हात्ती कूटनीति

हात्ती कूटनीति

कतारको राजालाई नेपालबाट दुइटा हात्ती उपहार पठाइएको रहेछ । वास्तवमा कतारी राजा त्यही हात्ती लिन नेपाल आउनुभएको पो हो कि ! जस्तो हाम्रो प्रधानमन्त्री पुष्पकमल दाहाल केही समयअघि भैंसी लिन भारत जानुभएको थियो । उताबाट भैंसी आएपछि नेपाल–भारत सम्बन्ध अझ प्रगाढ भएको थियो । ठीक यसरी नै अब यताबाट हात्ती गएपछि नेपाल–कतार सम्बन्ध अझ प्रगाढ हुन्छ होला । कतारसँग राम्रो सम्बन्ध बनाउने काम मान्छेले गर्न नसकेपछि अब हात्तीले गर्नुपर्ने अवस्था आएको छ । दुई देशबीचको कूटनीतिक सम्बन्ध बलियो बनाउने काम त राजदूतहरूको हो । तर दुर्भाग्य, हाम्रा राजदूतहरूले त्यसो गर्न सकिरहेका छैनन् । अतः हात्ती मैदानमा आउनुपर्ने अवस्था छ । 

उसो त नेपालको कूटनीतिक सम्बन्ध पहिलेदेखि नै जीवजन्तुहरूमा आधारित छ । नेपाली राजदूतहरूले प्रगाढ बनाउन नसकेको सम्बन्ध हाम्रा जीवजन्तुहरूले प्रगाढ बनाउँदै आइरहेका छन् । यस्तो सम्बन्ध प्रगाढ बनाउन हामी कहिले गैंडालाई मैदानमा उतार्छौं, कहिले हात्तीलाई । वास्तवमा हात्ती र गैंडा भनेका हाम्रा दुर्लभ वन्यजन्तु मात्र होइन, विदेशमा हाम्रा गुडविल एम्बेसडरसमेत हुन् । भलै एम्बेसडरको तलब राजदूतहरूले खाने गर्छन् तर साँच्चैका महामहिम भनेका यिनै हात्ती र गैंडा नै हुन् ।

हेरौं, कतार गएका हाम्रा यी दुई हात्तीहरूले ‘फ्रि भिसा, फ्रि टिकट’ मा कति काम गर्न सक्छन् !
 

टिप्पणीहरू