नभनी नहुने भयो– थ्यांक यु नीलो स्याल !

क्यालिफोर्नियामा आइतबार दिउँसो कम्प्युटर खोल्दा अनलाइनमा आएका समाचारअनुसार सहकारी ठगीखाने रास्वपाका नेतामाथि संगठित अपराध, सम्पत्ति शुद्धीकरण र सहकारीमा बचत गर्ने भुइँमान्छेको आजीविकाको कमाइ कुम्ल्याएको आरोपमा औपचारिक मुद्दा दायर भएको छ ।
यो कास्की जिल्लाको कुरा हो । यस्ता चार वटा अरू जिल्ला बाँकी छन् । अदालतले रास्वपाका नायकलाई के गर्छ ? यो अहिले लेख्नु ‘सबज्युडिस’ हुन जान्छ । तर नेपालको न्यायपालिकाले जनतालाई त्यसो गर्न छुट दिएको छ भने त्यो अदालतको आफ्नै बिकाउ चरित्रका कारण हो ।
संसारमा कुनै पनि देशका न्यायाधीशहरू आफ्नो नियुक्तिपछि पार्टी नेताहरूलाई दाम राखेर समूहमा स्वस्ती गर्न गएको उदाहरण छैन । नेपालमा त्यो भयो । संसारको कुनै पनि मुलुकमा संवैधानिक आयोग दलहरूको सामथ्र्यका आधारमा दामासाहीले भागबण्डा भएको उदाहरण छैन । नेपालमा त्यो पनि भयो । कुनै पनि मुलुकमा क्रान्तिकारीहरूलाई पेलेर जान लालायित एउटा दरबारिया, गणतन्त्रको स्थापनापछि समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनेको छैन । नेपालमा त्यो पनि भयो । कतै पनि मुलुकमा न्यायपालिका प्रमुख पदमा रहँदै एउटा मान्छे कार्यपालिका प्रमुख भएको उदाहरण छैन । नेपालमा त्यो पनि भइछाड्यो । भारतीय इशारामा नेपालको प्रजातान्त्रिक फोक्सोमा गाडिएको खिलराज नामको त्यो खिल इतिहासमा कालो अक्षरले लेखिनेछ । त्योभन्दा कोइलाको अक्षरले लेखिने अर्को वाक्य हो, नेपालका नेता र जनता प्रजातन्त्रका लागि तयार भइसकेका थिएनन्, छैनन् ।
यी पुराना कुरा भए । अब नयाँ कुरा गरौं । सहकारी ठगी काण्डको दुर्दान्त छायाँनायक रास्वपाको सभापति अब साधारण तारिखमा छुट्नेछ । वा झण्डै ३० करोड धरौटीमा । अथवा ऊ पुर्पक्षका लागि कारागार चलान हुनेछ ! देश चलाउने दुई पैसाको औकात नभए पनि ऊ टिकटक खोल्ने, फेसबुकमा घुम्ने, बाउको घरको भाडा उठाएर खाने र स्थानीय ठेकेदारहरूसँग उठ्तीपुठ्ती गरी मोटरसाइकलमा पेट्रोल हाल्ने एउटा सहरिया वर्गको नेता भएको छ ।
देशको इतिहास थाहा नभएको एउटा युवा वर्ग छ, जो राजा आऊ, देश बचाऊ नारा लगाउनुमा गर्व गर्छ । पञ्चायतकालमा घरमा पानी आउँदैन, पैसा किन तिर्ने भनेर प्रमुख जिल्ला अधिकारीलाई गुनासो गर्दा दुई दिन तीन रात आफ्नो बाउलाई थुनिदिएको कुरा ऊ सुन्न पनि चाहँदैन । तर रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो भन्ने गीत सुन्दा बुर्लुक्क उफ्रिन्छ ।
विदेश जान लालायित वर्ग आफ्नो उत्कण्ठा पूरा नभएपछि अराजकताको कारक हुन्छ । बौद्धिक भनिएको एउटा वर्ग जब सामाजिक सञ्जालमा दुई लाइन लेखेर जिम्मेवारी पूरा भएको आत्मरतिमा रमाउन थाल्छ, ऊ पछिको पुस्ताले अरू के गरोस् ?
