प्रधानमन्त्रीको गृह जिल्लाबाटै विद्रोह थाल्न माओवादी अध्यक्षको आग्रह

प्रधानमन्त्रीको गृह जिल्लाबाटै विद्रोह थाल्न माओवादी अध्यक्षको आग्रह
सुन्नुहोस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको गलत प्रवृत्ति र संस्कारविरुद्ध विद्रोहमा जुट्न अपिल गर्नुभएको छ ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा पुग्नुभएका उहाँले यहिँबाट विद्रोह थाल्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष प्रचण्डले वर्तमान सरकारप्रति कडा टिप्पणी गर्दै ‘गधालाई धोएर गाई नहुने’ प्रचलित उखानसहित कटाक्ष गर्नुभयो । 

बिर्तामोडामा आयोजित कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एमाले नेतृत्व विचलित भइसकेको दावी गर्नुभयो । ‘सत्तामा रहेको दलको नेतृत्व यति धेरै विचलित भइसक्यो, यति धेरै बुर्जुवाकरण भइसक्यो, यति धेरै दलालहरूसँग जोडिएको गधालाई धोएर गाई नभएको जस्तो भयो’, प्रचण्डले भन्नुभयो, ‘अब गलत प्रवृत्ति, विचार र संस्कारविरुद्ध विद्रोह झापाबाट नै होस् भन्ने मैले चाहेको छु ।’

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले एमाले नेतृत्वलाई आफूले सुधार्ने प्रयास गरेको, तर सम्भव नभएको बताउनुभयो । भन्नुभयो, ‘मैले स्वच्छ मनले एमाले नेतृत्वलाई सुधार्न निकै कोसिस गरेको थिएँ । राम्रो मनाशयसहित मिलेर चुनाव लड्ने प्रस्ताव राखेँ । पार्टी एकता गरौँ भनेँ । तर, एमालेकै कारण संविधान मिच्ने र दलालसँग मिलेर पार्टीभित्र नै अन्तर्घात गर्ने स्थिति सिर्जना भयो ।’

पार्टी प्रवेश कार्यक्रममा ठूलो संख्यामा माओवादी कार्यकर्ता र स्थानीयको उपस्थिति थियो । हल भरिभराउ भएपछि कार्यक्रमस्थल बाहिर एलइडी राखेर कार्यक्रम हेर्ने र सुन्ने व्यवस्था मिलाइएको बताइन्छ ।

टिप्पणीहरू