भीमकाय सत्ताहरूको आयु कतिञ्जेल ?

भीमकाय सत्ताहरूको आयु कतिञ्जेल ?
सुन्नुहोस्

एउटा हात्ती र कमिलाबीच को ठूलो र कसले कसलाई ठीक पार्ने भन्ने विवाद र झमेला भएछ । त्यसको निकास केही थिएन । अनि आपसी सहमतिमा दौडने कुरा भएछ । त्यसअघि कमिलाले हात्तीलाई भनेछ, तिमी जति दौड म अगाडि नै हुनेछु । हात्ती छक्क पर्‍यो र भन्यो, यो कसरी सम्भव छ ? बिल्कुल छैन, तिमी मलाई जितेर अगाडि जानै सक्दैनौ, धेरै गफ नगर । कमिलाले थप्यो, भनिसकेँ त, तिमी जति नै छिटो दौड म तिमीभन्दा अगाडि नै हुन्छु । बरु कहिले सानो त कहिले ठूलो हुन्छु । जमिनमा नियालेर हेर्नु, मलाई देख्नेछौ । 

त्यसपछि हात्ती र कमिलाको दौड शुरु भयो । कमिला दौडेजसरी जहीँको तहीँ बस्यो तर हात्ती अगाडि बढ्यो । पछाडि नफर्की हात्ती कुदिरह्यो । निकै पर पुगेर हात्तीले भुइँतिर हेर्‍यो । त्यहाँ त्यही कमिलो थियो । त्यसपछि ऊ झन् आत्तिँदै दौडियो । अलि पर पुगेर फेरि तल हेर्‍यो । त्यहाँ झन् ठूलो कमिलो देख्यो । फेरि अगाडि बढ्यो, त्यहाँ पनि ऊभन्दा अगाडि दौडिरहेको कमिलोलाई देख्यो । त्यसपछि हात्ती गलेर फत्रक्कै भयो । फर्केर अघिकै ठाउँमा फर्कियो । त्यहाँ पुग्दा पनि त्यो कमिलो त्यहीँ देखेर छक्क पर्‍यो । 

एउटा लोककथा हो यो । तर, यसले आजको परिवेशको चित्रण गर्छ । यतिबेला देशमा यस्तै हात्ती र कमिलाको दौड चलिरहेको छ । हात्तीलाई लाग्छ, म सधैँ जित्छु किनभने शरीरले ठूलो छु । ठूलो हुनु नै सबथोक हो भन्ने लाग्छ र ऊ अरू स–साना जनावरमाथि असमान व्यवहार गर्छ । निर्विकल्प व्यवस्था ढलेका उदाहरण भएको देशमा हात्तीजस्तै भीमकाय सत्ताहरूको आयु कति लामो होला ? सायद यो प्रश्नको उत्तर त्यही लोककथाभित्र भेटिन्छ । त्यो कमिलो बुद्धिमान थियो र उसले भीमकाय हात्तीलाई बुद्धिले जित्यो । बुद्धि सानो र ठूलो हुँदैन । चाहे त्यो हात्ती होस् या सिंह, बाघ वा कमिला, भुसुना नै किन नहुन् ?

नेपालमा अहिले त्यस्तै निर्विकल्प व्यवस्थाको शासन चलिरहेको छ । हिन्दी चलचित्रतिर धेरै देखिन्छन् यस्ता दृश्य, जहाँ डनहरू लड्छन् । अनि एकले अर्कालाई जित्न सकेनन् भने मिल्छन् र अर्को डनलाई पछार्छन् । त्यसपछि फेरि एकछत्र शासन गर्छन् । एउटा डनलाई मार्न अरू दुई वटा डन मिलेजस्तै हो, अहिलेको नेपाली राजनीति । सम्झनुस् त, त्यसरी हिन्दी फिल्ममा मिलेका डनले समाजमा कसरी आतंक मच्चाउँछन् ? बरु ती डन नमिल्दा सहज हुन्छ । 