सहकारी ठगी खाने रास्वपाको सभापति त्यही वर्गको एउटा नटुवा हो । नेता हेर्न उसको पछि लागेको झुण्ड हेर्नु जरुरी हुन्छ । सडकमा हुल, सामाजिक सञ्जालमा हुलहुज्जत तर सदनमा उपस्थिति शून्य ! यो रास्वपाको चरित्र हो ।
संसद्मा भ्रष्टाचार मामिलामा पाँच वर्षपछि कुनै आरोप लगाउन नपाइने एउटा विधेयक प्रस्तुत भयो । नेपाली कांग्रेसका गगन थापा, एमालेका योगेश भट्टराईलगायत कथित परम्परावादी पार्टीका युवा सांसदहरूले त्यो विधेयकविरुद्ध संशोधन प्रस्ताव दर्ता गराए । नीलो स्यालको रास्वपाले यसबारेमा बोलेन । बाहिर गएर नीलो स्यालले भाषण ग¥यो, ‘पुराना चोरहरूले यस्तो यस्तो विधेयक ल्याउन खोजेका छन्, तर त्यो विधेयक हाम्रो लाशमाथि टेकेर पास हुनेछ ।’
यो लाइनमा ताली बजाउनेहरूले रास्वपाको संसदीय भूमिकामा प्रश्न चिह्न लगाउन आवश्यक ठानेनन् । किनभने, जस्तो नेता उस्तै समर्थक !
ठगिखाने जेल जान लायक एक ठग हो । यो हरफको लेखकले यो कुरा शुरुदेखि भन्दै आएको छ । अझै भन्दैछ । २०४२ सालको सत्याग्रह, बम काण्ड आदि हुँदा भर्खर लेख्न थालेको यो मान्छेले पञ्चायती व्यवस्था ढलेपछि रामराज्यको आरम्भ हुन्छ भन्ने सोचेको थिएन । कांग्रेस, कम्युनिष्ट नामधारी दलका तत्कालीन नेता, कार्यकर्ता पनि चुकेका थिए । तर सहकारी ठगिखानेको हद पार गर्ने त्यसबेला कसैको साहस थिएन, उनीहरू केवल सापट लिएको पैसा बेलामा तिर्न सक्दैनथिए । जनताको बचत लुटेर टेलिभिजनमा माकफुइँ लगाउने औकात थिएन उनीहरूको ।
राजाका गोडा धुने कमल थापा पटकपटक गणतन्त्रकालमा मन्त्री हुनु उनको औकात थिएन । संसदीय अंक (सनक) गणितमा गाई छापलाई प्रयोग गरेर सत्ता रस चाख्ने कांगे्रस–एमालेको कुत्सित रणनीति थियो । नत्र कसले पुछ्ने हो कमल थापालाई ? अमेरिकामा देखिने श्रृंखलाबद्ध आर्थिक, सामाजिक अपराध गरिआएको ठगिखानेलाई वर्तमान प्रधानमन्त्रीले नागरिकताको प्रश्न नै नगरी ‘जागिर’ किन दिए होलान् ? ठगिखानेलाई संसद्मा बचाउनु त्यतिबेला ओलीको बाध्यता थियो । अहिले फसाउनु अर्को बाध्यता । स्वार्थी राजनीतिमा प्राथमिकताको परिभाषा हरेक निमेषमा परिवर्तित हुन्छ ।
थ्यांक यु नीलो स्याल
यी यावत् घटना परिघटनाको साक्षी बनेको नेपाली समाजले रास्वपा नामधारी नर्कट पार्टीको टुप्पोबाट पलाएको एउटा नर्तक नेतालाई धन्यवाद दिनु वाञ्छनीय छ । नीलो स्याल एक उदाहरण बन्नेछ । अमेरिकी नागरिकता बोकेर नेपाली जनताको करबाट चलेको नेपाल टेलिभिजनमा जागिर खान मिल्दैन । (उसलाई त्यो बेला लहडमा जागिर दिने वर्तमान प्रधानमन्त्री कमरेड चेयरम्यान केपी ओलीलाई पनि यस मामलामा कुनै न कुनै कानुनी डोरीले बाँध्नु आवश्यक छ ।) अमेरिकी नागरिकता नत्यागी, नेपाल टेलिभिजनको जागिर छुटेपछि अर्को निजी टेलिभिजनमा गएर नेपालीलाई मनमौजी गाली गर्न मिल्दैन (यो मामिलामा त्यो निजी टेलिभिजनको सञ्चालकलाई पनि कठघरामा उभ्याउनु जरुरी छ )
