गर या मर गगन ! बेला यही हो

गर या मर गगन ! बेला यही हो

गत साता मैले फेसबुकमा एउटा पोष्ट गरेँ ।  ‘कांग्रेसको हुने भनिएको अधिवेशनमा सभापति पदका निम्ति गगन थापा, शेखर वा शशांक कोइराला, खड्का र निधि ‘लड्ने’ कुरा देखावटी हो । भूराजनीतिक तराजुमा प्रतिस्पर्धाचाहिँ अमेरिका र भारतको हुँदैछ । एमालेमा ओली र पोखरेल जो आएपनि चीन, भारत र अमेरिकालाई फरक पर्दैन । लामो गन्थन छोटकरीमा समाप्त !’

मेरो भनाइमा प्रतिक्रिया दिँदै वरिष्ठ पत्रकार÷साहित्यकार हरि अधिकारीले लेख्नुभयो, 

‘राजेश, तिमी पनि ?’ यहाँ पार्टीलाई नयाँ सोच र शैलीका साथ समयानुकूल परिवर्तन गरी अघि बढ्नु पर्छ भन्दै देशभरिका कांग्रेस कार्यकर्ता र समर्थकहरू गोलबद्ध भएका छन् । तिमी भने कांग्रेसभित्र भारत र अमेरिकालाई घुसेड्दै छौं ।’
त्यसको एक साताअघि डा. लोकराज बरालले एउटा अन्तर्वार्ताको क्रममा भन्नुभएको थियो, ‘यो तालले पार्टी चलाउनुभन्दा बरु कांग्रेस फुटेकै बेस ।’

हरि अधिकारी र लोकराज बरालको भौतिक कदकाठी होचो भए पनि दुवै जना आ–आफ्नो क्षेत्रको शिखरमा झण्डा गाडेर बसेका मुलुकका सम्मानित व्यक्तित्व हुन् । मलार्ई थाहा भएसम्म दुवैजना कांग्रेसको ‘कार्यकर्ता’ होइनन् तर प्रजातन्त्रप्रति अगाध निष्ठा भएका कारण आगामी फागुनमा चुनाव भयो भने तिनले गर्ने मतदान कांग्रेसकै उम्मेदवारको पक्षमा जाने भने पक्का छ । तर झण्डै आठ दशकदेखि नेपाली राजनीतिमा अधितिष्ठ दल कांग्रेसप्रति किन यी दुवै जनाको विपरीत धारणा हुन गयो ? हरि अधिकारी अझै आशावादी हुँदा लोकराज बराल निराश ! किनभने इतर प्रजातान्त्रिक सोचका स्वतन्त्र व्यक्तिहरूले कांग्रेसलाई केही समय बेवास्ता गर्न सक्छन् तर बिर्सिहाल्न सक्दैनन् । उनीहरूसँग बिकल्प नै थिएन । छैन ।

गर या मर 

कांग्रेस गर या मरको स्थितिमा छ । पुस्तान्तरणको मुद्दा बोकेर अन्तरपार्टी संघर्षमा उत्रिएको युवा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको जोडीले अहिले एउटा मोर्चा मात्र जितेको हो । युद्ध त रूपान्तरणपछि मात्र जितिनेछ । 

गगन थापाले प्रस्तुत गरेको कार्यतालिकालाई छुट्टीमा रहेका सभापति देउवाका टीके कार्यवाहक सभापतिले निषेध गरे । अब नियमित महाधिवेशन गर्ने नयाँ कार्यतालिका आएको छ, त्यो पनि शेरबहादुर देउवाको पहलमा । कांग्रेसले प्रजातन्त्रको बिगुल जति फुकेपनि यो दलमा आन्तरिक प्रजातन्त्रको हविगत टिठ लाग्दो छ । अन्यथा विधानअनुरूप ५४ प्रतिशतले विशेष महाधिवेशनको समाव्हान गरिसकेपछि त्यो विचारको कदर हुने थियो तर शेरबहादुर देउवाको आशिर्वाद प्राप्त कथित दोश्रो पुस्ताका सात भाइको स्वार्थमा यसले प्रतिकूलता सिर्जना गर्ने निश्चित थियो । 