कहीँ–कतै भएको राजनीतिको अभ्यासवाला तर्क कति गर्ने ? बरु त्यसका दुष्परिणाम केलाउनतिर लाग्दा हुन्छ अब । यो सामान्य सिद्धान्त पनि हो कि बाघले बाघको कहिल्यै शिकार गर्दैन । मुसाले मुसा खाँदैन । उनीहरूले गर्ने शिकार अरू नै प्रजातिको हुन्छ । त्यसकारण बुझ्नुपर्ने कुरा के होला भने शक्तिशालीहरू मिलेर सुशासन आउँदैन । बाघ र बाघले मित लगाए भन्दैमा जंगलमा प्राणीको हत्या नहोला भन्न सकिन्न । अरू अझै असुरक्षा बढ्नेछ । 

धेरैलाई अझै पनि लागेको होला । देशमा अस्थिरता अन्त्यका लागि ठूला दल मिलेको राम्रो हो । शासक कडा चाहियो भन्नेहरू पनि होलान् । खासमा शासन कडा चाहिने होइन, प्रशासनचाहिँ कडा चाहिनुपर्ने हो । त्यही त हाम्रो लोकतन्त्रले प्रशासन फितलो र शासन कडा भोगिरहेको छ । अहिले चलिरहेका मुद्दा–मामिलाका प्रक्रियालाई नियालौँ न, देखिहाल्छन् नि शासकहरूका खुट्टी । रवि लामिछानेदेखि दुर्गा प्रसाईंहरूलाई अमुक–अमुक मुद्दामा जाकेपछि आइहाल्छ नि कडा शासन ! 

बाहरूले चलाएको शासन र युवाहरूको जेल यात्रा । अचम्म बेमेल देखिन्छ, यहाँ । उही हात्ती र कमिलाको कथाजस्तै लाग्छ । भीमकाय हात्तीलाई लागिरहेको छ, म अझै बलियो छु । तर, बलियो हुनु र बुद्धिमान हुनु आकाश–जमिनजस्तै हो । बरु कमिलाले आफ्नो पातलो दिमाग खियाउँछ । सत्ता र त्यसको वरिपरिबाट आउने गन्ध अनि लोकतन्त्रको हुर्मत लिने गरी अदालतदेखि प्रहरी प्रशासनसम्मलाई गिजोल्ने भीमकाय सत्ताहरूको आयु लामो हुन्न । 

यहाँ अर्को लोककथा पस्कनु उचित लागिरहेको छ । फेरि एकपटक त्यही हात्ती कमिलासँग निहुँ खोज्न आएछ । अस्ति नै त मलाई तैँले छल गरेर जितिस् । अब कहाँ जित्लास् भनेर चुनौती दिएछ । त्यसपछि कमिलोले भनेछ, ठीक छ । तिमी ज्यानले ठूला छौ, तिमीले चाह्यौ भने त एकै पटकमा मेरो नामोनिशाना रहँदैन । फू गर्दा नै कहाँ पुग्छु, कहाँ । यो मलाई थाहा छ, त्यसकारण भो बलका आधारमा झैझगडा नगरौँ । तिमी नै शक्तिशाली छौ । 

कमिलाको त्यो कुरा सुनेर हात्ती मक्ख पर्‍यो र भन्यो– देखिस् नि ! को ठूलो रहेछ ! कमिलाले कुनै प्रतिवाद गरेन किनभने मूर्खहरूसँग तर्क गर्नुभन्दा चुप बस्नु नै उचित हो । शक्तिशालीको शैली घमण्डवादमा आधारित हुन्छ । जसरी हात्तीले कहिल्यै जितेर पनि जितेन तर कमिलाले आफू हारेर पनि जित्यो । कमिला र हात्तीको सय वटा लडाइँमा ९९ पटक हात्तीले नै जित्ला तर कमिलाले एउटा सुन्दर मौकाको प्रतीक्षा गरेर बसेको हुन्छ । त्यो लडाइँ अन्तिम पनि हुन सक्छ तर ऊ कहिल्यै थाक्दैन । कमिलाले हात्तीको सुँडभित्र पस्न मौका खोजिरहेको हुन सक्छ । त्यसदिन हात्तीलाई कमिलाले पनि पछार्छ । बुद्धिका आधारमा मात्र नभई बलका आधारमा पनि कमिलाले आफ्नो तागत त्यतिबेला देखाउन सक्छ, जतिबेला उसले हात्तीको सुँडको पहिचान गरेको हुन्छ ।

टिप्पणीहरू