प्रधानमन्त्रीको पछिल्लो सुझावको पनि नयाँ पुस्ताद्वारा आलोचना

प्रधानमन्त्रीको पछिल्लो सुझावको पनि नयाँ पुस्ताद्वारा आलोचना

नेपाली समाजमा एउटा उखान छ,‘टाउकोको दुखाई, नाइटोको दबाई ।’ रोजगारीको अभावमा युवापुस्ता भौतारिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले विवाह गरेर बच्चा जन्माइहाल्नु भनेपछि उक्त प्रसङ्ग निकालिएको हो ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले २० वर्षको उमेरमा विवाह गर्न र छिटो सन्तान जन्माउन सुझाव दिनुभएको छ । मुलुकको जनसंख्या वृद्धिदर अति न्यून रहेको उल्लेख गर्दै उहाँले २० को हाराहारीमा विवाह गरेर छिटो बच्चा जन्माउन नयाँ पुस्तालाई सुझाउनुभएको हो ।
    
प्रधानमन्त्रीले भन्नुभयो, ‘२०–३० वर्षको उमेरमा बिहे गर्नुस्, छिट्टै बच्चाबच्ची पाइहाल्नुस् । त्यसो गरेपछि जबमा लागेपनि भयो, बाहिरफेर गएपनि भो । बच्चाबच्ची हुर्किँदै गर्छन् । फ्युचर जेनेरेसनको कुरा गर्ने । फ्युचर भन्या पैसा हो ? पैसाले फ्युचर हुन्छ ? फ्युचरका लागि त बालबच्चा चाहिएला नि ।’ 

उहाँले भविष्यमा नेपाल ज्येष्ठ नागरिक मात्रै रहेको मुलुक बन्ने जोखिम औंल्याउनुभएको छ । उहाँको उक्त भनाइले युवापुस्तामाझ एक किसिमको बहस शुरु भएको छ । प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति धेरैले आलोचना गरेका छन् । भविष्यलाई पैसासँग दाँज्न नमिल्ने बताइरहँदा पछिल्लो समय विवाह र सन्तानको कुरोमा पैसो नै मुख्य विषय बनेको छ । 

आम्दानीको गतिलो स्रोत नहुनेले विवाहको कल्पना गर्न नपर्ने अवस्था नेपाली समाजमा देखिन थालिसकेको छ । परिवारको आर्थिक भार वहन गर्न नसक्ने भएपछि युवापुस्ताको विवाहप्रति आकर्षण नदेखिएको हो । प्रधानमन्त्री ओलीले बच्चा पाएपछि विदेश जान युवापुस्तालाई सुझाव दिनुभएको छ । 

मूलतः सन्तान जन्माएपछि आमाबुवा नै विदेश गएमा बच्चाको हेरचाहको मुख्य जिम्मा कसले लिन्छ ? यो सल्लाहलाई धेरैले हचुवाको संज्ञा दिएका छन् । ‘सिङ्गल लाइफ’ जिउन गाह्रो परेको बेलामा विवाह गरेर सन्तान जन्माउन को अग्रसर होला ? 

सुरेश शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भिजन यस्तो पो हुनुपर्छ बा । अब कसरी नबन्ला नेपाल । २० वर्षमा बिहे गर्ने अनि एउटा–दुईटा प्रोडक्ट गरिहाल्ने अनि लाग्ने विदेशतिर । हे भगवान् के पारा हो ।’ विकास मिश्रले भनेका छन्,‘२० वर्षमा बिहे गरेर बुढी र सन्तानलाई कसले पालिदिन्छ । जे मनलाग्यो त्यही बोल्ने । २० वर्षसम्म त पढ्नै लाग्छ । करियर बनाउन समय लाग्छ । अनि पहिले नै बिहे कसरी गर्ने ? देशमा बस्ने वातावरण छैन् । बिना कमाइ बिहे गर्यो डिभोर्स हुन्छ । सरकारको युवाप्रति कुनै चासो र सरोकार नै छैन । देशको हालतअनुसार हेर्ने हो भने त बिहे ५० वर्षपछि गर्नुपर्छ ।’

