वस्तु तथा सेवाको मूल्य तोक्न रोक

वस्तु तथा सेवाको मूल्य तोक्न रोक

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बस्तु उत्पादक तथा वितरकलाई देशभर लागू हुने गरी मूल्य नतोक्न निर्देशन दिएको छ । 

अण्डा, मासुलगायतका खाद्य वस्तुमा उत्पादक तथा वितरकले आफूखुशी मूल्य निर्धारण गरी सिण्डिकेट लगाएको गुनासोपछि विभागले बस्तु तथा सेवाको मूल्य नतोक्न भनेको हो । विभागले विज्ञप्ति जारी गर्दै प्रचलित कानूनको अधिनमा रही उत्पादन, संकलन, प्रशोधन तथा वितरणको लागि लाग्ने वास्तविक लागत (कर समेत)आवश्यक मुनाफा राखी अधिकतम बिक्री मूल्य तोक्ने कानूनी व्यवस्था स्मरणसमेत गराएको छ । 

‘कुनै पनि उत्पादन वा वितरकको संघसंगठनले कुनै पनि वस्तु वा सेवाको देशभरी लागू हुने गरी मूल्य निर्धारण गर्ने कार्य प्रतिस्पर्धा विपरीत हुन गई आम उपभोक्ताले सरल र सहज रुपमा गुणस्तरीय वस्तु वा सेवा प्राप्त गर्ने हक संकुचित हुने भएकाले कुनै पनि उत्पादक वा वितरकको संघसंगठनले कानूनविपरीत वस्तु तथा सेवाको अधिकतम बिक्री मूल्य तोक्ने कार्य नगर्नु नगराउनु हुन सूचित गरिन्छ,’ विभागद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । 

साथै, उत्पादक र वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर, उत्पादन मिति, उपभोग्य अवधि र अधिकतम खुद्रा बिक्री मूल्य अनिवार्य रुपमा उत्पादित वस्तुमा उल्लेख गर्न पनि विभागले सम्बन्धित उत्पादक कम्पनी तथा फर्मलाई जानकारी गराएको छ ।

टिप्पणीहरू