अमेरिकामा आफ्नो नाममा लन्ठिएको मुद्दा किनारा नलाग्दै नेपाल आएर, गालीगलौजको कार्यक्रम शुरु गर्ने मात्र होइन, ‘तेरो बारेमा यस्तो कुरा आएको छ, बोल्दिऊँ ?’ भन्दै पैसा उठाउने को को हुन् यसको बारेमा पनि छानविन हुनु जरुरी छ (सुरुवात वेलकम एड नामक कम्पनीबाट गरे हुन्छ ) ।
नीलो स्याल पुर्पक्षमा कारागार चलान भएपछि अर्को चरणको छानबिन शुरु हुने बाध्यात्मक परिस्थितिको सिर्जना हुनु अवश्यंभावी छ ।
एकैछिन पर्दा पछाडि लुकेर, आफ्नी पत्नीलाई मन्त्री बनाएर राज्यसत्तामा कबड्डी खेलिरहेका शेरबहादुर देउवाको कुरा गरौं । यो लेखक डिल्लीबजारमा हुर्किएको हो । शेरबहादुर देउवा भन्ने मान्छे मैतीदेवी चोकमा एउटा गन्हाउने कोठा (त्यो पनि अरूकै) मा बस्थ्यो । मुन्तिर छोयला, कचिला र ऐला पसल थियो । झ्यालमा हरियो पर्दा हालेको । त्यो पसलमा सधैं राति कोलाहल हुन्थ्यो । देउवा भन्थे त्यो मान्छेलाई । साहुनीले आधा गिलास रक्सी उधारोमा दिँदा पनि दाह्रा किटेर ‘बेश्याका’ भनेको पटकपटक सुनिन्थ्यो ।
पंक्तिकारले जीवनको पहिलो तलब खाएर काम गरेको पत्रिका साप्ताहिक विमर्शका मण्डले सम्पादक पदम ठकुराठी त्यतिबेला सुदूरपश्चिमेका नाताले देउवालाई पाइन्ट किनिदिन्थे । देउवा आफैं परशुनारायण चौधरीको दानदातब्य र विपिन कोइरालाको वैचारिक लाठीचार्जपछि पञ्चायत छिर्न ठिक्क परिसकेका थिए । गिरिजाप्रसाद कोइराला यो थाहा पाएर पनि हुन्छ भन्ने मनस्थितिमा थिए । कृष्णप्रसाद भट्टराईलाई के लाग्यो कुन्नि ? उनले बेलायती राजदूतलाई भनेर देउवालाई लण्डन स्कूल अफ इकोनोमिक्समा अल्मलिने वातावरण बनाइदिए । उनको कामै अल्मलिने थियो । त्यसैले पढेनन् । नायिका करिश्मा मानन्धरका ससुरा ईश्वर मानन्धरको रेस्टुरेण्टको धनसारमा एउटा थोत्रो खाट थियो । दिउँसोभरि देउवा गफमा मस्त हुन्थे (नेपालीमा, अंग्रेजी बोल्न अलि अप्ठ्यारो थियो) , बेलुकी मातेर त्यहाँ घुप्लुक्क सुत्थे ।
२०४६ सालमा नेपालबाट युरोपमा आन्दोलनको वातावरण बनाउन पुगेका कांग्रेसी कार्यकर्ता मनमोहन भट्टराईले कुनैबेला यो लेखकलाई भनेको सम्झना दोहो¥याउने हो भने, ‘शेरे लठ्ठक थियो । राजाले मार्छ । म किन जाने?’ भन्थ्यो ।
शेरबहादुरलाई त्यतिबेला कृष्णप्रसाद भट्टराईकै आग्रहमा बीबीसी नेपाली सेवाका तत्कालीन प्रमुख मणि राणाले अल्पकालीन जागिर पनि दिएका थिए । नेपालमा बहुदलीय व्यवस्था आउने पक्का भइसकेको थियो । मणि राणाले एकपटक देश सञ्चार चौतारीमा भने अनुसार, ‘अब नेपाल फर्किने होइन ?’ भन्दा देउवाको जवाफ थियो, ‘प्रधानमन्त्री दिनेभए जान्छु, नत्र मलाई यतै ठीक छ नि !’