प्रधानमन्त्रीको भनाईलाई असान्दर्भिक बताउँदै सामाजिक सञ्जालमा लेखिएको छ, ‘सिङ्गल लाइफ त नेपालमा बसी खान मुस्किल छ, कुन आधार र तथ्यमा टेकेर यस्तो भन्न सकेको होला । २० वर्षमै विवाह गरेर धेरै छोराछोरी जन्माएर त कसले पाल्दिने हो र ? जसलाई एक छाक हातमुख जोर्न गाह्रो परिरहेको छ यो देश नेपालमा । जसलाई विदेश गएर घर चलाउन परिरहेको छ, उसलाई होनि चिन्ता ।’

किसन सिंह लेख्छन्, ‘तिमीहरुले देश डुबाइसक्यौ अनि जनताले छोराछोरी जन्माएर विदेश पठाउन । अहिले जनतालाई एक जना छोरा वा छोरी पाल्न गाह्रो भइरहेको छ, तिमीहरुको कारणले । १८ वर्ष पुग्दै कतार, मलेसिया, साउदी, दुबईतिर जानुपरेको छ ।’

चाँदनी नेपाल भन्छिन्, ‘२० वर्ष त के २३–२५ वर्षमा मान्छेले ब्याचलर सकेको हुँदैन । त्यसपछि रोजगारीको लागि कि विदेश कि लोकसेवा लड्दालड्दै उमेर ढल्केको पत्तो हुँदैन । पढाइ सक्नेबित्तिकै रोजगार मिल्छ भन्ने ग्यारेन्टी हुँदैन, कि त रोजगार सिर्जना गरिदिएका छौ तिमीले ? फेरि जब पाउनेबित्तिकै बिहे हुन्छ भन्ने छ र ? भनेजस्तो केटी वा केटा पाउनुपर्यो, पहिलेजस्तो जमाना छ र १६–२० वर्षमा बिहे गर्यो । छोराछोरी जन्मायो । न पढाउनुपर्ने थियो न त कुनै मँहगी थियो । आफैं त बाउआमाको कमाइमा बाँच्नुपरेको छ ।’

समस्या एउटा, सरकारी रटान अर्कै

 कुन उमेरमा विवाह गर्ने ? कुन उमेरमा सन्तान जन्माउने ? यस विषयमा बेलाबखत बहस भइरहन्छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ११ को दफा १७३ ले २० वर्ष नपुगी गरिएको विवाहलाई बालविवाह भनेको छ । 

उपदफा १ मा भनिएको छ, ‘विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन ।’ २० वर्ष नपुगिकन गरेको विवाह स्वतः खारेज हुने र सो कसूर गर्नेलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । उक्त कानुन बन्नुअगाडि १६ वर्षमै विवाह गर्न पाउने व्यवस्था थियो । 

अध्ययन पूरा नहुने, परिपक्वता र रोजगारी नभइसकेको सानो उमेरमा बच्चा जन्माउँदा महिलाको स्वास्थ्य खतरामा पर्ने भएकाले विवाह गर्ने उमेर बढाइएको हो । स्नातकोत्तर सकिँदा कम्तीमा २५ देखि २७ वर्ष पुग्छन् । १६ वर्षमा बल्ल माध्यमिक शिक्षा परीक्षा पूरा हुन्छ । १२ सकाउँदा १८ वर्ष हुन्छ । त्यसपछि स्नातक र स्नात्तकोत्तर गर्नैपर्यो । अनि बल्ल रोजगारीको सुरसार हुन्छ । जागिर पाउन हाम्रोमा महाभारत छ । 

आफू ‘स्टेबल’ नभएसम्म कसरी विवाह गर्ने ? हरेक युवालाई चिन्तित बनाएको विषय हो यो । फेरि सन्तान जन्माएर मात्र पनि भएन । उनीहरुको पालनपोषण, शिक्षा र स्वास्थ्यमा ध्यान दिनै पर्यो । त्यसका लागि आम्दानीको स्रोत चाहियो । मुलुकमा बस्ने र कमउने वातावरण कम हुँदै गएको छ । 

