भालुवाङमा रविका कार्यकर्ता भाउन्न

भालुवाङमा रविका कार्यकर्ता भाउन्न

अध्यक्ष काण्डै काण्डमा मुछिँदा र सत्तालाई मात्र केन्द्रमा राख्दा पार्टीको लोकप्रियता घट्दो क्रममा रहेको भन्दै कार्यकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको चर्को आलोचना गरेका छन् ।

लुम्बिनी प्रदेशको राजधानी भालुवाङ पाखापानीमा साउन २५ र २६ गते सम्पन्न दुई दिने बन्द कार्यशालामा कार्यकर्ताले नेतृत्वमाथि नैतिकताको प्रश्न उठाएर सुध्रिन चेतावनी दिएका छन् ।

लामिछानेले सहकारीका निक्षेपकर्ताको रकम हिनामिना हुने गरी पैसा खाएको र सरकारमा शक्तिशाली उपप्रधान तथा गृहमन्त्री हुँदासमेत ठग्नेहरूलाई सेक्न नसकेको हुँदा उनकै संलग्नतासमेत हो कि स्पष्ट हुन भनेका थिए । कार्यकर्ताले नो नट अगेन भन्दै नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबिरुद्ध गत निर्वाचनमा अभियान चलाएकोमा उनै दलको पिछलग्गु भएर सरकारमा गएकोमा निकै कडा आलोचना गरे । उनीहरूले अर्को आम निर्वाचनभन्दा अगाडि २०८४ सम्म सरकारमा जानै नहुने कसम खानुपर्ने लिखितै प्रस्ताव पारित गरी अध्यक्ष लामिछानेलाई पठाएका छन् ।

प्रदेश स्तरीय कार्यक्रम गरेको रास्वपाले प्रदेश सभा खारेज गर्नुपर्ने मुख्य प्रस्ताव पारित गरेको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने गरी शासकीय स्वरूप बनाउनुपर्ने जोडदार माग पनि प्रदेश कार्यशालाको छ । पार्टी नेतृत्व सरकारमा जान नपाउने, सरकारमा जाने भए पार्टीको जिम्मेवारी अरु नेतालाई दिनुपर्ने प्रस्ताव पारित गरेको कार्यशालामा कार्यकर्ताहरूले अध्यक्ष लामिछानेलाई स्टण्ट देखाउने मात्र होइन, जनजीविकाको सवाल, ग्रामीण तथा पिछडिएको क्षेत्रका आवाज सशक्त रूपमा उठाउन सुझाव दिए । 

महामन्त्री मुकुल ढकालमाथिको कार्वाहीमा उनको ब्यक्तिगत व्यवहार जिम्मेवार रहेको प्रदेश कार्यशालाको ठहर छ । प्रदेश सभापति देवराज पाठकको अध्यक्षतामा सम्पन्न कार्यशालामा केन्द्रीय सदस्य एवं सांसद लक्ष्मी तिवारी, केन्द्रीय सदस्य कुसुम महर्जन, प्रशिक्षण विभाग सचिव कमल सुवेदीले पनि बोलेका थिए । केन्द्रीय कार्यक्रमअनुसार सातै प्रदेशमा एकैपटक भएको कार्यशालामा प्रदेशभरका केन्द्रीय, प्रदेशस्तरीय र जिल्लाका गरी ६२ जना अगुवा युवाको भेलालाई लामिछानेले भर्चुअल सम्बोधन गरेका थिए ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू