पसिनाको मूल्यबारे कहाँ लेख्नुहुन्छ मान्यज्यूहरू ?

पसिनाको मूल्यबारे कहाँ लेख्नुहुन्छ मान्यज्यूहरू ?
सुन्नुहोस्

सहकारी संस्थाको बचत रकम हिनामिना काण्डमा मुछिएका रास्वपा सभापति तथा पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले संघीय संसदका सांसदहरूलाई मज्जैले अल्मल्याइदिएका छन् । सांसद सूर्य थापा संयोजक रहेको विशेष छानबिन समितिमा बयानका लागि शुक्रबार दिउँसो ३ बजे पुगेका रवि बयानको कागजमा सही गरेर राति डेढ बजे बल्ल घर फर्किएका थिए । उनले बयानको क्रममा सांसदहरूलाई दिउँसै रात पारिदिएको कसैले भेउ नै पाएनन् ।

सांसदहरूले उनलाई ४० भन्दा बढी रेडिमेड प्रश्न सोधेका थिए । सो क्रममा रविले गोर्खा मिडियामा आफू प्रबन्ध निर्देशक हुँदा आर्थिक र व्यवस्थापकीय सबै जिम्मेवारी अध्यक्ष जिबी राईकै रहेको पटक–पटक दोहो¥याए । अंग्रेजीमा म्यानेजिङ डाइरेक्टर भनिने पदमा बसेका उनले सबै नराम्रा कामको दोष र भागिदारी अध्यक्षतर्फ पन्छाउँदा विद्युत् प्राधिकरणका कुलमान घिसिङतिर हेरे पुग्छ । कुलमानको पद पनि म्यानेजिङ डाइरेक्टर नै हो । उनले नै उक्त संस्था चलाएका छन् । जबकि प्राधिकरण अध्यक्षको भूमिका नीतिगत निर्णयमा बढी हुने गर्छ ।

गोर्खा मिडियामा पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, बुटवलको सुप्रिम र चितवनको सहारा सहकारीबाट दुई अर्ब बढी रुपैयाँ अवैध लगानी गरिएको प्रहरी अनुसन्धानबाट खुलिसकेको छ । त्यसमा रवि, जिबी र छविलाल जोशीको प्रत्यक्ष संलग्नता र खेलोफड्को रहेको यसअघि बयान दिनेहरूले नै बताइसकेका छन् । रविले समितिलाई जिबीको विगतबारे केही थाहा नभएको बनावटी जवाफ पनि दिएका छन् । जबकि नेचर हब्र्सदेखिको उनीहरूको व्यावसायिक सम्बन्धबारे ग्यालेक्सी टेलिभिजनको पाँचतारे होटल हायातमा गरिएको ग्राण्ड ओपनिङसम्म आइपुग्दासम्म धेरैलाई थाहा छ । तर, शुक्रबार रातिसम्म सांसदहरूलाई पासपोर्ट तथा नागरिकता काण्डमा झैँ बेचन झा शैलीमा एउटै जवाफ दिए ‘थाहा छैन, थाहा भएन, उनीहरूले नै जानुन् ।’ गोर्खा मिडियामा लगानी गरिएको एक लाख ८० हजार कित्ता शेयर स्वामित्वबारे उनले निकै बाठो हुँदै भने, ‘त्यो स्वेट शेयरबापत हो । मासिक ५ लाख तलबसहित स्वेट शेयर दिइएको थियो।’ 

रविले जिकिर गरेको स्वेट शेयरको परिभाषालाई नेपालको कम्पनी ऐन २०६३ (पहिलो संशोधन २०७४) ले फिटिक्कै चिन्दैन । उक्त ऐनमा कुनै पनि कम्पनीमा लगानीकर्ताहरूको हैसियत संस्थापक शेयरधनी र साधारण शेयरधनीको मात्र हुने उल्लेख छ । कम्पनीले नाफा भएको अवस्थामा नगदको सट्टा प्रदान गर्ने शेयरचाहिँ बोनस हो । 

लामिछानेले दाबी गरेको स्वेट शेयर अर्थात् पसिनाबापतको शेयर कुन–कानुनमा छ ? यसबारे हाम्रा कानुन निर्माताहरूले उनलाई समितिमा दोहोरो प्रश्न सोधेको पाइएन । जबकि रविले पहिलेदेखि स्वेट शेयरबारे सामाजिक सञ्जालमा पनि लेख्दै आएका छन् । उनको केही पहिलेको स्टाटसमा भनिएको छ, ‘मैले शुरुदेखि नै स्वीकार गर्दै आएको छु, ग्यालेक्सी टिभी सञ्चालन गर्ने कम्पनी गोर्खा मिडियामा म संलग्न हुन जानुअघि त्यसका प्रमोटर र मबीच कम्पनीको १५ प्रतिशत शेयर मेरो नाममा गुडविलबापत अर्थात् बिना लगानी कायम गर्ने सहमति भएको थियो ।

यसलाई पसिनाको कमाइ वा स्वेट शेयर पनि भन्ने गरिन्छ बोलीचालीको भाषामा ।’ छानबिन समितिलाई बयान दिने क्रममा उनले गोर्खा मिडिया नेटवर्क प्रालिमा आफूले एक रुपैयाँ पनि लगानी नगरेको दाबी दोहोर्‍याए । तर १५ प्रतिशत ‘स्वेट शेयर’ लिएको हाकाहाकी बताए । शब्दको चलखेल गर्दै ‘स्वेट शेयर’ को परिभाषा अघि सारे पनि मुलुकको प्रचलित कानुनले रविको चतुर्‍याइँपूर्ण ‘स्वेट शेयर’ लाई चिन्दै चिन्दैन । यसबारे मान्यज्यूहरू सतहमै अल्मलिएर कुहिराको काग बनिरहने कि अझै गहिराइमा गएर दूधको दूध पानीको पानी छुट्याउने ?

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू