आफैँले भनेका थिए : मलाई झ्यालखानामा कोच्नेछन्, त्यसैले जेल उद्घाटन गरेर आएको छु

आफैँले भनेका थिए : मलाई झ्यालखानामा कोच्नेछन्, त्यसैले जेल उद्घाटन गरेर आएको छु

केही महिना अघिसम्म उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारीमा छँदा जेल उद्घाटन गर्दै हिँडेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले आफैँ जेल जाने अवस्थामा पुगेका छन् । गत बैशाख २० गते गृहमन्त्रीको हैसियतमा हुँदा लामिछानेले बाँके जिल्लामा निर्मित तीन हजार कैदीबन्दी राख्न मिल्ने जेलको उद्घाटन गरेका थिए । 

उद्घाटनको क्रममा निकै ठूलो स्वरमा भनेका थिए, ‘यहाँ कोही निर्दोष आउन नपरोस्, कोही दोषी भाग्न नपाओस् ।’ सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई आजै राति कास्की पुर्याएर प्रहरी हिरासतमा राखिँदैछ । 

संसदीय विशेष छानविन समितिले दोषी ठहर गरेका लामिछाने अब अदालतबाट पनि दोषी ठहर भएमा जेल जाने निश्चित छ । यद्यपि, अदालतको फैसलाबारे अहिले नै अनुमान गर्न सकिँदैन । 

लामिछानेले गत असार २८ गते संसदको रोष्ट्रममा उभिएर जेल जाने रहर देखाएका थिए । आफूले उद्घाटन गरेको जेलको उदाहरण दिँदै भनेका थिए, ‘नयाँ सरकार बनेपछि अब मलाई ठग प्रमाणित गर्न तपाईंहरुलाई कुनै आपत पर्दैन होला, मज्जाले बहुमत पुग्छ । बाँकेमा एउटा जेल उद्घाटन पनि गरिसकेको छु । त्यहाँको शिलालेखमा मेरो नाम लेखिएको छ, मलाई थाहा थियो मलाई एकदिन जेलमा हाल्नेछन् । त्यही भएर मैले जेलको उद्घाटन गरेर आएको छु ।’

लामिछानेले उतिबेला देखाएको जेलमा बस्ने रहर कहिले पूरा हुन्छ त्यो भने हेर्न बाँकी नै छ । तर उनी आज साँझदेखि प्रहरी हिरासतमा रहने निश्चित छ ।

टिप्पणीहरू