अमेरिकाले अघि सारेको धार्मिक नीतिप्रति विप्लवको आक्रोश

अमेरिकाले अघि सारेको धार्मिक नीतिप्रति विप्लवको आक्रोश
सुन्नुहोस्

नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी सरकारले अघि सारेको अन्तर्राष्ट्रिय धार्मिक नीतिप्रति विरोध जनाएको छ । 

सो पार्टीको अन्तर्राष्ट्रिय विभाग सदस्य खगेश्वर सीले आज विज्ञप्ति जारी गर्दै अमेरिकाले अन्तर्राष्ट्रियस्तरमा धार्मिक सम्प्रदायबीच वैमनस्यता सिर्जना गर्ने अभिप्रायले 'अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता तथा विश्वास अलिएशन' नामक सञ्जाल खडा गरेको बताएका छन् । 

‘अमेरिकाले जसरी धार्मिक स्वतन्त्रताको प्रचार गरेको छ । वास्तवमा त्यो जनताको धर्मप्रतिको स्वभाविक चिन्ता नभएर कथित अमेरिकी स्वार्थ पुरा गर्न अघि सारिएको धर्म राजनीति हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यसले अन्य देशको सार्वभौमिकता, स्वतन्त्रता, आन्तरिक मामिला र मौलिम संस्कृतिमा हस्तक्षेप गर्ने मात्र नभई देशहरुमा अराजकता सिर्जना गर्दै धार्मिक असहिष्णुता निम्त्याउँछ ।’

यो अमेरिकी भूमण्डलीकृत साम्राज्यवादी नीति लागू गर्ने हस्तक्षेपकारी कदम भएको उल्लेख गर्दै यसले नेपालको स्वाधीनता, परम्परा र नेपालीजनका स्थानीय रितिरिजाव एवं संस्कारलाई तहसनहस पार्ने उसको ठहर छ । 

अमेरिकाको यस्तो कुटिल चालबाट जनतालाई सचेत रहन पनि अपिल गरिएको छ ।

टिप्पणीहरू