मुख्यसचिवको टुंगो लागेपछि गृहतिर ध्यान

मुख्यसचिवको टुंगो लागेपछि गृहतिर ध्यान
सुन्नुहोस्

राजपत्राङ्कित विशिष्ट श्रेणीका सात सचिवलाई पछि पार्दै लीलादेवी गड्तौला मुख्यसचिव बनेकी छन् । हिजो बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठताको सातौँ नम्बरमा रहेकी उनलाई मुख्यसचिव नियुक्त गरेको हो । 

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनासाथ कायम मुकायम मुख्यसचिव बनाइएकी उनी एक हप्तापछि कन्फर्म भइन् । यसरी उनी मुलुकको पहिलो महिला मुख्यसचिवसमेत बन्न पुगिन् । 

तत्कालीन मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि माओवादी नेतृत्वको पूर्ववर्ती सरकारले गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिएको थियो । उनी प्रधानमन्त्री कार्यालयका सचिवहरुमध्ये वरिष्ठ थिइन् ।

तेह्रथुममै जन्मिएका प्रधानमन्त्री ओलीले सोही जिल्लाकी गड्तौलालाई मुख्यसचिव बनाएर पुरस्कृत गरेको टिप्पणी पनि आकांक्षी केही सचिवहरुले गरेका छन् । कनिष्ठलाई निजामती प्रशासनको सर्वोच्च नेतृत्व दिइएपछि केही सरकारी कर्मचारीले ‘सिस्टम ब्रेक’ भएको गाईंगुईं गरेका छन् ।

५८ वर्षे उमेर हदका कारण आगामी भदौ दोस्रो हप्ता अनिवार्य अवकाशमा जान लागेकी गड्तौलाभन्दा सचिवहरु दिनेश भट्टराई, एकनारायण अर्याल,तोया ज्ञवाली,अर्जुन पोखरेल, मधुकुमार मरासिनी,उदय सापकोटालगायत सिनियर छन् । 

गड्तौलाको अवकाशपछि गृहसचिव अर्याल मुख्यसचिव बन्ने सम्भावना प्रबल देखिन्छ । जनआस्थाले केही सचिवसँग प्रतिक्रिया माग्दा सार्वजनिक टिप्पणी गर्न मानेनन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईले ‘अहिले बोल्ने ठाउँ नभएको’ बताए ।

कानुन मन्त्रालयका सचिव उदय सापकोटाले संविधानमै समावेशीताको कुरा रहेकाले यसलाई नकारात्मक रुपमा लिन जरुरी नरहेको आशय व्यक्त गरे । थप टिप्पणी गर्न उनले पनि चाहेनन् । 

बरु आगामी भदौमा गृहसचिव अर्याल मुख्यसचिव नियुक्त भएको अवस्थामा त्यता जान उपयुक्त देखेका केही सचिवहरु दौडधुपमा लाग्ने निश्चित छ । 

प्रधानमन्त्री कार्यालयका कृष्णहरि पुस्कर,नारायणप्रसाद दुवाडी,महालेखा नियन्त्रण कार्यालयका विनोदप्रकाश सिंह,श्रम तथा रोजगार मन्त्रालयका घनश्याम उपाध्याय र सामान्य प्रशासनका मुकुन्दप्रसाद निरौलाले त्यस्तो आश गर्नु अन्यथा पनि भएन । त्यसमा सुदूरपश्चिमको डोटी ससुराली भएका कृष्णहरि र उतैका विनोदप्रकाशबीच धेरै प्रतिस्पर्धा हुनसक्ने आकलन छ । सचिव घनश्यामले पनि नेताहरुको मन यसअघि नै जितिसकेको भन्नेहरु पनि भेटिएका छन् ।

टिप्पणीहरू