पलेशालाई खुमलटारमा खादामाला, कान्तिपुरमा प्रमोटिङ पार्टनर

पलेशालाई खुमलटारमा खादामाला, कान्तिपुरमा प्रमोटिङ पार्टनर

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिककी काँस्य पदक विजेता पलेशा गोवर्द्र्धनलाई सम्मान गर्नुभएको छ । उहाँले खुमलटारस्थित निवासमा पलेशासहित प्रशिक्षक कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई सम्मान गर्नुभएको छ । 

प्रचण्डले पलेशाको जीतले नेपाललाई एकढिक्का बनाएको बताउनुभएको छ । यसअघि सरकारले पलेशालाई ६५ लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा गरिसकेको छ । काठमाडौँ महानगरपालिकाले पनि उनलाई पाँच लाख नगदले सम्मान गरेको छ । 

नेपालका लागि ओलम्पिकमा ऐतिहासिक पदक जितेकी पारा तेक्वान्दो खेलाडी पलेशालाई कान्तिपुर टेलिभिजनले प्रमोटिङ पार्टनर बनाएको छ । कान्तिपुर टेलिभिजनसँग पलेशा तथा नेपाल तेक्वान्दो संघले आज सम्झौता गरेका हुन् ।

टेलिभिजन र संघबीच सन् २०२४ डिसेम्बरसम्म सहकार्य गर्ने सम्झौता भएको जनाइएको छ । अब तेक्वान्दो संघको क्यालेन्डरमा समावेश प्रतियोगितालाई कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ ।

नेपालमा आगामी नोभेम्बर ८ देखि १३ सम्म चौथो माउन्ट एभरेष्ट च्याम्पियनसिप आयोजना हुँदैछ । प्रतियोगितामा २५ देशका दुई हजार खेलाडी सहभागी हुँदैछन् ।

टिप्पणीहरू