भ्याटको १० प्रतिशत रकम फिर्ता हुने

भ्याटको १० प्रतिशत रकम फिर्ता हुने

करयोग्य वस्तु तथा सेवा खरिदमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) को १० प्रतिशत रकम उपभोक्ताले फिर्ता पाउने भएका छन् ।

आन्तरिक राजस्व विभागले त्यस्ता बस्तु तथा सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा नगद प्रोत्साहनस्वरुप भ्याट रकम फिर्ता दिने निर्णय गरेको हो । विभागले उक्त निर्णय कार्यान्वयन गर्न आम उपभोक्ता, व्यवसायी तथा सरोकारवाला सूचितसमेत गराएको छ । 

मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २५ को उपदफा (१) को खण्ड (१ ख) मा कुनै उपभोक्ताले विभागले सूचना प्रकाशन गरी निर्धारण गरेको वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य प्रचलित कानूनबमोजिम विद्युतीय माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहनस्वरुप भुक्तानी गरेको करको दश प्रतिशत रकम विभागले तोकेको प्रक्रियाबमोजिम निजको बैंक खातामा फिर्ता गरिने  व्यवस्था छ । 

सोहीअनुरुप विभागले यस्तो निर्णय गरेको जनाएको छ । उपभोक्ताले तिरेको भ्याटको १० प्रतिशत फिर्ता हुने सेवाहरूमा मदिरा पिउने केन्द्र (बार), चमेनागृह, रेस्टुरेन्ट, सबै प्रकारका होटल, मोटल, लज, गेस्टहाउस व्यवसायबाट प्रदान गरिने सेवाहरु रहेका छन् ।

यसका लागि विभिन्न शर्त तोकिएका छन् । भ्याटमा दर्ता भई विभागबाट स्वीकृत विद्युतीय बीजक जारी गर्ने करदाता मात्र यस प्रणालीमा आबद्ध हुन सक्नेछन् । त्यस्तै, डेबिट-क्रेडिट कार्ड, क्युआर कोड, मोबाईलजस्ता विद्युतीय भुक्तानीका उपकरणबाट भुक्तानी प्राप्त गर्ने बिक्रेताले त्यस्तो सेवा प्राप्त गर्न सक्ने छन् । जसअनुसार उपभोक्ताको बैंक खातामा स्वचालित रुपमा फिर्ता हुने व्यवस्था मिलाउन विभागको निर्देशन छ । 

विभागले विद्युतीय उपकरण तथा सफ्टवेयर आपूर्तिकर्तालाई पनि ‘विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता दिनेसम्बन्धी कार्यप्रक्रिया, २०७६’ बमोजिम प्रणालीमा सामञ्जस्य हुने गरी आफ्नो सफ्टवेयर परिमार्जन गर्न भनेको छ । 

साथै, बैंक तथा वित्तिय संस्था, भुक्तानी सेवा सञ्चालक तथा सेवा प्रदायकलाई उक्त प्रणाली कार्यान्वयनमा सहजीकरण गर्न आग्रह गरिएको छ । प्रणालीमा आबद्ध बिक्रेताले आफ्नो कारोबार स्थलमा विद्युतीय भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता हुने सुविधा रहेको सूचना टाँस्नुपर्ने विभागले जनाएको छ ।
 

टिप्पणीहरू