पूर्वमेयरका ‘चोटहरु हिर्काउँछन्’ सार्वजनिक

पूर्वमेयरका ‘चोटहरु हिर्काउँछन्’ सार्वजनिक

कवि एवम् गीतकार पुरण क्षेत्रीको नयाँ गीत सार्वजनिक भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा ‘चोटहरु हिर्काउँछन्’ सार्वजनिक गरिएको छ । 

गीतकार क्षेत्रीको शब्दलाई रामकृष्ण ढकाल र प्रगती महराले स्वर दिएका छन् । यस्तै सन्तोष श्रेष्ठको संगीतलाई देवेन्द्र नेवाले एरेञ्ज गरेका हुन् । 

कार्यक्रममा प्रतिष्ठानकी कुलपति निशा शर्माले गीतले संघर्ष र कठोरतासँग जुध्ने साहसको आशय व्यक्त गरेको बताइन् । जीवनका आरोह र अवरोहलाई यो गीतले सुन्दर प्रतिबिम्ब बनाएको उनको भनाई थियो । 

त्यस्तै वरिष्ठ कवि एवम् गीतकार दिनेश अधिकारीले यो गीतले कूरुपताभित्र पनि सुन्दरता खोज्ने प्रयास गरेको बताए । जीवनका अनेकौं दुर्लभ क्षणहरुलाई गीतकार क्षेत्रीले कलात्मक ढंगले प्रस्तुत गरेको अधिकारीको तर्क थियो । आगामी दिनमा पनि आफूले यस्तै गीतहरुको अपेक्षा गरेको बताउदै उनले गीतकार क्षेत्रीलाई बधाइ एवम् शुभकामना दिएका थिए । 

रोल्पा घर भएका क्षेत्री दुई दशकभन्दा लामो समयदेखि साहित्यमा सक्रिय छन् । यसअघि उनको ‘खेलाडी हौँ, हामी खेलाडी’ बोलको गीतले राम्रो चर्चा पाएको थियो । खासगरी क्रान्तिकारी कविको रुपमा चिनिने क्षेत्रीका ‘जलजलाको नूतन सन्देश’ र ‘देशले हाम्रो उत्साह खोजिरहेछ’ कविता संग्रह प्रकाशित  छन् । 

रोल्पा नगरपालिकाका पूर्वमेयरसमेत रहेका क्षेत्री राजनीतिमा पनि उत्तिकै लोकप्रिय मानिन्छन् ।

टिप्पणीहरू