महाधिवेशन एक वर्ष लम्ब्याउँदा सात भाइलाई देउवाको टिकट लिएर फागुनमा हुने भनिएको चुनावमा उम्मेदवार हुने बाटो खुला हुन्थ्यो । तर, विशेष महाधिवेशन वा नियमित नै भएको अवस्थामा कांग्रेसका यी सात ऐँजेरुको खेल खलास हुने सम्भावना बलियो छ । यो कुरा सबै कांग्रेसीले बुझेका छन् । 

एकपटक यी ऐंजेरुका अनुहार हेरौं, कृष्णप्रसाद सिटौला । नेपाल विधिको शासन भएको मुलुक हुन्थ्यो भने यी व्यक्ति नेपाल प्रहरीका पूर्व महनिरीक्षकहरूसँगै डिल्लीबजार चारखालको खोरमा जाकिनुपर्ने व्यक्ति हुन् । सुडान घोटाला प्रकरणमा मातहतका प्रहरी अधिकारीलाई बलिको बोको बनाएर आफू राजनीतिमा निष्कन्टक रहने शक्ति उनलाई कसरी प्राप्त भयो ? कांग्रेसको आन्तरिक राजनीतिक समीकरण र गणतन्त्रपछि मुलुकमा मौलाएको भ्रष्ट संस्कारले उनलाई जोगाएको सबैलाई थाहा छ । तर, सबै चुप छन् । जो बोल्छन्, सुनुवाइ हुने प्रणाली छैन । कांग्रेसले उनलाई किन बोक्ने ?

विमलेन्द्र निधिको कुनै बेला जुन राजनीतिक पुँजी थियो, त्यो खुत्रुकेको पिंधमा भ्वाङ परिसकेको छ । भारतलाई खुशी पार्ने उनको चेष्टाका प्रत्युत भारतबाट नेपालमा काठ तस्करी गर्न आएर नक्कली नेपाली नागरिकता लिएको आरोपित मधिशे नेता राजेन्द्र महतोले चुनावमा हराइदिए । अब मधेशमा विमलेन्द्रका पिता महेन्द्रनारायणको बिरासत कायम छैन । विमलेन्द्रको राजनीतिक आधार खस्किएको छ । देउवाको कृपाबाहेक अरू टेक्ने–समाउने ठाउँ छैन । कांग्रेसले उनलाई किन बोक्ने ?

सबै कांग्रेसका लौहपुरुष गणेशमान सिंहका निम्ति कुनै बेला हरिबोल भट्टराई लौरो थिए तर प्रकाशमान सिंह छोरा मात्रै हुन् । काठमाडौं कांग्रेसमा उनको वर्चस्व बाबुका नामको बिरासतले कायम गरेको हो । उनले नेताका रूपमा राखेको पछिल्लो कीर्तिमान राप्रपाका प्रतिगामी उम्मेदवार रविन्द्र मिश्रलाई दुई सय कम भोटको अन्तरले हराउनु मात्रै हो । काठमाण्डौ महानगरपालिकाको चुनावमा पत्नी सिर्जनाको बालेन साहसँगको लजास्पद पराजयले राजधानीमा उनको राजनीतिक पकडको सवाई कहेको छ । पटक पटक उपप्रधानमन्त्री र ‘मालदार’ मन्त्रालयको मन्त्री भएर पनि आफ्नो कर्मको छाप छोड्न सकेका छैनन् । कांग्रेसको नेतृत्वमा उनलाई अझै कायम राख्नुपर्ने आधार के हो ?

