नवऔपनिवेशिक पुँजीवादको संकट र समाधान (भाग ३)

नवऔपनिवेशिक पुँजीवादको संकट र समाधान  (भाग ३)

पूर्णबहादुर सिंह ‘समरजंग’

एकाधिकार पुँजीवाद

पुँजीवादी एकाधिकारको प्रारम्भ सन् १८६९ मा कार्टेलको प्राग्इतिहास थियो । आधुनिक एकाधिकारको प्रारम्भ १९ औँ शताब्दीको ७ औँ दशकबाट सुरु भएको थियो । सन् १८७३ को सङ्कटपछि ठूलो परिवर्तन सुरु भएको थियो । अल्पकालीन तेजीलाई छोडेर युरोपमा २२ वर्षसम्म त्यो कायम थियो । यो सङ्कटको चिहानमा सबै कार्टेलहरूको दुर्दशापूर्ण अन्त्य भएको थियो । त्यसपछि व्यापारको अवस्था खराब थियो । कार्टेल आन्दोलनले आफ्नो दोस्रो युगमा पाइला टेकेको थियो । त्यसपछि कार्टेलहरू एक अनित्य घटना हुनुको साटो सम्पूर्ण आर्थिक जीवनका आधार बन्न गएका थिए । कच्चा पदार्थको प्रशोधन क्षेत्रमा कार्टेलको राज फैलिन थालेको थियो ।

एकाधिकारको इतिहासमा मुख्य चरणहरू (क) एकाधिकारको कोपिला देखापर्न थालेका थिए । (ख) सन् १८७३ को सङ्कटपछि कार्टेलहरूको विकासको लामो अवधि सुरु ठोस नभएर अस्थायी थियो । (ग) १९ औँ शताब्दीको अन्त्यतिर तेजी र सन् १९००–१९०३ को सङ्कट । कार्टेलहरू सम्पूर्ण आर्थिक जीवनको एक आधार बनेका थिए । पुँजीवाद साम्राज्यवादमा परिणत भएपछि कार्टेलहरू बिक्रीका सर्तहरू र चुक्तिका म्यादबारे सम्झौता गरेका थिए । खपतका क्षेत्रहरू आपसमा बाँडचुँड, सामानको मात्राको आपसमै निर्णय, मूल्य निर्धारण र औद्योगिक संस्थानहरूलाई नाफा बाँड्ने गरेका थिए ।

पुरानो पुँजीवादको समयमा जब खुला प्रतियोगिताको पूर्ण आधिपत्य कायम थियो । वस्तु– निर्यात यसको लाक्षणिक विशेषता थियो । पुँजीवादको नवीनतम् चरणमा जब एकाधिकारको आधिपत्य कायम हुन गयो । पुँजीको निर्यात यसको लाक्षणिक विशेषता थियो । २० औँ शताब्दीको सङ्घारमा एकाधिकारको सिर्जना भयो । पहिलो, सबै विकसित पुँजीवादी राष्ट्रहरूमा पुँजीपतिहरूका एकाधिकारी संघहरू थिए । दोस्रो, केही अत्यन्त धनी राष्ट्रहरू एकाधिकारी स्थितिमा थिए ।

त्यसबेला पुँजी सञ्चयले व्यापक रूप लिएको थियो । विकसित देशहरूमा पनि व्यापक मात्रामा ‘फाल्तु पुँजी’ देखा पर्न थाल्यो । जबसम्म पुँजीवाद रहन्छ, तबसम्म फाल्तु पुँजी कुनै राष्ट्र विशेषका आमजनताको जीवनस्तर उठाउनका लागि नभएर पुँजीपतिहरूको नाफा कमाउन प्रयोग गरिन्छ । फाल्तु पुँजी पिछडिएका राष्ट्रहरूमा पुँजीको निर्यात गरेर नाफा बढाउनका लागि प्रयोग गरिन्छ ।