यस्तो मान्छे नेपाल आएर गृहमन्त्री भयो । राजासँग मिल्यो । पार्टी फुटायो । जनआन्दोलनमा कहिल्यै सहभागी भएन । आज ऊ नेपालीको भाग्यविधाता बनेको छ । आफ्नो स्वास्नीको मातहत नेपालमा राणाशासन फर्काउन लागेको छ ।
झापा आन्दोलनमा टाउको काटेको र १४ वर्ष जेल बसेको कीर्तिमानबाहेक के हो ओलीको योगदान ? ओली जेलबाट छुटेपछि नेपालमा दुईवटा निर्णायक जनआन्दोलन भए । २०४६ सालमा उनको भूमिकाबारे कसैलाई थाहा छैन । जे थियो, त्यो राधाकृष्ण मैनालीको किताबमा छरपष्ट छ । मदन भण्डारीको अवशानपछि माधव नेपालको अत्याचारको शिकार ओली अध्यक्ष भैसकेर पनि अझै आफ्नो पुरानो घाउको आलो रगत चाटेर प्रतिशोधको खेल खेल्न व्यस्त छन् । झिनामसिना कुरामा रिस साँधेर बस्ने मान्छे राजनेता हुन सक्दैन भने केपी ओली पनि राजनेता हुन योग्य छैनन् ।
भारण्ड पक्षी
केपी ओली र शेरबहादुर देउवा दुवै भारण्ड पक्षी हुन् । दुई टाउको तर एउटै पेट भएको एक तिलस्मी पक्षी । एउटाले खाएको विष अर्कोलाई लाग्छ । त्यसैले महाकाली सन्धि गरेको दिनदेखि नै यी दुवै एकअर्काको मुखको स्वाद र पेटको स्वास्थ्यका बारेमा सचेत हुँदै आएका छन् । २०५१ सालपछि नेपाली कांग्रेस र नेकपा एमालेबीचमा काले कामी र कामी काले (राजनीतिक त्रुटिको अर्थ नलागोस्, यो नेपाली सांस्कृतिक अभिव्यक्तिको अर्थमा हो) को मात्रै भिन्नता छ । तर मतदाता विभाजित छन् । मतदाता मूर्ख हुन् कि अज्ञानी ? नेपाली मनोविज्ञान पर्गेल्नु परेको अवस्थामा सुकरातले समेत आफ्नो मृत्युअघि नै विषपान गर्ने थिए ।
अहिलेलाई नेपाली प्रजातन्त्रको छारो उडाएर सत्ता कब्जा गरेका यी दुई खलनायकका बारेमा चर्चा गरौं । यी दुवै तानाशाह हुन् । यिनलाई प्रजातन्त्रमा विश्वास छैन । संसद्मा आफ्नो कार्यगत बहुमत छ भने हामीले जे गरे पनि हुन्छ भन्ने अभिमानले यी दुवैलाई छोपेको छ । तर समय यिनले सोचेझैं हुने छैन । सहकारी ठगिखानेको सम्भावित जेलयात्राले अब अरू जेलयात्राको ढोका खोल्नेछ ।
२०८१ को वैशाखमा नेपाल वाच नामक अनलाइन न्युज पोर्टलले एउटा समाचार छाप्यो, ‘शेरबहादुर आरजु पुत्र जयवीर देउवाको नाममा चार वर्षभित्र नेपालभरि ७३ रोपनी जग्गा दर्ता भयो ।’ नेपाललाई माया गर्ने, सुशासनका पहरेदार धेरैले यो समाचार बिर्सिसके । यो समाचारको खण्डन गर्दै आरजु देउवाको सचिवालयले एउटा विज्ञप्ति जारी गरेको थियो । त्यसको दाबीअनुसार काठमाडौं चपलीको दुई रोपनी जग्गा र घर आरजुले दाइजोमा पाएको सम्पत्ति नामसारी गरिएको हो । बर्दियाको जग्गा पनि त्यस्तै हो । कास्की ढिकुरपोखरीको जग्गा भने ‘भीर पाखामा’ थियो र ‘जम्मा’ २ लाख प्रतिरोपनीमा किनेको हो । त्यो भीरपाखाको जग्गा किन्ने ४४ लाख जयवीरले कताबाट पाए ?
