पलेशालाई सरकारको तर्फबाट ६५ लाख रुपैयाँ

पलेशालाई सरकारको तर्फबाट ६५ लाख रुपैयाँ
सुन्नुहोस्

सरकारले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउने खेलाडी पलेशा गोवद्र्धनलाई सरकारले ६५ लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कर कटट नगरी ६५ लाख दिइने जानकारी गराउनुभएको छ ।

पेरिस पारालिम्पिक २०२४ मा के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । उनी पारालिम्पिक र हालसम्म विश्वस्तरीय प्रतियोगितामा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।

प्रधानमन्त्री ओलीले नेपालबाट कुनै पनि खेलाडीको टोली विश्वस्तरको प्रतिस्पर्धामा जाँदा खेलाडीले केही दिन्छन् कि, केही लिएर आउँछन् कि भनेर आँखा त्यतातिर लगाएर र कान थापेर बस्ने गरेको बताउनुुभयो । ‘नेपालीले मौका पाएपछि गर्छ भनेर मैले भन्दै आएको छु । यस पटक हामीले पारा ओलम्पिकमा उपस्थिति मात्र होइन, हस्तक्षेप र दख्खल दिएका छौँ । पलेशाको जित नेपालीको जित हो । यसले औधी खुशी तुल्याएको छ । नेपालको इज्जत बढाएको छ,’ प्रधानमन्त्री ओलीले भन्नुुभयो ।

उहाँले कीर्तिमान इतिहासमा लेखिने, पुुराना कीर्तिमानहरु तोड्दै जाने र एउटै रेकर्डमा चित्त बुुझाएर नबस्न खेलाडीहरुलाई सुझाउनुभएको छ । अब नेपालको कीर्तिमानको यात्रा सुरु भएको उहाँको भनाई छ । सो अवसरमा उक्त खेलका प्रशिक्षक, व्यवस्थापक र सहभागी खेलाडीलाई पनि प्रधानमन्त्री ओलीले सम्मान गर्नुभएको थियो ।

त्यसअघि पलेशालाई राष्ट्रपति रामचन्द्र पौडेलले पनि शीतल निवासमा सम्मान गर्नुभएको थियो ।

टिप्पणीहरू