शशांक कोइरालाको पहिचान बिपी कोइरालाको कान्छा पुत्र हुनुबाहेक एक अब्बल नेत्र चिकित्सकको थियो । उनी सक्रिय राजनीतिमा आएपछि समाजले कुशल राजनीतिज्ञ पाउनु त टाढाको कुरा, एक चिकित्सकबाट पाई आएको सेवा पनि गुमायो । पटक–पटक अत्याधिक मतले विजयी यी सांसदले संसदमा एक शब्द बोलेको रेकर्ड छैन तर देउवाले दिएको ‘कोटामा’ भ्रष्टाचारी करार जलश्रोतमन्त्री दीपक खड्कालाई पत्रम पुष्पमका आधारमा ठाउँमा पु¥याएको आरोपको छिनोफानो हुन बाँकी छ । कोइराला परिवारको हिङ नभए पनि हिङ बाँधेको टालो बोकेर उनको राजनीति कति दिन चल्छ ? 

विजय गच्छदारले ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा दरवारसँग मिलेर आफ्नै साथीहरूको पोल नखोलेको भए उनी पनि शेरबहादुर देउवा, चिरञ्जीवी वाग्ले र जयप्रकाशप्रसाद गुप्तासँगै शाही आयोगको खोरमा हुनेथिए । सुनसरीमा कुनै बेला बाघ कहलिएका गच्छदारको अहिलेको अवस्था एमालेकी एक सामान्य थारू कार्यकर्तासँग चुनाव हारेको मुसाको जस्तो छ । तर, शेरबहादुर देउवाको कोटरीमा उनको पहँुच किन छ ? किनभने उनीसँग श्रोत नखुलेको तर व्यापारीहरूले बिभिन्न ठाउँमा लगानी गरेको अकूत धनराशी छ । बदलिएको परिस्थितिमा कांग्रेसले चाहेको नेता विजयकुमार गच्छदार जस्तै हो ? 

गोपालमान श्रेष्ठको कुनै राजनीतिक पुँजी बाँकी छैन । शेरबहादुर देउवाको सान्निध्यबाहेक कुनै सान्दर्भिकता नरहेको कुरा उनी स्वयंलाई ज्ञात छ । तर राजनीति नशा र पेशा दुवै हो । यसबाट मुक्त हुन सजिलो छैन । रह्यो, प्रकाशशरण महतको कुरा । जीवनमा कहिल्यै चुनाव नजितेका, समानुपातिक सिटको कृपा र अर्की समानुपातिक सांसद देउवा पत्नी आरजू राणाको स्वार्थका कारण मन्त्री भएका उनको ल्याकत देउवा दरवार वरिपरी लाभदायी होला, पार्टीमा छैन । 

पुस्तान्तरण कि रूपान्तरण ?

जेनजी पुस्ताको आवरणमा राज्यका सम्पूर्ण प्रणाली ध्वस्त तुल्याउने हदको विध्वंश कसले गरायो ? यसको तथ्य गौरीबहादुर कार्की आयोगले खुलासा गर्ला । तर यसको पृष्ठभूमि तयार गर्न नेपालको सबैभन्दा पुरानो र जिम्मेवार ठानिएको दल कांग्रेसको नेतृत्व कति जिम्मेवार छ ? कांग्रेसको रूपान्तरण गर्ने अभियानमा जुटेको गगन थापा र विश्वप्रकाशको जोडीले निर्मम समीक्षा गर्नु जरुरी छ । ओली र देउवाको ओदे सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनु त ऊँटले बोकेको बोझको अन्तिम परालको त्यान्द्रो मात्रै थियो । कुशासन आरम्भ गर्ने पहिलो श्रेय त कांग्रेस प्रधानमन्त्रीका रूपमा शेरबहादुर देउवाले एकाउन्न सालमा शुरु गरेको सत्ता गठबन्धनको फोहोरी राजनीतिलाई नै जान्छ । सांसद र विशिष्ट तहका कर्मचारीलाई भन्सार छुटमा गाडी किन्ने सुविधा (पजेरो काण्ड), सांसद किनबेचका निम्ति कुख्यात सुरासुन्दरी काण्ड, बैंकक काण्डका प्रणेता शेरबहादुर देउवा नै हुन् । 