संसारका अधिकतम देशहरूमाथि साम्राज्यवादी उत्पीडन तथा शोषणका लागि  धनी देशहरूको पुँजीवादी परजीविताका लागि ठोस आधार थियो । वित्तीय पुँजीले एकाधिकारी युग जन्मायो । एकाधिकारीहरूले खुला बजारमा लाभदायक लेनदेनका लागि ‘सम्बन्धहरू’ उपयोग गरिरहेका थिए । आज वित्तीय पुँजीले आफ्नो जाल संसारभरि फैलाइरहेको छ । वित्तीय पुँजीले विश्वको विभाजनबाट कब्जा गरिरहेको छ । पुँजीवादी देशहरूको औपनिवेशिक नीतिले विश्वका अनधिकृत क्षेत्रहरूमाथि आधिपत्य जमाउने काम पूरा गरिरहेको छ ।                                                                                     

हब्सनले साम्राज्यवादसम्बन्धी आफ्नोे लेखमा सन् १८८४–१९०० सम्मको अवधिलाई मुख्य–मुख्य युरोपेली राष्ट्रहरूद्वारा तीव्रतम् क्षेत्रीय विस्तारको युगमा छुट्ट्याएका थिए । बेलायतले ३७ लाख वर्गमिल इलाकामाथि कब्जा गरेको थियो । त्यसको आवादी ५ करोड ७० लाख थियो । फ्रान्सले ३६ लाख वर्गमिल इलाकामाथि कब्जा गरेको थियो र त्यसको आवादी ३ करोड ६५ लाख थियो । जर्मनीले १० वर्गमिल इलाकामाथि कब्जा गरेको थियो । त्यसको आवादी १ करोड ४७ लाख थियो । बेल्जियमले ९ लाख वर्गमिल इलाकामाथि कब्जा र आवादी ३ करोड थियो र पोर्चुगलले ८ लाख वर्गमिल इलाकामाथि कब्जा र त्यसको आवादी ९० लाख थियो ।

कूटनीतिक तथा विदेश नीतिसम्बन्धी इतिहासमा समस्त पुँजीवादी राष्ट्रहरू उपनिवेशको पछि लागेका थिए । त्यस बेला पहिलो अर्धऔपनिवेशिक देशहरूको श्रेणीमा फारस, चीन र टर्की थिए । सन् १८७६ पछि औपनिवेशिक क्षेत्रहरूको विस्तार तीव्र गतिमा बढेको थियो । बेलायत, रुस, फ्रान्स जर्मनी, अमेरिका र जापानको सबैभन्दा शक्तिशाली सत्ताहरूको औपनिवेशिक क्षेत्रफल ४ करोड वर्गकिलोमिटरबाट बढेर ६ करोड ५० लाख वर्गकिलोमिटर पुगेको थियो । १९ औँ र २० औँ शताब्दीमा पृथ्वीको विभाजन पूरा भइसकेको थियो । लेनिनले एकाधिकार नै पुँजीवादको एक उच्चतम् व्यवस्थामा सङ्क्रमण हो । पुँजीवादको एकाधिकारी अवस्था नै साम्राज्यवाद हो । विश्वको विभाजनको अर्थ कुनै पनि पुँजीवादी शक्तिद्वारा अनधिकृत क्षेत्रहरूमा निर्वाध रूपले विस्तारित औपनिवेशिक नीतिबाट विश्वको पूर्णतः विभाजित क्षेत्रमाथि एकाधिकारी स्थापनाका लागि अनुसरण गरिने औपनिवेशिक नीतिमा सङ्क्रमण हो भनेर स्पष्ट गर्नुभएको थियो ।

‘बैंकहरू र तिनको नयाँ भूमिका’ उपशीर्षकमा लेनिनले ‘पैसा भुक्तानीमा मध्यस्थ गर्नु नै बैंकहरूको मुख्य र आधारभूत काम हो । यस सिलसिलामा उनीहरू निष्क्रिय मुद्रा पुँजीलाई सक्रिय पुँजीमा परिणत गर्छन् त्यसबाट नाफा कमाउन सकिन्छ । उनीहरू सबै किसिमका मुद्रा जम्मा गर्छन् र पुँजीलाई पुँजीपति वर्गको हातमा सुम्पिदिन्छन् । जतिजति बैंक, व्यवसाय विकसित हुँदै जान्छ र अन्त्यमा थोरै प्रतिष्ठानहरूमा केन्द्रित हुँदै जान्छ, त्यति बैंकहरू सानातिना मध्यस्थताको भूमिका निर्वाह गर्न छोडेर शक्तिशाली एकाधिकारहरूको रूप धारण गर्दै जान्छन् र उनीहरूको हातमा त्यस देशका समस्त पुँजीपति तथा साना–साना मालिकहरूको लगभग समस्त मुद्रा पुँजी र सम्बन्धित देशको तथा अन्य कैयौँ राष्ट्रहरूको उत्पादनका साधनहरू एवम् कच्चापदार्थका स्रोतहरूको अधिकांश भाग केन्द्रित भएको हुन्छ ।

