सेनापति बित्दा यस्तै हुन्छ सलामी ?

सेनापति बित्दा यस्तै हुन्छ सलामी ?

घर जान लागेका प्रधानसेनापतिको झाँको झारिएको छ, शशीभवनमै भूपू जर्नेलहरूद्वारा । अनि, जाने दिन आउनै लाग्यो, देशदौडाहा गरेर बिदावारी हुने सुरसार छैन ।

जेठ २ गते बुधवार पूर्वसेनापति धर्मपालबरसिंह थापाको ८५ वर्षको उमेरमा निधन भयो । सेनापतिमात्रै हैन, अवकाशप्राप्त जर्नेल, कर्णेलको निधन हुँदा पनि दर्जाअनुसार सम्मानस्वरुप सलामी गारद अर्पण गरिने प्रचलन छ । तर, तत्कालीन शाही नेपाली सेनालाई २०५२ जेठदेखि २०५६ वैशाखसम्म नेतृत्व गरेका धर्मपालबरसिंह थापाको निधनमा त्यस्तो विशेष सम्मान दिने काम भएन । यसबाट पूर्वसेनापतिहरू आगो हुँदै शशीभवन छिरेका हुन् । गौरवसमशेर राणा त चर्काचर्कीमै उत्रिए । भने, ‘तपाईं–हामीले पनि एक दिन मर्नुपर्दैन ? आज एउटा रिटायर्ड चिफमाथि यत्रो अपमान हुन्छ भने भोलि हामीलाई अरु कसैले किन सम्मान गर्ने ?’ अवकाशहरूको भीडले घेरिएका प्रभुराम भने नम्रतापूर्वक प्रस्तुत भएका थिए ।

उनले पूर्णचन्द्र थापाको कार्यकालमा रक्षा मन्त्रालयकै परिपत्रबाट त्यस्तो व्यवस्था कटौती भएको सुनाए । फेरि भूपूहरू उत्तेजित भए, ‘रक्षाले के हेरेर काट्छ ? एक लाखको फौज कमाण्ड गरेको मान्छेलाई सलामी दिने कुरा काटेर उसलाई के फाइदा छ ? सलामी दिँदा पैसा लाग्ने हो र ? अनि कति जनाले सलामी दिए भनेर निजामती कर्मचारी टाउको गन्न घाट जाने हुन् र !’ परिपत्र नै भएपछि आफ्नो केही सीप नचलेको जवाफ दिएका प्रभुरामलाई अर्का भूपूले भने, ‘फोर्सको इन्टरनल कुरामा रक्षाले किन इन्टरफेयर गर्छ ? गरेको भए सच्याएर लेख्ने हिम्मत किन भएन ?’ पूर्णचन्द्रको पालामा भएको भनेपछि अरु भूपू पनि रुष्ट त भए तर  सच्याउन सक्ने ठाउँमा हुनेले नसच्याउनु र निधन भइसकेका पूर्वसेनापतिलाई एक बटालियनले सलामी नदिएर तोडिएको परम्पराप्रति जिम्मेवार हुनुपर्ने उनीहरूको भनाइ थियो ।

सैनिक ऐनमा उल्लेख भएअनुसार नेपाल सरकार तथा माथिल्लो निकायको निर्देशन भएको खण्डमा श्रद्धाञ्जली कार्यक्रमको व्यवस्थापन र बन्दोबस्ती पक्ष सैनिक संगठन निर्देशनालयको रेखदेखमा निवेश, कार्यरथी विभागले सम्पन्न गर्न सक्छ । तर, बहालवाला नभएको कारण धर्मपालले तोपको सलामी पाएनन् । २०६६÷१२÷४ को राजपत्रले ‘अवकाश प्राप्तहरूलाई तोपको सलामी नदिने’ भनी उल्लेख गरेको छ ।