गणतन्त्रको स्थापनापछि संसदीय अंक गणितमा खेल्दै, घोर असैद्धान्तिक गठबन्धन गर्दै कांग्रेसको मूल्य, मान्यता र आदर्शलाई धुलिसात गरेर सत्ताप्राप्तिलाई एक मात्र गन्तब्य बनाउने देउवाको गैरराजनीतिक कृत्यले कांग्रेसलाई दलबाहिरका समर्थकहरूबाट टाढा पु¥याएको कुरा कसैबाट लुकेको छैन । श्रव्यदृश्य माध्यमको घोर दुरूपयोग गरेर उदाएको नीलो स्यालरूपी रास्वपाको ‘नेता’ ले गाली गरेकै भरमा कांग्रेसको बाह्र लाख भोट काटिदियो । तैपनि कांग्रेसी कार्यकर्ताको आँखा खुलेन । 

कांग्रेससँग सैद्धान्तिक रूपले आकाश र पातालको दूरी हुँदाहुँदै माओवादीसँग चुनावी गठबन्धन गर्ने शेरबहादुर देउवाको एकल निर्णय उनका कोटरी सात भाइले आँखा चिम्लेर अनुमोदन गर्दा गगन–विश्वको झिनो विमति सुनिए पनि त्यसले कुनै परिणाम दिन सकेन । पछिल्लो समय मध्यरात पार्टीका पदाधिकारीहरूसँग एक शब्द सल्लाहसमेत नहुँदै देउवा सपत्नी बालकोट पुगेर केपी ओलीसँग सत्ता साझेदारी गरेको घटना नेपाली संसदीय प्रजातान्त्रिक पद्धतिका निम्ति एक निर्मम झट्का थियो । भुटानी शरणार्थी बेचबिखन प्रकरण उफानमा पुग्दा पत्नी जोगाउन ओलीको शरण पर्नु देउवाको व्यक्तिगत बाध्यता हुनसक्छ तर त्यसका निम्ति सिंगै कांग्रेस शहीद हुनु आवश्यक थिएन । दलका युवा महामन्त्रीद्वयले यो गम्भीर र दुराशययुक्त रणनीतिक दाउपेचका बारेमा अखबार पढेर थाहा पाउनु झन् उदेकलाग्दो कुरा थियो । तर त्योभन्दा आश्चर्यजनक कुरा हो, गगन थापा आफै ओदे सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रका सदस्य भैदिए । यो उनको जीवनकै घातक रणनीतिक चुक थियो । 

 कांग्रेसका पूर्वसांसद, हाल निवर्तमान स्वतन्त्र सांसद अमरेशकुमार सिंह पडकास्टहरूमा दिनको चारपटक फतर फतर बोल्न कहलिएका मान्छे हुन् । उनका कतिपय कुरा रोमाञ्चक सुनिएपनि ती तथ्यमा आधारित हुन् भन्ने ठम्म्याउन सजिलो हुँदैन । यद्दपी, गगन थापा ओदे सरकारको बिरोधमा हुँदाहुँदै उच्चस्तरीय राजनीतिक संयन्त्रमा कांग्रेसको प्रतिनिधित्व गर्न किन राजी भए ? अमरेशकुमारको आफ्नै सिद्दान्त छ । उनले कुनै एक अन्तर्वार्तामा बोलेको कुरा अक्षरशः यस्तो थियो –

‘शेरबहादुर देउवालाई राष्ट्रिय भाउजू बचाउने बाध्यता थियो । हतारमा ओलीसँग हात मिलार्ई हाले । सल्लाह गर्ने समय थिएन । तर दलको बैधानिकता आवश्यक थियो । त्यसैले गगन थापालाई फकाए । के भने भन्देखी, हेर भाइ, म अब फेरि सभापति हुने होइन । मेरो छोराले राजनीति गर्न सक्दैन । कांग्रेसको सत्तरी–पचहत्तर वर्षको ईतिहासमा संधै बाहुनमात्रै सभापति हुँदै आएका छन् । म पहिलो क्षेत्री हुँ । अबको पालो तिम्रो हो । अनि गगन मानिहाले ।’

अमरेशको यो कुरा आफ्नै कल्पनाको उपज गफाडीको गफ पनि हुनसक्छ । तर हुँदै होइन भन्ने पनि आधार छैन । राजनीतिमा हरेक दाऊपेच जायज हुन्छ भने यो कुरा पनि भनिएको, सुनिएको र बिचारिएको होइन भन्ने के आधार ?