उनले त्यो बेला महिलाको न्याप्किन आयात गर्ने कम्पनीमा लगानी गरिसकेका थिएनन् । मुसाले खाएको सीसीटीभी काण्डमा बजेट हेरफेर गर्दा उनको कम्पनीलाई आयातमा ९० प्रतिशत छुट दिइएको थियो । विनोद चौधरी र आरजु देउवाको मिलिभगतमा भएको त्यो काण्डमा प्रचण्डको लाज जोगाउन तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राजीनामा नै दिनुप¥यो । यो मामिलामा सबै तैं चुप मैं चुप छन् । जयवीरले बजेट संशोधनपछि आठ वटा कन्टेनरमा ल्याएको ४० करोड थान महिलाको महिनावारी प्याड नेपालमा खपत भयो कि भारत तस्करी भयो ? त्यो बेला बहालवाला प्रचण्ड त बोलेनन् । अबको प्रधानमन्त्री महिला हुनेछिन् भन्ने ओलीले के बोल्लान् ? समाचारभित्रको समाचार पढ्न नजान्ने पाठक सधैं कुहिराको काग हुनेछन् ।
बहालवाला प्रधानमन्त्री केपी ओलीको के कुरा गराई भो र ? कम्युनिष्ट राजनीतिबाट उदाए पनि सत्तामोह र व्यक्तिगत नाम लिप्साले ग्रस्त यी लिम्बुवानका कुमाइ बाहुन आफ्नो स्वार्थ मुताविक जो सुकैसँग जता पनि पल्टिन सक्ने खुबी भएका यस्ता पात्र हुन्, जसलाई जसले पत्यायो, उसैले धोका खाने पक्का छ । माधव नेपालको पार्टी तानाशाहीविरुद्ध वामदेवलाई उपयोग गरे । आज वामदेवको पत्ता साफ छ । दश भाइको नियति के बोलाई भो र ?
देश कोरोनाले आक्रान्त थियो, ओली जनतालाई बेसारपानी खाएर ठीक पार्न आह्वान गर्दै ओम्नी काण्डमा दस्तखत धस्काउँदै थिए । यती ग्रुपलाई राजाको खजाना उडाएको कुरा त एकदिन पक्कै संसदीय छनबिनको विषय बन्नेछ । गिरीबन्धु ती इस्टेटको त अहिले एउटा पातलो पात पनि उप्किएको छैन । त्यो खोतलिएपछि ओलीको हालत के हुन्छ ? त्यो कुरा त्यहाँ लगानी गर्नेलाई सोधे थाहा हुन्छ ।
खुशी हुनुपर्छ
परदेशमा बसेर यी हरफ लेख्दा मलाई खुशी लागेको छ । अब ठगिखाने नीलो स्याल जेल जान्छ । उसको अर्को विकल्प छैन । त्यसपछि उसकै कारणले जनतामा व्याप्त तीन दशक पुरानो असन्तोषको बाँध फुट्नेछ । शेरबहादुर देउवाको कुनै नैतिक, सामाजिक र आर्थिक औकात थिएन । तर ऊ आज अर्बपति भएको छ । केपी ओली चप्पल छाप जँड्याहा हो जेलबाट छुटेपछि, राधाकृष्ण मैनालीको कृपामा साँझ सरोवर गर्ने झोले । पुष्पकमल दाहालले कथित जनयुद्धताका लुटेको पैसा शुरुमा अजेय सुमार्गीलाई लुटाएर बहीखाता मिलाए पनि अब सुमार्गीको ठाउँमा विदेशका बलिया बांगा कुमार्गीहरू उनको वरिपरि घुम्दैछन् ।
ओली, देउवा र दाहाललाई पैसा आवश्यक छैन । नेपालमा त छँदै छैन । उनीहरूको पैसा विदेशमा छ (यसको पनि तपसिल दिन सकिन्छ । फोकटमा भनेको होइन), ओलीलाई आफ्नो विरासत सुरक्षित छ भन्ने लाग्न सक्छ, जो सपना हो । दाहाल र देउवाको पैसा केही काल सुरक्षित हुन सक्छ । तर नीलो स्यालको मुद्दाले जायज किनारा पाउने हो भने देउवा र दाहालको पनि खैरियत छैन । सवाल जनता जाग्ने हो कि अर्को ठगिखाने जस्तै देवदूतको प्रतीक्षामा हो भन्ने प्रश्नमा निर्भर छ ।
टिप्पणीहरू