रवि लामिछानेले गृह मन्त्रालयमा आँखा लगाइरहने

रवि लामिछानेले गृह मन्त्रालयमा आँखा लगाइरहने

कामचलाउ सरकारका गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले आफू सरकारमा नरहे पनि गृह मन्त्रालयको कामकारवाहीलाई नजिकबाट नियालिरहने बताएका छन् ।

आज मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले सरकार परिवर्तनसँगै अपराध अनुसन्धानमा प्रभाव पर्नसक्ने आशंकासमेत गरे । गृहसचिव र तीन वटै प्रहरी संगठनका प्रमुखहरुलाई अगाडि राखेर उनले नक्कली शरणार्थी प्रकरणका आरोपित बेचन झाको बयान,जिबी राई पक्राउ सम्बन्धमा भएको प्रगतिलगायत अन्य विषयको अनुसन्धानमा हात नकमाउन आग्रह गरे ।

यी सबै कुरा प्रतिपक्षमा बसेर नियालिरहने लामिछानेले बताएका छन् । राजनीतिमा नयाँ पुस्ता आइसकेको उल्लेख गर्दै उनले अहिले जसरी चलेको छ, त्यसरी चल्दैन भन्ने कुरा महसुस गर्न सुरक्षा निकायका प्रमुखलाई अनुरोध पनि गरे ।

‘जाँदाजाँदै म यति भन्न सक्छु- देशमा परिवर्तन चाहिएको भए,यदि जे चलिरहेको छ त्यो सही भइदिएको भए,जुन संयन्त्र चलिरहेको छ त्यही नै भइदिएको भए हामीले दैनिक गाली खाएर, आलोचना सहेर,अनेक किसिमका लाञ्छना सहेर यसरी नयाँ पुस्ता आउनुपर्ने थिएन,’लामिछानेले भने, ‘नयाँ पुस्ताको यो आगमनमा व्यक्ति को हुन्छ थाहा छैन तर राज्य संयन्त्रका रूपमा जर्वजस्त हस्तक्षेप गर्न नयाँ पुस्ताको आगमन भैसकेको छ ।’ 

व्यक्तिका रूपमा आफू फेरि आउने नआउने थाहा नभएको भन्दै उनले अब राज्य संयन्त्रमा नयाँ पुस्ताको हस्तक्षेप भने नरोकिने दाबी गरे । काम गर्ने क्रममा आफ्नो हतारोका कारण कहीँ कतै चोट लागेको भए क्षमा दिन आग्रह गर्दै उनले प्रहरी कर्मचारीको सहयोगका लागि धन्यवाद दिए । 

साथै लामिछानेले सरकार परिवर्तनको प्रक्रिया शुरु भएसँगै कयौँ विषयहरू सामसुम बन्न लागेको आशंका पनि गरेका छन्।

 

टिप्पणीहरू