अदालतमा महिला वकिलको गोप्य अंग छुन खोजेको आरोप

अदालतमा महिला वकिलको गोप्य अंग छुन खोजेको आरोप

असार २३ गते ‘नियम पालना गर्नू’ भन्दाखेरि ड्युटीमा बसेका सुरक्षाकर्मीले झापड खानुपर्‍यो । सो दिन काठमाडौं जिल्ला अदालतको ३ नम्बर गेट (अदालतका कर्मचारी र कानुन व्यवसायीहरूको लागि मात्र प्रयोग गर्ने भनी तोकिएको क्षेत्र) मा खटिएका थिए, प्रहरी जवान जीवन छिनाल । 

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ६ की अधिवक्ता नानी (लक्ष्मी) थापाले उनलाई चड्काएकी हुन् । मुद्दाका झगडिया सो गेटबाट पेल्दै भित्रिन खोजेकी थिइन् । 

यस विषयमा बारको केन्द्रीय कार्यसमिति नै दुईतिर बाँडिएको छ । बारमा २५ जनाको कार्यसमिति छ । नानी आफ्नै संगठनको भएकाले उनको बचाउ गर्नुपर्ने केही पदाधिकारीको धारणा थियो । केहीले भने सत्यको पक्षमा उभिनुपर्ने भनी खुलेरै सुरक्षाकर्मीका लागि आवाज उठाएका थिए । तीमध्येकी हुन्– उपाध्यक्ष आशा राई । 

उनले लैङ्गिकता नहेरिकन सत्य र गलत छुट्याएर निर्णय लिन सशक्त आवाज उठाइन् । उनको आवाजले गर्दा बार तत्काल वक्तव्य निकाल्नबाट रोकियो । उक्त घटनाको भोलिपल्ट बैठक बोलाइएको थियो । सोही क्रममा आशाले ‘घाउ लागेकोलाई निर्दोषी र घाउ नलागेकोलाई दोषी करार’ गर्न नहुने धारणा राखिन् । 

उनको भनाइमा धेरैले सहमति जनाए । त्यसपछि सिसीटिभी फुटेज हेरेर मात्र निश्कर्षमा पुग्ने निर्णय भयो । यता, घटनाका प्रत्यक्षदर्शी १ नम्बर न्यायाधीशले पनि निर्दोषीमाथि अत्याचार नगर्न भन्दै बारलाई सचेत गराएका थिए । उनले भनेका थिए, ‘सिसिटिभी फुटेज नहेरिकन बारले एकोहोरो जे गरे पनि हुन्छ भन्ने नगरिदिनुहोला । गल्ती उहाँकै देखिएको छ ।’

बारले आफ्नो पक्षमा विज्ञप्ति ननिकालेपछि आक्रान्त बनेकी नानीले दबाब दिइन् । घटनाको तीन दिनपछि मात्र बारले विज्ञप्ति जारी गर्‍यो । जसमा अदालतका कर्मचारी र सुरक्षाकर्मीलाई पदीय जिम्मेवारी र भूमिकाको ख्याल गर्न सचेत गराइएको छ । 

स्रोत भन्छ, ‘उपाध्यक्षले खुलेरै महिला भन्दैमा सेन्टिमेन्टल हुन नहुने बताइन् । महिलाले गल्ती गर्दैनन्, अपराध गर्दैनन् भन्नु गलत हुने उनको भनाइ थियो । उनको भनाइमा अन्य सदस्यले पनि सहमति जनाए ।’

यता, नानीले भने सुरक्षाकर्मीले ‘जेन्डरबेस’ गाली गरेकोले विवाद त्यहाँसम्म पुगेको बताइन् । सुरक्षाकर्मीले आफ्नो संवेदनशील अङ्गसमेत छुन खोजेको उनको आरोप छ । ‘परिचयपत्रको विषयलाई लिएर विवाद हुँदा उनले मलाई लैंगिक गाली गरे । त्यसैले म फर्किएर आएकी हुँ । भिडियोमा उनी मेरो कति नजिकसम्म आएका छन् भन्ने प्रष्टै देखिन्छ । उनले मेरो संवेदनशील अङ्गमा छुने प्रयास गरेका छन् । त्यसपछि मेरो हात उठेको हो,’ उनले भनिन् । 

आफूले ‘राउण्ड किक’ हानेको भएपनि सुरक्षाकर्मीले सहनुपर्ने नानीको जिकिर छ । जनआस्थासँग कुराकानीको क्रममा भनिन्, ‘मैले राउण्ड किक हानेको भए पनि उनी चुप लाग्नुपथ्र्यो ।’

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू