माओवादी प्रवेश गरेका ठूला दलका नेताहरुको निचोड : प्रचण्ड सुशासनका नायक

माओवादी प्रवेश गरेका ठूला दलका नेताहरुको निचोड : प्रचण्ड सुशासनका नायक
सुन्नुहोस्

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी २०८४ को आमनिर्वाचन एक्लै लड्ने र जित्ने दाबी गर्नुभएको छ । 

पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो भनाई राख्नुभएको हो । आफू नेतृत्वको सरकारले सुशासनका पक्षमा गरेका कामका आधारमा माओवादीले आगामी चुनाव जित्ने अध्यक्ष प्रचण्डको विश्वास छ ।

 
‘पार्टीको पदाधिकारी बैठक चलिरहेको छ । बैठकमा २०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल भैरहेको छ’, उहाँले भन्नुभयो, ‘यस्तो महत्वपूर्ण समयमा तपाईंहरू पार्टीमा आउनुभएको छ । यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्वपूर्ण सन्देश दिनेछ ।’

१८ महिना सरकारको नेतृत्वमा रहँदा सुशासन, सामाजिक न्यायका पक्षमा अहोरात्र काम गरेको प्रचण्डले सुनाउनुभयो । भन्नुभयो, ‘१८ महिना सरकारको नेतृत्व गर्यौँ । हामीले असार २८ गते सरकार छोड्दा विजयी भएर निस्किएका छौँ । हामी सुशासनका पक्षमा विजय भएर निस्किएका हौं ।’

 
भ्रष्टहरू मिलेर सरकार बनाएको जिकिर दोहोर्याउँदै उहाँले यसबारे आम नागरिकलाई बुझाउन जरुरी रहेकोमा जोडसमेत दिनुभयो ।

पार्टी प्रवेश गर्दै युवा नेता जगदिश दाहालले प्रचण्ड सरकार इतिहासकै सफल सरकारका रुपमा चिनिएको बताए । प्रचण्डलाई सुशासनका नायकको संज्ञा दिँदै उनले त्यहि कारण माओवादी केन्द्रमा प्रवेश गरेको सुनाए ।

कार्यक्रममा नेकपा एमाले, नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत परित्याग गरी मकवानपुर जिल्लाका पाँच दर्जन बढी नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

टिप्पणीहरू