भारतीय प्रधानमन्त्रीलाई पनि अनेक आपत्

भारतीय प्रधानमन्त्रीलाई पनि अनेक आपत्
सुन्नुहोस्

युक्रेनबाट फर्केलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका छन् । मोदीले गत शुक्रबार राजधानी किभ पुगेर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।

गत जुलाईमा भारतीय प्रधानमन्त्रीको रुस भ्रमणको क्रममा मस्कोमा राष्ट्रपति पुटिन र प्रधानमन्त्री मोदीबीच त्यस्तै भेटवार्ता भएपछि युक्रेनले भारतसँग असन्तुष्टि जनाएको थियो । अहिले किभबाट नयाँ दिल्ली फर्केपछि राष्ट्रपति पुटिनसँग भएको टेलिफोन वार्तालाई मस्कोको असन्तुष्टि सम्बोधनका लागि गरिएको प्रयासको रुपमा लिइएको छ । भारतीय विदेश मन्त्रालयले दुई नेताबीचको टेलिफोन संवादमा रुस–युक्रेन युद्ध र शान्ति प्रयासबारे कुराकानी भएको जनाएको छ । यसबारे भारतीय प्रधानमन्त्रीले सामाजिक सञ्जाल एक्समा पनि लेखेका छन् । 

पुटिनअघि भारतीय प्रधानमन्त्री मोदीको अमेरिकी राष्ट्रपति जो बाइडेनसँग टेलिफोनमा कुराकानी भएको थियो । युक्रेनबाट फर्केपछि अमेरिकी र रुसी राष्ट्रपतिसँग भएको भारतीय प्रधानमन्त्रीको टेलिफोन वार्तालाई अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषकहरुले विभिन्न ढंगले व्याखा गरेका छन् । भारतले युक्रेन युद्धमा आफूलाई तटस्थ राख्न खोजे पनि पछिल्ला घटनाक्रमले उसलाई परिस्थितिले अचेट्दै लगेको अनुमान गर्न सकिन्छ ।

टिप्पणीहरू