कोइरालाहरू समस्या कि समाधान ?

राजनीति बक्ररेखामा हिँड्ने एक दुरुह र धोखापूर्ण यात्रा हो । देउवाको भान्सामा पाकेको तरकारीको स्वाद चाख्ने सात भाइबाहेक अर्का एक भाइ पनि छन् । पूर्णबहादुर खड्का । उनी मन्त्री भएर पनि कुनै विवाद र भ्रष्टाचारमा नमुछिएका नाम हुन् । उनको देउवाप्रतिको निष्ठा नाजवाफ छ । बाँकी सात भाइमध्ये कसैलाई पनि मतदाता त टाढाको कुरा, समग्र कार्यकर्तासमेत नेताका रूपमा स्वीकार गर्न तयार छैनन् । सात भाइलाई गत साता बत्तीसपुतलीको अनुपम फुडल्याण्डमा आयोजित देउवा समर्थक भेलाले चेतावनी दिएको छ, ‘तिमीहरू झगडा नगर । एक जना सर्वस्वीकार्य सभापतिको टुंगो लगाऊ । बाँकी तिमीहरू पदाधिकारी हुने आशा पनि नगर । समय हाम्रो पक्षमा छैन । विचार गर ।’ 

अर्कोतिर कोइराला खानदानको अपेक्षा कांग्रेसको आन्तरिक खिचातानीको अर्को महत्वपूर्ण पक्ष हो । कांग्रेसको स्थापनाकालदेखि नै यो दलमा कोइरालाहरूको वर्चस्व रहेको छ । पिताजी कृष्णप्रसाद कोइरालाका तीन सन्तान प्रधानमन्त्री भएका छन् । जेठा मातृकाप्रसाद कोइराला कांग्रेसले सात सालमा गरेको क्रान्तिका ‘डिक्टेटर’ थिए । कांग्रेसकै प्रधानमन्त्रीका रूपमा पछि क्रान्तिलाई धोका दिए । मुलुकको प्रधानमन्त्री भइसकेको मान्छे दरवारको ईशारामा अमेरिकाको राजदूत बनेर गए । उनको ईतिहास अर्कै छ । तर माहिला बिपी र कान्छा गिरिजाप्रसाद कांग्रेसको पक्षमा सतिसालझैँ उभिए तर उनीहरूको व्यक्तिगत ईतिहासको पनि तुलना हुन सक्दैन । 

अब कोइराला खानदानबाट कांग्रेसको बागडोर सम्हाल्न लालायित तीन जना छन्– शेखर, सुजाता र शशांक । सुजाताको सान्दर्भिकता सकियो भन्दा अतिशयोक्ति हुँदैन । बाँकी रहेका शेखर र शशांक जुटे पनि, फुटे पनि गगन थापाका निम्ति चुनौती हुन् । कांग्रेसको अघिल्लो संसदीय दलको चुनावमा शेखरले गगन थापालाई देउवाविरुद्ध समर्थन गरेर एक रणनीतिक पासा खेलेका थिए । उनलाई थाहा थियो, यो नजित्ने चुनाव लड्नुको अर्थ छैन । उनले गगनलाई अघि सारेर एक सन्देश दिए तर देउवालाई मत दिनेहरूले मत मात्रै दिएनन् । आफूले दिएको मतको फोटो मोबाईल फोनमा खिचेर देउवा पत्नी आरजू राणालाई देखाए । 

