आधा करोडमा किनिएको भेडा कागजमा सीमित

आधा करोडमा किनिएको भेडा कागजमा सीमित

पशु अस्पताल तथा पशुसेवा कार्यालय, मुगुका कार्यालय प्रमुख भिमचन्द्र बुढासहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित छाँयानाथ रारा नगरपालिकाका तत्कालिन इन्जिनियर हरिदेव पण्डित, सबइन्जिनियर विष्णुभक्त हितान, ऋणीमोक्ष बहुउद्देश्यीय कृषि सहकारी संस्थाका सञ्चालक सुरबहादुर बुढा, कर्णाली एकीकृत महिला विकास मञ्चकी सञ्चालक राधिका मल्ल र रावत मासु पसलका सञ्चालक तिलकबहादुर रावतविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

पशु अस्पताल तथा पशुसेवा कार्यालय, मुगुले आर्थिक वर्ष २०७५÷०७६ मा पशु बाधशाला निर्माण तथा भेडा पकेट कार्यक्रम स्वीकृत गरी सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, उनीहरुको मिलेमतोमा बधशाला निर्माणमा अनियमितता हुनुका साथै भेडा नै नकिनी कागजात मिलाएर भ्रष्टाचार गरिएको अख्तियारको आरोप छ । 

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम छुट्टाछुट्टै बिगो कायम गरेर मुद्दा दायर गरिएको हो । कार्यालय प्रमुख बुढालाई २० लाख ७० हजार ४४९ रुपैयाँ, इन्जिनियर पण्डित र सबइन्जिनियर हितानलाई १६ लाख ७० हजार ६२८ रुपैयाँ बिगो तोकिएको छ । 

त्यस्तै, सहकारीका सञ्चालक बुढाविरुद्ध तीन लाख ९९ हजार ८२१ रुपैयाँ, मञ्च सञ्चालिका मल्ललाई १२ लाख २३ हजार सात सय रुपैयाँ र मासु पसल सञ्चालक रावतउपर चार लाख ४६ हजार ९२७ रुपैयाँ बिगो मागदाबी लिइएको छ ।

टिप्पणीहरू