बहुसंख्यक साना–साना मध्यस्थहरू मुठीभर एकाधिकारीहरूमा परिणत हुने यो प्रक्रिया नै पुँजीवादी विकास पुँजीवादी साम्राज्यवादमा पुग्ने एक आधारभूत प्रक्रियाको द्योतक हो । ठूला बैङ्कहरू साना–साना बैङ्कहरूलाई बाहिर धकेल्छन् । कैयौँ साना–साना बैङ्कहरू एक किसिमले ठूल्ठूला बैङ्कहरूको शाखामा परिणत भइसकेका हुन्छन् । यो आधुनिक पुँजीवादी केन्द्रीकरणको एउटा सबैभन्दा महत्वपूर्ण लाक्षणिक विशेषता हो ।’ भनी एकाधिकार पुँजीवादको विकास र विशेषताका बारेमा उल्लेख गर्नुभएको थियो ।

लेनिनले उन्नाईसौँ शताब्दीमा नै उत्पादनको केन्द्रीकरण र एकाधिकारबारे स्पष्ट उल्लेख गर्दै पुँजीको केन्द्रीकरण र बैङ्कहरूको लेनदेनमा हुने वृद्धि, मुठ्ठीभर एकाधिकारीहरूले सम्पूर्ण पुँजीवादी समाजको समस्त क्रियाकलाप, व्यापारी एवम् औद्योगिक कारोबार आफ्नो अधीन राखेका हुन्छन् । मुठ्ठीभर एकाधिकारीहरूको दबाब सयौँ गुणा बढी, गह्रौँ, पीडाजनक र असह्य हुन्छ भनेझैँ अवस्था आज हाम्रो मुलुकका आमजनताले बेहोरिरहेका छन् । उहाँले प्रतियोगिता एकाधिकारमा परिणत हुन्छ । फलतः उत्पादनको सामाजीकरणको दिशामा व्यापक प्रगति हुन जान्छ । विशेषतः प्राविधिक आविष्कार एवम् सुधारहरूको प्रक्रियामा सामाजीकरण प्रारम्भ हुने त्यसमा उत्पादन सामाजिक र उपभोग निजी नै रहन्छ  भनेर बताउनुभएको थियो । उहाँले सङ्केन्द्रण प्रक्रियाको फलस्वरूप सम्पूर्ण पुँजीवादी अर्थव्यवस्था जुन मुठ्ठीभर बैङ्कहरूको हातमा पर्न जान्छ र एकाधिकार नै बैङ्क व्यवसायको अन्तिम रूप तथा आतङ्कवादी क्रियाकलापमा उत्रने बताउनुभएको थियो ।

