माओवादीले सडक र सदनलाई जोड्ने

सुन्नुहोस्

नेपाली कांग्रेस र एमालेबीच सत्ता साझेदारी भएपछि प्रमुख प्रतिपक्षको हैसियतमा पुगेको नेकपा (माओवादी केन्द्र)ले सदन र सडकलाई प्रभावकारी ढंगले जोड्दै जनतामा जाने बताएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले सडक र सदनलाई जोडदै नयाँ तरिकाबाट जनतामा जाने बताए । 

'सदनमा भएका हाम्रा ३२ जना सदस्यलाई गुणात्मक रुपमा प्रभावकारी बनाउने छौँ । हामीले संगठनको रुप पनि त्यसैगरी, जनपरिचालन, संघर्षका रुप पनि नितान्त नयाँ ढंगले अघि सार्नेछौँ’, उनले भने । 

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामायिक राजनीति र आफू नेतृत्वको सरकारले गरेका कामबारे नेताहरुलाई जानकारी गराएको सापकोटाले बताए । राम्रो काम गर्दागर्दै सत्ता समीकरण फेरिएको र यसले पार्टीलाई जनतामा जान ठूलो अवसर मिलेको प्रचण्डको भनाई उनले सुनाए । 

‘अध्यक्षज्यूले दिशानिर्देश गर्नुभयो । हामीले सरकारमा रहेर जे-जति कुरा भ्रष्टाचारबिरुद्ध, सुशासनको पक्षमा जनतालाई सेवा प्रवाह गर्ने, अन्तर्राष्ट्रिय जगतमा कुटनैतिक सन्तुलन मिलाउने कुरामा समग्रमा निकै राम्रो पहलकदमी लिएका थियौँ', प्रवक्ता सापकोटाले भने, 'त्यो लिँदालिँदै समीकरण परिवर्तन भयो । यसले हामीलाई ठूलो ऐतिहासिक अवसर जुटेको छ । जनतमा जाने र कतै न कतै जनतासँगको कडी टुटेको थियो, वर्गसँगको सम्बन्ध कमजोर भएको थियो । त्यसलाई सदृढ गर्ने अवसर आएको कुरा राख्नुभयो ।'

आजको बैठकमा वरिष्ठ उपाध्यक्ष नारयाणकाजी श्रेष्ठ, उपाध्यक्षसमेत रहेका प्रवक्ता सापकोटा, उपमहासचिव वर्षमान पुन, नेताहरु राम कार्की, चक्रपाणि खनाल, हितराज पाण्डेले आफ्ना धारणा राखेका थिए ।

टिप्पणीहरू