४ गते जिल्ला प्रहरी कार्यालय,चितवनलाई पत्राचार गर्यो ।

 

‘प्रस्तुत विषयमा जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर ४, धुम्बाराही बस्ने .... ले यस कार्यालयमा पेश गरेको निवेदन सम्बन्धमा छलफल गर्दा ठगीसँग सम्बन्धित विषय पाइएको हुँदा थप जानकारी यसैपत्र साथ संलग्न सक्कलै निवेदनबाट अवगत गर्नु भई आवश्यक कानुनी कारबाही अगाडि बढाउनुहुनका लागि पठाइएको व्यहोरा आदेशानुसार अनुरोध छ’, पत्रमा उल्लेख छ । 

यता, प्रहरी भने यस्तो गम्भीर मुद्दामा मिलापत्र गराउन तातिएको छ । एकदिन प्रहरी हिरासतमा बसेका उनी राजनीतिक आडमा निस्किसकेका छन् । उनको बुवा चन्द्रमणि खराल पूर्वसांसद हुन् । शिक्षण अस्पतालमा कार्यरत दाइ पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध छन् । उनको ‘ब्याकग्राउण्ड’ बलियो भएकाले प्रहरी डराएको पीडित पक्षको भनाइ छ । 

उनलाई कारबाही गर्नुपर्ने मागसहित सुशीलाका आमाछोरी प्रहरीमा धाएका धायै छन् । जति नै गुनासो पोखे पनि उनीहरुको कुरा सुनिदिने कोही छैन । मायाजालमा पारेर करोडौं रुपैयाँ ठगेको विषयलाई प्रहरीले हलुका रुपमा लिएको बुझिन्छ । चितवनका एसपी भावेश रिमाल यसविषयमा अध्ययन भइरहेको बताउँछन् । कैलाशमणिविरुद्ध पीडित पक्षले प्रहरीमा उजुरी नदिएको उनको भनाइ छ । 

ठगीमा नभई वादविवादमा उनलाई थुनेको एसपी रिमालले बताए । ‘हामीलाई जिल्ला प्रशासनबाट पत्र आएको छ । हामी भोलि सबै पक्ष झिकाएर छलफल गर्छौं । त्यसपछि मात्रै कसरी अगाडि बढ्ने ? भन्ने एउटा निष्कर्षमा पुग्न सकिन्छ । उहाँहरुबीच वादविवाद भएको थाहा पाएपछि हामीले कैलाशमणिलाई ल्याएर थुनेका हौं । अब यसमा चेक बाउन्सलगायतका कुरा पनि आएका छन्’, उनले भने । 

यता, ईलाका मालपोत कार्यालय, माडीका कार्यालय प्रमुख नवराज घिमिरेले आफूलाई चेकबारे कुनै जानकारी नभएको दाबी गरे । आफूले कुनै पनि चेक नलिएको उनी बताउँछन् । जबकि माया र गंगाले उनलाई पैसा दिनुपर्ने भन्दै सुशीलाबाट चेक लगेका थिए । उनीसँग चेकको रेकर्ड पनि छ । 

‘मैले कुनै पैसा लिएको छैन । त्यो चेक मेरो हातमा परेको पनि छैन । यसबारे मैले पनि भर्खरै थाहा पाएँ । उहाँले जसलाई चेक काटेर दिनुभयो, तिनीहरुले नै पैसा झिकेको हुनुपर्छ’, उनले भने । कैलाशमणिको फोन भने स्वीच अफ छ ।

टिप्पणीहरू