आज मुलुकमा वित्तीय शोषण, भ्रष्टाचार, तस्करी, कालोबजारी, महँगी, कमिसनतन्त्र, मूल्यवृद्धि, बेरोजगारी, प्रवासन र विभिन्न काण्डहरू महामारी एवम् आतङ्कका रूपमा फैलिरहेका छन् । एकाधिकारका चार मुख्य रूपहरू पहिलो, उत्पादनको केन्द्रीकरण विकासको उच्चतम् खुड्किलो एकाधिकार हो । कार्टेलहरू, सिन्डिकेटहरू तथा ट्रस्टहरू । दोस्रो, कच्चापदार्थका स्रोतहरूमाथि कब्जा, कार्टेलीकृत र गैरकार्टेलीकृत उद्योगहरूबीच पारस्परिक विरोधाभासहरूलाई चर्काइदिएको थियो । तेस्रो, एकाधिकारलाई बैङ्कहरूले जन्माएका थिए । सम्पूर्ण आर्थिक एवम् राजनीतिक संस्थाहरूमाथि निर्भरताको एक बाक्लो जाल बिछ्याइदिएको थियो । चौथो, एकाधिकार औपनिवेशिक नीतिबाट पैदा भएको थियो । औपनिवेशिक नीतिका ‘पुराना’ उद्देश्यहरू– वित्तीय पुँजीले कच्चापदार्थका स्रोतहरूका लागि, पुँजी निर्यातका लागि, प्रभाव क्षेत्रहरूका लागि र फाइदाजनक लेनदेन, कन्सेसन, एकाधिकारी नाफाका लागि थिए । साम्राज्यवाद मरणासन्न पुँजीवाद नै हो । आज एकाधिकार अति एकाधिकारमा विकसित भएको छ । एकाधिकार पुँजीवाद– मुर्दावाद ! वैज्ञानिक समाजवाद– जिन्दावाद !

भूमण्डलीकृत पुँजीवाद

विश्व साम्राज्यवादको एकाधिकारवाद, नवऔपनिवेशवाद, वित्तीयकरण, नवउदारवाद र समग्र आर्थिक स्रोत–साधन, प्रविधि तथा संयन्त्रहरूको भूमण्डलीकरण गरेर भइरहेको छ । विज्ञान तथा सूचनाप्रविधिमा क्रान्ति एवम् विकास भइरहेको छ । सूक्ष्म यान्त्रिकी, कृत्रिम बौद्धिकता र डाटा पुँजीवादले गम्भीर चुनौती एवम् महान् सम्भावनाको क्षितिज खोलिरहेका छन् । आधुनिक विज्ञान तथा सूचनाप्रविधिमा भइरहेको विकास विश्वका विशाल संख्यामा रहेका श्रमिक जनसमुदायको सस्तो श्रमसँग जोडिएको छ । त्यसले आवश्यकताको संसारबाट स्वतन्त्रताको संसारमा छलाङ मार्न सुनिश्चित गरिरहेको छ ।

आधुनिक विज्ञान तथा सूचनाप्रविधिका कारण आज सिङ्गो विश्व एउटा गाउँमा परिणत भइरहेको छ । त्यसले विश्वको जुनसुकै स्थानमा हुने सकारात्मक तथा नकारात्मक घटनालाई प्रभावित गरिरहेको छ । त्यसले आमश्रमिक जनताको चेतना एवम् प्राविधिक ज्ञानमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । आज विकेन्द्रित उत्पादन तथा केन्द्रित वितरणको सामाजिक प्रक्रिया विश्वव्यापीकरणले काम र आवश्यकताअनुसारको वितरणको भौतिक पूर्वाधार तयार भइरहेको छ । साथै वर्गअन्तरविरोधलाई विश्वसाम्राज्यवाद र उत्पीडित राष्ट्र एवम् जनताबीचको अन्तरविरोधले नयाँ क्रान्तिको वस्तुगत परिस्थिति निर्माण गरिरहेको छ । इन्टरनेटको सञ्जाल विकासले अर्बौं मानिसलाई जोडिरहेको छ । मानिसको ज्ञानलाई साझा बनाइरहेको छ ।

सूचनाप्रविधि, ऊर्जा र यातायातमा भएको क्रान्तिले पुँजीवादका दुई आधारस्तम्भ– निजी सम्पत्ति र नाफामा आधारित नवउदारवादी बजार अर्थव्यवस्थाको औचित्य समाप्त भइरहेको छ । सूचनाप्रविधिको विकास र विश्वव्यापीकरणले सेकेन्ड वा मिनेटमा कम्युनिस्ट विचारधाराको विश्वव्यापी प्रचार–प्रसार एवम् प्रवाह गर्न सम्भव छ । यो वैज्ञानिक समाजवादी जनक्रान्तिका खातिर चुनौती र महान् सम्भावना पनि हो । भूमण्डलीकृत पुँजीवादको समाधान पनि वैज्ञानिक समाजवादी जनक्रान्ति नै हो ।

 क्रमशः
 

टिप्पणीहरू