आफ्ना नागरिकलाई रोजगारीको सुनिश्चितता गर्नु सरकारको दायित्व हो । तर, सरकार आफ्नो दायित्वबाट पन्छिरहेको छ । रोजगारीकै निम्ति दिनहुँ दुई हजार नेपालीले मातृभूमि छाडिरहेका छन् ।

दुधे बालक यता, आमा विदेशमा 

विवाह सामाजिक परम्परा हो । विवाह नगरी, बच्चा नजन्माएसम्म कुनै पनि समाज चल्दैन । तर, मुलुकको अवस्थाका कारण युवापुस्ता विवाहप्रति अरुची देखाउँदै छन् । विवाह गरेपनि अधिकांश बच्चा जन्माउन चाहँदैनन् । बच्चाको लालनपालन युवापुस्ताका लागि टाउको दुखाईको विषय बन्दै गएको छ ।

सन्तान जन्माएर मात्र बुवाआमाको दायित्व पूरा हुँदैन । ‘पहिले सन्तानले डाँडाकाँडा ढाकुन्’ भनेर आशिष दिइन्थ्यो । तर, अहिले एक जना सन्तान पाल्नै बुवाआमालाई हम्मेहम्मे पर्न थालेको छ । 

बालबालिकाका लागि गर्नुपर्ने खर्च र दायित्व बढ्दै गएको छ । खान, लाउन, शिक्षा, स्वास्थ्यमा ठूलो खर्च जुटाउनुपर्ने हुन्छ । महिनाभरको कमाइले छोराछोरी पढाउन नसक्ने स्थिति बनिसकेको छ । सन्तानलाई राम्रो भविष्यका लागि बुवाआमा विदेश पलायन हुनैपर्ने अवस्था सिर्जना हुँदै छ ।

त्यसका लागि मुटु गह्रौं बनाएर अभिभावकहरु विदेशिएका छन् । सामाजिक सञ्जालमा त्यस्ता थुप्रै हृदयविदारक भिडियो र फोटो देख्न सकिन्छ । केही समयअघि सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा आफ्नो सन्तानको उज्जवल भविष्यका लागि विदेश पलायन आमालाई सन्तानले चिनेन । 

आमाले सन्तानलाई आफ्नो काखमा लिन खोज्दा पनि सन्तान जानै नमानेको सो दृश्यले धेरैको आँखा रसाउनु स्वाभाविक हो । विमानस्थलमा वाध्यताले भएको पारिवारिक बिछोडको दृश्य दिनहुँ देखिन्छ । बालबालिकाहरु सानै उमेरमा आमा र बुबाको माया ममता, स्याहारसुसारबाट वञ्चित हुन थालेका छन् । 

होस्टलमा छोराछोरी 

बुवाआमा दुवै रोजगारीका लागि बाहिर हुँदा बालबालिका सानैदेखि होस्टलमा बस्न बाध्य छन् । न आमाले मातृत्वको अनुभव गर्न पाएका छन् न सन्तानले अभिभावकको माया । काखे शिशु छाडेर महिलाहरु वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता बढेको छ । 

सक्षमपछि विवाह गर्नुपर्छ : अधिकारकर्मी 

महिला अधिकारकर्मी जस्मिन ओझा आफू सक्षम भएपछि विवाह गर्नुपर्ने बताउँछिन् । विवाह गर्न उमेर तोक्नुभन्दा पनि आफैं सोचविचार गरेर गर्नु ठीक भएको उनको भनाई छ । ‘विवाह सामाजिक परम्परा हो । आफू परिपक्व भएपछि विवाह गर्नुपर्छ । विवाह गर्नुअघि आफ्नो परिवार पाल्न सक्छु भन्ने हुनुपर्यो’,उनले भनिन् ।

टिप्पणीहरू