सत्तरी कटिसकेका शेखर कोइरालालाई यसपटक यस्तो रणनीतिक खेल खेल्ने सुविधा छैन । देउवा खेलको मैदानबाट बाहिर भैसकेको स्थितिमा उनको महत्वाकांक्षामा पखेटा लाग्नु स्वाभाविक हुन्छ । शेखर कोइराला सत्ताको कोइलाखानीमा छिरिसकेका छैनन् । त्यसैले उनको सेतो कुर्तामा दाग लागिसकेको पनि छैन । कोइराला पक्षधरहरूबाट पार्टी सत्ताको उत्तराधिकार फिर्ता लिनुपर्ने दवाव छ उनीमाथि । 

यस अवस्थामा गगन थापाका निम्ति कांग्रेस महाधिवेशनका युवा प्रतिनिधिले मात्रै सहज वातावरण निर्माण गर्न सक्छन् । महाधिवेशन प्रतिनिधिमध्ये ५४ प्रतिशतले गगन र विश्वको आव्हानमा विशेष अधिवेशनको माग गरिसकेको अवस्थामा उनले निराश भैहाल्नुपर्ने अवस्था पनि छैन । तर नेपाली राजनीतिमा रातारात रुख पलाउँछ । शेखर कोइराला देउवाभन्दा तुलनात्मक रूपमा भारतसँग नजिक मानिन्छन् । शुरुमा अमेरिकी कूटनीतिका कारण सत्ताको शिखरमा पुगेका देउवाले कालान्तरमा भारतकै पोल्टामा खेलेको उदाहरण छ । गगन थापालाई अमेरिकी ‘एसेट’का रूपमा प्रचारित गरिएको छ भने त्यो पनि एक रणनीतिकै अंग हो । नेपालका बारेमा भारतले केही बोल्नुअघि नै भारतका लागि बोलिदिने नेपाली नेताहरू देशमा थुप्रै छन् । जेनजी नामक भीडले सांघातिक आक्रमण गरेपछि एक महिनाका लागि सिङ्गापुर गएका देउवाले उपचार मात्रै गरे भन्न मुश्किल छ । यस अघि पनि भारतीय दूतसँग देउवाको गोप्य कुशलमंगल गर्ने थलो सिङ्गापुर नै थियो । पासा कता पल्टिन्छ, हेर्न बाँकी छ । 

तर हेर्न बाँकी अर्को महत्वपूर्ण पक्ष हो, के कांग्रेस आफूलाई रूपान्तरित गर्न तयार छ ? के गगन थापा यो हाँक स्वीकार्न सक्षम छन् ? अहिले नेपालको अर्थतन्त्र बिपीले भनेजस्तो ‘हरेक घरमा एउटा दूध दिने गाई होस्’ शैलीको अर्थतन्त्रबाट चल्दैन । कांग्रेस आफ्नो परम्परागत समाजवादी धारणालाई परिमार्जन गर्न तयार छ ? कांग्रेसको परराष्ट्र नीति के हो ? बिपिन जोशीलाई ईजरायलबाट हमासले बन्धक बनाउँदा नेपालले संयुक्त राष्ट्रसंघमा हमासको पक्षमा मतदान गरेको काम ठीक थियो वा बेठिक ? एमसीसी र बिआरआई प्रकरणमा कांग्रेसको स्पष्ट धारणा के हो ? विरोधाभाष केवल देउवाको स्वार्थको निम्ति थियो वा कांग्रेसको नीति नै यही हो ? पूर्णबहादुर खड्का आउन् वा शेखर वा गगन, कांग्रेसले आफ्नो मार्गचित्र स्पष्ट नगरेसम्म यो दल भैंसी आहाल बस्ने पोखरी नै रहनेछ । जेनजी नामक कथित आन्दोलनपछिको परिदृश्यमा कांग्रेसका निम्ति गगन थापाभन्दा अर्को पात्र उपयुक्त देखिंदैन तर के गगनसँग अल्पकालीन युक्ति र दीर्घकालीन रणनीति छ ? यो सवा लाखको प्रश्न हो ।
 

टिप्पणीहरू