प्रकाशलाई समर्थकको सुझाव- कैँचीले रुख काट्दैन, बन्चरोले कपाल !

प्रकाशलाई समर्थकको सुझाव- कैँचीले रुख काट्दैन, बन्चरोले कपाल !

लोक दोहोरीको नाममा अश्लील शब्दहरुको टुक्का गाउने प्रवृति बढिरहेको बेला गायक प्रकाश सपुतले ‘गलबन्दी’ ल्याए, पाँच वर्षअघि । यो गीतले दर्शक/स्रोतामा दोहोरी गीतप्रति चासो बढायो । त्यसअघि पनि उनका ‘बोलमाया’ र केही ‘दोहोरी ब्याटल’का गीतहरु बजारमा आएका । 

तर, ‘गलबन्दी’ प्रकाशको करिअरको टर्निङ पोइन्ट सावित भयो । त्यसयता उनले पछि फर्केर हेर्नु परेको छैन । प्रकाशका ‘पीर’, ‘सकम्बरी’, ‘कुरा बुझ्नुपर्छ’, ‘मुटु कटक्कै’ जस्तै गीत सर्वाधिक सफल मानिन्छन् । 

दर्शक/स्रोताले गीतमै रुचाइरहेको बेला प्रकाश भने अहिले चलचित्रतिर लागेका छन् । यससँगै उनले बाटो बिराएको हो कि ? भन्ने टिप्पणी हुन थालेको छ । 

प्रकाशले गीत निकालुन् या फिल्म, त्यो उनको सिर्जनात्मक स्वतन्त्रता हो । तर,कतिपयले दर्शक भन्छन्, ‘दुवै हतियार हुन्, तर कैँचीले रुख काट्दैन, बन्चरोले कपाल !’

अर्थात् गीत र चलचित्र कलाकै सशक्त माध्यम भए पनि प्रकाश गायककै रुपमा अब्बल रहेको दर्शकको आशय छ । अभिनय र चलचित्रसम्बन्धी कुनै ज्ञान नै नलिइ लोकप्रियताकै बलबुतामा हिरो बन्छु भन्दै फिल्ममा लाग्नु गल्ती त हैन ? भन्ने प्रश्न उनका शुभचिन्तकहरुले गर्न थालेका छन् । 

सुदिक्षा बराइली भन्छिन्, ‘प्रकाश दाइ, खुरु-खुरु गीत गाउनुस्, फिल्म-सिल्मतिर नलाग्नुस्, सबै सोहर्न खोज्दा खल्तीको पनि जाला है ।’

त्यसो त प्रकाशले गत वर्ष प्रदर्शनमा आएको ‘परदेशी २’ बाट चलचित्रमा डेब्यु गरिसकेका छन् । याे चलचित्रले जसोतसो लगानी उठाएको बताइन्छ । केही महिनाअघि आफैं लगानी गर्नेगरी उनले ‘वसन्त’ घोषणा गरेका थिए । चलचित्रको मूख्य भूमिकामा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । 

त्यस्तै, उनले ‘पूर्णबहादुरको सांरगी’ काे छायांकन पनि सकाइसकेका छन् । अस्तिमात्र ‘हरिबहादुरको जुत्ता’ साइन गरेका छन् । 

यसरी समग्रमा हेर्दा प्रकाशको तीनवटा चलचित्र प्रदर्शनको तयारीमा छन् । तर, गीतबाट कमाएको लोकप्रियताले उनलाई चलचित्रमा कत्तिको साथ दिन्छ ? त्यो भने हेर्न न बाँकी छ ।  

उनका एक समर्थक प्रविण विक शंका गर्दै भन्छन्, ‘प्रकाश दाइ गीतकै लागि जन्मनुभएको हो । यो फिल्ममा लागेर आफू पनि डुब्ने, निर्मातालाई पनि डुबाउने काम गर्दै हुनुहुन्छ ।’

टिप्पणीहरू