देशको बदनाम गर्नेलाई जोगाउनै पर्ने ?

देशको बदनाम गर्नेलाई जोगाउनै पर्ने ?

अनेकन बदमासीमा मुछिएका निर्मल पुर्जालाई ‘सुनपानी छर्किएर चोख्याउने’ एकथरी सांसद, नेता र प्रशासकहरूको चाहना साकार बनाइदिँदैछन् सचिव गणेश पाण्डेले । शंकरदास बैरागी र बैकुण्ठ अर्यालले च्यापेका बागलुङे गणेश पाण्डेले म्याग्देली निर्मल पुर्जालाई जोगाउन अनेकन छलछाम गरिरहेको विवरण जनआस्थाले फेला पारेको छ । 

गत जेठ १३ गते सगरमाथा आरोहणको क्रममा आफैंले डोरी काटेर सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा भिडियो पोष्ट गरी बाल्कोनी र साउथ समिटबीचको भाग काटिएको र आरोहणमा समस्या भएको अफवाह फैलाएका थिए । पुर्जाले । उनको गतिविधिले नेपालको पर्वतीय पर्यटनलाई बदनाम भएको भन्दै पर्यटन विभाग, पर्वतारोहीहरूले आपत्ति जनाए । लगत्तै, विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितको नेतृत्वमा छानबिन समिति बन्यो । उनीसँग दुई पटक स्पष्टीकरण सोधियो । चित्तबुझ्दो स्पष्टीकरण नदिएपछि विभागले प्रहरीको अघि बयान गरायो । अनुसन्धानबाट पुर्जाकै कमजोरी पत्ता लाग्यो । 

र, विभागले पर्यटन ऐन ३०३५ को दफा ३८(१) अनुसार पाँच वर्षसम्म प्रवेश तथा १० वर्षसम्म नेपालमा पर्वतारोहण गर्न नपाउने गरी कारबाहीको सिफारिस पठायो । विभागले पुर्जासँग लिखित, मौखिक बयान लिएर कारबाहीको सिफारिस गरेको थियो । थाहा पाएपछि पर्यटन सचिव पाण्डेले विभागमै अड्काउन लगाए । विभागले ७ असारमै फाइल बुझाउने तयारी गरेको भए पनि हप्तौंसम्म दबाब दिएर भृकुटीमण्डपमै अड्काइएको विभाग स्रोतले जनाएको छ । 

दुई साताअघि फाइल मन्त्रालय पुग्यो । मन्त्रिपरिषदमा पठाइनुपर्ने कारवाहीको प्रस्ताव उल्टै भृकुटीमण्डप (पर्यटन विभाग)मा फिर्ता पठाइदिएका छन्, सचिव पाण्डेले प्रक्रिया नपुगेको भन्दै उनले पुनः पुर्जासँग वयान लिन, इन्स्ट्राग्राममा राखेका सामग्री हटाएका छन् वा छैनन् हेर्न भन्दै कारवाहीको पत्र फिर्ता पठाइदिएका हुन् । यसअघि विभागले दुुईपटकसम्म उनीसँग बयान लिएको थियो । 

पुर्जालाई जोगाउनका लागि माओवादी सांसद् सुरेश आलेमगर र कल्पना मियाँदेखि सोनाम लाक्पा शेर्पासम्म लागिपरेको बताइन्छ । त्यसमाथि एमाले नेतृत्वकै सरकार आएका कारण पुर्जालाई खुदो पल्टिएको छ । यो बिषयमा महानिर्देशक पण्डितसँग जिज्ञासा राख्दा प्रक्रिया नपुगेको भन्दै फाइल फिर्ता आएको प्रतिक्रिया दिएका छन् भने सचिव पाण्डेचाहिँ सम्पर्कमै आउन चाहेनन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू