पूर्वसांसद र इन्सपेक्टरलाई थुनामा राख्न अदालतकाे आदेश

पूर्वसांसद र इन्सपेक्टरलाई थुनामा राख्न अदालतकाे आदेश
सुन्नुहोस्

काठमाडौँ जिल्ला अदालतले प्रहरी निरिक्षक (इन्सपेक्टर) विदुर शिवाकोटीलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । 

बलात्कारको आरोपमा गत जेठ २३ गते पक्राउ परेका उनलाई आज न्यायाधीश शिशिरराज ढकालको इजलासले थुनामा पठाउन आदेश गरेको हो । ४५ वर्षीय शिवाकोटीमाथि घरमा काम गर्न राखिएकी १२ बर्षीया बालिकालाई तीन वर्षदेखि पटक-पटक बलात्कार गरेको आरोप छ । 

उनी आफै प्रहरीमा भएका कारण ती बालिकाले घटना बाहिर ल्याउन सकेकी थिइनन् । तर, पछि काठमाडौँ महानगरपालिकाका कर्मचारीसँग उनले घटना सुनाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत इन्सपेक्टर शिवाकोटी पक्राउ परेका थिए । 

उता, महोत्तरी जिल्ला अदालतले पनि सशस्त्र प्रहरीका असही थमन विकको हत्या प्रकरणमा पूर्वसांसद कौशल यादवलाई पूर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश फनेश्वरी घिमिरेको इजलाशले आज थुनामा राख्न आदेश दिएको हो । 

लामो समयदेखि फरार रहेका यादव गत शनिबार राति महोत्तरीको साम्सी गाउँपालिका -५ पोखरीभण्डाबाट पक्राउ परेका थिए ।

टिप्पणीहरू