गायिका र नायिकाबीच फेरि लफडा

गायिका र नायिकाबीच फेरि लफडा

अभिनेता पल शाहका कारण गायिका समीक्षा अधिकारी र अभिनेत्री पूर्जा शर्माबीच अघिल्लो सालसम्म लामो समय ‘वाकयुद्ध’ चल्यो । सामाजिक सञ्जालमा एक–अर्कालाई प्रहार गरिरहे । खासगरी पूजाले पलको पक्षमा अभिव्यक्ति दिएपछि यी दुईबीच दुश्मनी शुरु भएको थियो । 

चलचित्र र संगीत क्षेत्रका केही कलाकारहरुले यी दुईको दुश्मनी अन्त्य गरिदिन धेरै प्रयास गरे । अन्ततः केही महिना अघि पूजाले समीक्षासँग माफी मागेपछि समीक्षाले पनि माफी दिइन् । 

अहिले फेरि पूजाले पललाई कानुनले निर्दोष सावित गरिसकेको दाबी गरेपछि अर्काे लफडा सुरू भएको छ । समीक्षाले निवेदन फिर्ता लिएपछि अदालतले पलमाथि लागेको बलात्कारको मुद्दालाई टुंग्गाएको थियो । तर पूजाले केही दिनअघि भनिन्, ‘पललाई कानुनले निर्दोष प्रमाणित गरिसकेको छ, अब कसैले बोलिरहन जरुरी छैन, उसको नामलाई कसैसँग ट्याग गर्न आवश्यक छैन ।’ 

पूजाको उक्त अभिव्यक्तिमा चित्त नबुझेपछि समीक्षाले ‘उतिबेलै यस्तो फैसला गरिदिएको भए हुन्थ्यो नि !’ भनेर कटाक्ष गरेकी छन् । पूजालाई पलले कसरी सफाइ पाए भन्नेबारे थाहा दिन भनेकी छन्, ‘सत्य के हो ? कि उसलाई थाहा छ, कि मलाई थाहा छ, कि त भगवानलाई थाहा छ !’

समीक्षाले पूजालाई पूराना गल्तीहरुमा माफी दिँदा पनि अझै प्रहार गर्नुको कारण के हो ? भनेर प्रश्न सोधेकी छन् । ‘के सहि ? के गलत ? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफूलाई जोख्न तयार भएँ, र माफी दिएर सावित गरिदिएँ’, उनी भन्छिन्, ‘त्यस यता सबै नर्मल नै चलिरहेका बेला आफैं छोरी भएर उमेरले झण्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र ?’

पूजाले प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रावायण’को प्रचारका लागि गरिएको कुराकानीमा उक्त अभिव्यक्ति दिएकी हुन् । तर समीक्षाले चलचित्रको प्रचार गर्नकै लागि सस्तो अभिव्यक्ति दिनु सही नभएको जिकिर गरेकी छन् । उनले थप सोधेकी छन्, ‘यसरी पनि सिनेमा चलाउन खोज्नु सहि हो र ?’

अन्त्यमा समीक्षाले पूजालाई थप पीडा नदिनसमेत आग्रह गरेकी छन् । ‘हिजो तिमि मेरो बहिनी भनेर आउनुभयो, मैले दिदी भनें, मानेँ । अहिले पनि मानेकी छु । मान्छु तर यसरी पिडा नदिनुस्, प्लिज !’, उनले आग्रह गर्दै भनिन् ।

टिप्पणीहरू