सरकारविरुद्ध यसकारण सडकमा ओर्लिंदै माओवादी

सरकारविरुद्ध यसकारण सडकमा ओर्लिंदै माओवादी
सुन्नुहोस्

प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले सरकार विरुद्ध आन्दोलन घोषणा गरेको छ । नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकार गठन भएको सय दिन पुग्नै लाग्दा माओवादी सडकमा ओर्लिन लागेको हो । 

आज बसेको माओवादी केन्द्रको बाग्मती, विशेष प्रदेश समन्वय समिति, जन वर्गीय संगठनका इन्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको छ । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको दाबी गर्नुभयो ।

आफू नेतृत्वको सरकारले कसैको अनुहार नहेरेर दोषीलाई कारवाही गरेको तर अहिलेको सरकार प्रतिद्वन्द्वीलाई मात्रै प्रहार गर्नेगरी अघि बढेको उहाँको आरोप छ ।

हिजो बिपक्षी दलहरुको तर्फबाट बालुवाटारमा ज्ञापनपत्र बुझाउन गएको बेला प्रधानमन्त्रीसँग भएको संवाद सुनाउँदै उहाँले भन्नुभयो– ‘मैले स्पष्टसँग भनेको थिएँ, तपाइँ र हामीमा फरक के भयो भने हामीले के माओवादी, के कांग्रेस, के एमाले कुनै दल नहेरेर गल्ती गरेको छ भने सबैलाई कानुनबमोजिम ल्याउनुपर्छ भनेर लाग्यौं तर तपाइँहरुले कांग्रेस र एमालेका नेताले गल्ती गरेको छ्याङै देख्दा पनि बचाउनुभएको छ र आफ्नो राजनीतिक प्रतिद्वन्द्वी देख्नुभयो भने खोजीखोजी हान्नुभएको छ ।’

सरकारले गर्नुपर्ने काम नगरेको तर गर्न नहुने काममा बढी ध्यान दिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले ‘हनिमुड पिरियड’लाई ध्यान दिंदै अहिलेसम्म सडकमा नआएको तर अब सय दिन पुगेकाले विरोध कार्यक्रम अघि सार्न थालेको बताउनुभयो । 

आफ्नो पार्टी नेतृत्वको सरकारले १८ महिनामा गरेका कामले जनतामा उत्साह थप्दै गएका बेला भ्रष्टाचारीलाई बचाउन नयाँ समीकरण बनेको जनताले राम्ररी बुझेको उल्लेख गर्दै उहाँले यसलाई थप स्पष्ट गर्दै अब सरकारका गलत कार्यको भण्डाफोर गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

अहिले जनतामा सरकारविरोधी भावना बढ्दै गएको स्पष्ट पार्दै प्रचण्डले बताउनुभयो । उद्योगहरुबाट बक्यौता महसुल उठाउन खोज्दा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक र एउटा सामान्य प्राविधिक त्रुटिलाई लिएर उपसभामुख हटाउन खोज्ने, बाढीपहिरोपछि उद्धार, राहत र पुनर्स्थापनामा ध्यान नदिनेदेखि जग्गा दान प्रकरणसम्म आउँदा सरकार भ्रष्टाचारीको संरक्षकको रुपमा प्रस्तुत भैरहेको उहाँले भनाई छ ।

‘सरकार गठन गर्नेबेला नै दुई दलीय व्यवस्थाको वकालत गरिएको थियो, त्यो निरंकुश सोंच हो । अहिले पनि कतै न कतै गठबन्धनभित्र यसखालको सोंच हटेको छैन’, उहाँले भन्नुभयो, ‘यसलाई अघि बढाउन दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने षड्यन्त्र जारी नै छ, यी सबै षड्यन्त्रका विरुद्ध सशक्त खबरदारी जरुरी छ ।’
 

टिप्पणीहरू