सेनापतिमा बाजी मार्लान् त सिग्देलले ?

सेनापतिमा बाजी मार्लान् त सिग्देलले ?

अनेकन गलफत्ती र तनावबीच नेपाली सेनाको भावी कमाण्डरमा ३ तारे अशोक सिग्देललाई सिफारिस गर्न लागेको बुझिएको छ । उनीविरुद्ध नागरिकता तथा शैक्षिक प्रमाणपत्रको फरक जन्ममिति प्रकरणमा एक वर्षअघि नै छानबिन भएको थियो । अघिल्लो रक्षामन्त्री पूर्णबहादुर खड्काको पालामा करिब एक महिना लगाएर गरिएको छानबिनमा कैफियत नभेटिएपछि बढुवा गरिएको थियो । त्यसबेला उठेको यो विवादको निरूपण अहिलेका प्रधानसेनापति प्रभुराम शर्मा र निर्मल थापाले गरेका थिए । यसै विषयलाई उठान गर्दा नयाँ डकुमेन्ट र प्रमाण नदेखिएका कारण पनि जर्नेल सिग्देलको नाम सिफारिस गरी पठाउने तयारी भएको दाबी स्रोतको छ । 

त्यसो त सिग्देलको उमेर प्रकरण छत्रमान गुरुङकै पालामा छताछुल्ल भएको हो । तर, पूर्णचन्द्र थापा प्रधानसेनापति भएका बखत समाचार बनेका थिए । त्यसबेला अनन्त कार्की र प्रेम शाहीले आफू चिफ बन्न बाटो खुलाउने क्रममा यो विषयलाई उछालेको आरोप लागेको थियो । पछि यी दुवैले आफ्नो लक्ष्य पूरा गर्न सकेनन् । प्रेम शाहीमाथि कोर्टमार्शल भयो भने अनन्त दुई तारेबाटै रिटायर्ड भए । ताराध्वज पाण्डे र अशोक सिग्देलको प्रकरण करिब करिब एउटै जस्तो देखिन्छ । मुखैमा आएको प्रधानसेनापतिको पद छोडेर पाण्डे अष्ट्रेलियातिर लागेका छन् भने सिग्देल नयाँ जिम्मेवारी लिने सुरसारमा छन् । यी दुबै एउटै व्याचका विद्यार्थी हुन् । दुवैको स्कूलमा भएको जन्ममिति दर्ता र नागरिकतामा लेखिएको विवरण फरक फरक पाइएको थियो ।

तर, सिग्देलको प्रकरणमा भने सपिङ स्कूलका तत्कालीन प्रिन्सिपल कमलसिंह राठौरले जो जससँग सम्बन्धित छ भन्ने पत्र लेखेर फरक जन्ममितिलाई मान्यता दिएका थिए । त्यसैलाई आधार बनाएर सिग्देलले पहिला लिएको नागरिकता हरायो भन्दै पुनः जाजरकोट जिल्ला प्रशासन कार्यालयबाट प्रतिलिपि लिए । नियमसंगत हेर्ने हो भने जुन जिल्लाबाट नागरिकता बनाइएको हो त्यसै जिल्लाबाट प्रतिलिपि लिनुपर्ने थियो तर त्यसो नगर्दा बदनियत भएको देखिन्छ । एक समय पाण्डे र सिग्देल दुवै निकै मदिराप्रेमी भनी चर्चित थिए । अहिले सिग्देलले कडा रक्सी पिउन छाडेका छन् । 

ताराध्वज पाण्डेले जन्ममिति विवादकै कारण जागिर हापेर हिँडेको दाबी गरिए पनि भित्री कुरा भने बेग्लै रहेको स्रोतको दाबी छ । २६ जनवरीमा मनाइने गणतन्त्र दिवशको दिन लाजिम्पाटस्थ्ति भारतीय दूतावासमा आयोजित कार्यक्रममा जाँडको तालमा मनपरी बोलेपछि उनीविरुद्ध भारतीय कूटनीतिज्ञहरू लागेको बताइन्छ । यो घटनापछि पनि पाण्डेले सोल्टी होटलमा आयोजित एक कार्यक्रममा भारतीय दूतावासका कर्णेल अमित शर्मालाई ‘यु ब्लडी इन्डियन’ समेत भन्न भ्याएका थिए । यस्तो व्यवहार गर्ने नेपाल आर्मीको चिफ भए हामीलाई मान्य नहुने भन्दै भारतीय राजदूतले विरोध जनाउँदा उनी रोलक्रमबाट वञ्चित भएको स्रोतको दाबी छ । 

एकताका नेपाली सेनाले बन्द रहेको हेटांैडा कपडा उद्योग सञ्चालनमा ल्याउने र त्यसको प्रमुख बनाएर इञ्जिनियर जर्नेल भोला बुढाथोकीलाई पठाउने योजना थियो । तर सेनाले कपडा उद्योग सञ्चालन गर्न नहुने भन्दै विवाद बढेपछि उनी जाने कुरा बीचैमा रोकिएको छ । तै पनि उनी भक्तपुर खरिपाटीस्थित सैनिक इञ्जिनियरिङ कलेजको प्रमुखमा पदस्थापन हुने दाउमा छन् भनिन्छ । उनी पनि २५ बेसिकका हुन् । उपलब्ध प्रमाणका आधारमा २०२३ सालमा जन्मेको व्यक्तिले कसरी सेनाको २५ बेसिकमा जागिर पाउन सक्छ भन्ने प्रश्न पनि उठाइएको छ । तर, यस प्रकरणमा उनको प्रमाणपत्र सच्याउने र मान्यता दिने त्रिभुवन विश्वविद्यालयलगायत तालुकदार अड्डासमेत दोषी देखिन्छन् । सो बेसिकका जर्नेल निर्मल थापाबाहेक अरू सबै रिटायर्ड भइसकेका छन् । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू