रविले डुबाएको टिभीमा अन्तिम पत्र

रविले डुबाएको टिभीमा अन्तिम पत्र

लामो समयदेखि बन्द रहेको ‘ग्यालेक्सी फोर–के टेलिभिजन’ का सञ्चालकलाई श्रम तथा रोजगार कार्यालयले पत्र काटेको छ । त्यहाँ कार्यरत श्रमजीवी पत्रकारलाई तलब र तोकिएको सेवासुविधा नदिएको भनी परेको निवेदनमाथि छलफल गर्न कार्यालयले सञ्चालकलाई बोलाएको हो । 

असार २० गते बालुवाटारस्थित गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा पत्राचार गर्दै कार्यालयले भदौ ६ गते दिउँसो सवा १२ बजे सञ्चालक तथा अख्तियारप्राप्त प्रतिनिधिलाई उपस्थित हुन निर्देशन दिएको छ । ‘निवेदनको मागदाबीको सम्बन्धमा दुवै पक्षबीच छलफल गर्नको लागि देहायको मिति, समय र स्थानमा त्यस प्रतिष्ठानको तर्फबाट स्वयं व्यवस्थापक वा अख्तियारप्राप्त व्यक्ति आवश्यक प्रमाण कागजातहरूसहित अनिवार्य उपस्थित हुनुहुन निर्देशानुसार जानकारी गराइन्छ’,पत्रमा उल्लेख छ । 

कार्यालयले पत्र काटे पनि सञ्चालक ‘फरार’ रहेकाले को जान्छ ? भन्ने प्रश्न उठेको छ । सहकारी ठगीमा टेलिभिजनका सञ्चालक जिबी राई फरार छन् । कुमार रम्तेल कारागार चलान भएका छन् । पुसदेखि टेलिभिजनमा सामग्री उत्पादन बन्द छ । टेलिभिजनमा कार्यरत १२६ जनाले तलब पाएका छैनन् । तीमध्ये वासु खड्कासहित ८७ जनाले कार्यालय गुहारेका थिए । 

पारिश्रमिक दिलाइदिन माग गर्दै उनीहरूले कार्यालयमा निवेदन दिएको महिनौं भइसकेको छ । कार्यालयले यसअघि पनि ग्यालेक्सीको कार्यालयमा पत्र पठाएको थियो । तर, कुनै जवाफ नआएपछि सञ्चालकलाई नै बोलाइएको हो । हाल टेलिभिजनको सञ्चालक कोही पनि नभएकाले कार्यालयले सिँधै फैसला सुनाउने अनुमान लगाइएको छ । 

स्रोतका अनुसार सामान बेचेर भएपनि कर्मचारीको बक्यौता तिर्नु भन्ने फैसला आउने सम्भावना छ । ‘हाल टिभीमा सञ्चालक कोही छैनन् । कार्यालयले सो दिन व्यवस्थापन पक्ष र कामदार पक्षलाई अन्तिमपटक बोलाएको छ । त्यसपछि फैसला आउने सम्भावना छ । सामान बेचबिखन गरेर भएपनि कर्मचारीको बक्यौता तिर्नु भन्ने फैसला आउँछ होला’,उनले भने । कार्यालय प्रमुख सुजन जोजिजुले कोही उपस्थित नभएमा कानुनी प्रक्रियाअनुसार अगाडि बढ्ने बताए । जनआस्थासँग कुराकानीका क्रममा उनले भने, ‘उहाँहरू उपस्थित नभएमा कानुनी प्रक्रियाअनुसार अघि बढ्छौं ।’

कर्मचारीको चार करोड 

जिबी र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सुनौलो परियोजना ‘ग्यालेक्सी टेलिभिजन’ ले धेरैलाई रोजगारी दिएको थियो । तर, टेलिभिजन बन्द भएपछि उनीहरू बेरोजगार भएका छन् । कतिपय पत्रकारिता पेशा छोडेर विदेशिएका छन् । कतिपयले अन्तै जागिर खाएका छन् । अधिकांश बेरोजगार छन् । उनीहरूको झण्डै चार करोड रूपैयाँ बक्यौता छ । 

सञ्चालक ‘फरार’ भएपनि उनीहरूले तलब पाउने आशामा काम गरिरहेका थिए । तर, टेलिभिजन नै बन्द भएपछि मर्कामा परेका छन् । हाल टेलिभिजनमा एक जना सेक्युरिटी गार्ड छन् । उनले तलबबापत २–३ लाख पाउन बाँकी छ । यता, घरधनीले भाडा नपाएपछि सूचना टाँस गरेका छन् । सामान लिलाम गरेर घरभाडा उठाउने घरधनी मिगेन्द्रप्रसाद मिश्रको योजना छ । कर्मचारी पनि सामान बेचेको पैसाले तलब पाइन्छ कि भन्ने आशमा बसेका छन् । लाखौं रूपैयाँ बक्यौता भएपछि नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काटेको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू