सरकार असफल भएको विपक्षी दलको ठहर, रविको बचाउमा एकमत

सरकार असफल भएको विपक्षी दलको ठहर, रविको बचाउमा एकमत

प्रतिपक्ष दलहरुले केपी ओली नेतृत्वको वर्तमान सरकार पूर्णत: असफल भएको निष्कर्ष निकालेका छन् । 

नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको विपक्षी दलहरूको संयुक्त बैठकले सरकार असफल भएको ठहर गरेको हो । बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले सरकार गठनको तीन महिनामा एउटा पनि उपलब्धिपूर्ण काम नभएको र सम्पूर्णरुपमा असफल देखिएको बताए । 

‘यो सरकार बनेको तीन भयो, तर अहिलेसम्म कुनै उपलब्धि देखिएको छैन’, उनले भने, ‘प्राकृतिक विपदको पूर्वतयारी, खोज, उद्धार र पुनःस्थापनामा सरकारले जुन गम्भीरता र जिम्मेवारीका साथ काम गर्नुपर्थ्यो, त्यो गरेन । पार्टीगत र निहित स्वार्थको लागि मात्र काम गर्यो भन्ने निष्कर्ष छ ।’

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सम्भावित गिरफ्तारीबारे पनि बैठकमा छलफल भएको छ । राजनीतिक पूर्वाग्राह राखेर लामिछानेलाई पक्राउ गरिए सबै एक ठाउँमा उभिएर सशक्त प्रतिवाद गर्ने बस्नेतले बताए । 

‘कानुनी प्रक्रियामा अनुसन्धान हुँदै गर्दा हामी मात्रै होइन रास्वपाले पनि अवरोध गर्ने कुरा कहींकतै भनेको छैन । तर, राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गरिए सबै एक ठाउँमा उभिएर प्रतिवाद गर्नुपर्ने हुन्छ’, उनले भने । 

विपक्षी दलहरूको तर्फबाट सरकारलाई ज्ञापनपत्र दिने निर्णय गर्दै सुनुवाइ नभए विशेष अधिवेशन बोलाउने निष्कर्ष बैठकले निकालेको छ । सरकारले सकारात्मक रेस्पोन्स नगरे विशेष अभिवेशन आह्वान गर्नुपर्ने परिस्थितबारे बैठकमा छलफल भएको बस्नेतले जानकारी दिए ।

टिप्पणीहरू