जंगी अड्डामा चर्चा छ, प्रभुराम दलका नेता र कर्मचारीतन्त्रप्रति बढी नम्र छन् । संसदीय समितिमा सरोकारवाला जर्नेल, कर्णेल पठाउँदा हुनेमा आफैं पुगेर जवाफ दिने, राजनीतिक तहबाट संस्थामाथि कुनै हस्तक्षेप हुने भयो भने खासै प्रतिवाद नगर्ने र मन्त्री–नेतासँग झुक्ने स्वभाव छ । त्यसैले आफ्ना पूर्वप्रमुखको निधनमा एक बटालियन फौज खटाएर सलामी दिन पनि उनी हिचकिचाएको भन्ने गरिन्छ । 

अर्कातिर, अवकाश हुनुअघि बिदाई हुन विभिन्न पृतना जानुपर्ने हो तर कुनै सुरसार छैन । आउने सेनापतिलाई चिनाउने र आफूले बिदा माग्ने परापूर्वकालदेखि चलिआएको प्रचलन हो । उनले त भावी प्रधानसेनापति को हो भन्ने कुरा आफू अवकाश हुनु डेढ महिना बाँकी हुँदा पनि टुंगो लगाउन सकेका छैनन् । त्यसमाथि युनिट राखिएका विभिन्न स्थानविशेषमा विभिन्न प्राविधिक समस्या छन् । कतै भवन बनेका छैनन् । कतै वनले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गरिदिएको छैन । दाङको बाहिनी र रौतहटको गणको हालत खराब छ । रौतहटमा सेनाको युनिट पुरेनवा दरबारमा बसेको छ । नयाँ ठाउँमा जग्गा पाइसकिएको छ । वनले वातावरणीय प्रभाव मूल्यांकन नगरिदिँदा जंगल काट्न सकिएको छैन । र, यस्ता कुरामा चासो पनि देखाइएको छैन ।

उता, भदौ ११ गते जागिर सकिएर घर जान लागेका दुईतारे जर्नेल सन्तोष ढकालका चर्तिकलाको चर्चा जंगी अड्डामा हुने गरेको छ । सैनिक प्रावधानअनुसार उनले आफ्नो सरकारी सवारी साधनमा दर्जागत संकेत पाउँछन् नै । तर, निजी शारीरिक अभ्यासका लागि साइकल चलाउने क्रममा पनि गाडीमा जस्तै दुई वटा तारा हालेको फोटो छ्याप्छ्याप्ती छ । 

भर्खरै तालिम सिध्याएर लप्टन–क्याप्टेन भएका ५८ बेसिकका अफिसरसँग निकट सम्बन्ध राख्ने गरेको बताइन्छ । समकक्षीसँग कुरा नमिलेपछि दुई तारे जर्नेल भएर लप्टन, क्याप्टेनहरूसँग कुरा गरी दिन काट्नु बाध्यता पनि होला । तालिम दिइने युनिट डिजिएमटीमा लामो समय बसेका कारण उनले ती लप्टन–क्याप्टेनलाई त्यससम्बन्धी कागजात दिने गरेका छन् । नं. ३ बाहिनी पोखरामा रहँदा महिला हुकलाई राति १० बजे राति फाइल लिई आफ्नो बंगलामा बोलाएको उजुरी पनि छ । आफूलाई ट्याक्टिसको विज्ञ ठान्ने गर्छन् र आफ्ना प्रतिस्पर्धी निर्मल थापाको शैक्षिक प्रमाणपत्र जाँच्न चार महिनाअघि दुई लाख रुपैयाँ दिएर त्रिभुवन आर्मी क्लबका अधिकृतलाई भारत पठाएको चर्चा पनि उत्तिकै व्याप्त छ ।

महिलाका कुरा कतिसम्म सुन्छन् भने, ओलम्पिकमा भाग लिन गएका त्रिभुवन आर्मी क्लबका खेलाडी सुवेदारलाई लखेटेरै छाडे । धेरैतिरबाट त्यसो नगर्न दबाब दिइएपछि बोलाएर आफूले हैन भन्ने पारे । र, सामाजिक सञ्जालमा उनीविरुद्ध लेखिएका असन्तुष्टिका शव्द डिलिट गर्न लगाए ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू