स्रोत नखुलेको २० लाख बोक्नेको परिचय खुल्यो, भारतीय सांसदलाई छाड्न माथिको आदेश

स्रोत नखुलेको २० लाख बोक्नेको परिचय खुल्यो, भारतीय सांसदलाई छाड्न माथिको आदेश

अवैध भारतीय रकमसहित समातिएका छ मध्ये चार जना छुटेका छन् । कपिलवस्तुको कृष्णनगरमा हिजो साँझ २० लाख अवैध भारुसहित छ जना पक्राउ परेका थिए । 

भारतीय नाका हुँदै कृष्णनगर प्रवेश गरेका दुई वटा सवारी साधनमा लुकाइ राखेको अवस्थामा २० लाख ५० हजार नगदसहित पक्राउपरेकामध्ये एकजना भारतीय सांसद रहेको खुलेपछि ’माथिको दबाब’मा प्रहरीले आज दुई जनालाई मात्रै राजस्व अनुसन्धान कार्यालय बुटवलमा बरामद रकमसहित बुझाएको बताइन्छ ।

पक्राउ परेकामा महाराष्ट्र प्रदेशकी विधायक अदिती सुनिल तरकरेसहित सलमान कुरसिया, सखराम अण्डागोले, शेखर अनिल करकुटकर, चालक कमर हैदर तथा प्रमोद गोस्वामी छन् । उनीहरु चढेर आएको यूपी ४२ डिटी ५७२१ नम्बरको गाडीबाट ७ लाख ५० हजार र यूपी ५४ ए ६६६३ नम्बरको कारबाट १३ लाख भारतीय रुपैयाँ प्रहरीले बरामद गरेको थियो ।

महाराष्ट्रको श्रीवर्द्धन क्षेत्रबाट राष्ट्रवादी कांग्रेस पार्टीका तर्फबाट विधायक निर्वाचित अदिती पक्राउ परेलगत्तै उनले महाराष्ट्रका उपमुख्यमन्त्री अजित आशाताई अनंतराव पवारलाई फोन गरि घटनाबारे जानकारी गराएको सुरक्षा स्रोतले जनाएको छ । लुम्बिनी जान लागेका उनीहरु सुनौली नाका भएर नेपाल प्रवेश गर्नुपर्नेमा कृष्णनगरबाट भित्रिएका थिए । 

विद्यायक तरकरेले लुम्बिनीमा धार्मिक अनुष्ठानका लागि रकम लिएर जान लागेको प्रहरीलाई बयान दिएकी थिइन् । पक्राउ परेको एक घण्टाभित्रै लुम्बिनी प्रदेशका डिआइजी कुबेर कडायतले घटनाबारे सूचना वा जानकारी दिन अस्वीकार गरेका थिए । लगत्तै महाराष्ट्र रायगढका लोकसभा सांसद तथा राष्ट्रवादी काँग्रेस पार्टीका नेता तथा अदितीका श्रीमान सुनिल तटकरे भारतको मुम्बईबाट हेलिकोप्टर चार्टड गरेर राति १० बजे कृष्णनगर सीमा क्षेत्रको बढनी बजार झरेका थिए ।

 

प्रहरी स्रोतका अनुसार माथिल्लो निकाय (गृह मन्त्रालय) कै दबाबमा पक्राउ परेकामध्ये सलमान कुरसिया, सखराम अण्डागोलेलाई राखेर अन्यलाई गाडीसहित छाड्न ठाडो निर्देशन आएको थियो । त्यसपछि उनीहरुलाई राति ११ बजे सीमापारी बढ्नी फिर्ता पठाइयो । प्रहरीको उच्च नेतृत्व हुँदै कपिलवस्तुका एसपी निरन्जनदत्त भट्टलाई दबाब आएपछि बाध्य भएर चार जना र गाडी छाड्न परेको स्रोतको दाबी छ । 

’मिडियामा पक्राउको प्रसंग नआएको भए सबैलाई छाड्नुपर्ने थियो तर दुई जना भएपनि राखेर राजस्व बुझाउनेगरी राखिएको हो’, स्रोतले सुनायो ।

कपिलवस्तु प्रहरीले बरामद रकम र दुई जनालाई आज बुटवलस्थित राजस्व अनुसन्धान विभागमा बुझाइएको छ । राजस्व अनुसन्धान प्रमुख विवेक घिमिरेले बाँकी चार जना र गाडीबारे मिसिलमा उल्लेख नगरेकोमा ती व्यक्ति बुझ्न अस्विकारसमेत गरेको बताइएको छ  । 

अवैध रकमबारे अनुसन्धान गर्ने र मुद्दा दर्ता लगायतका कार्य राजस्वले गर्ने भन्दै उनले प्रहरीले आफ्नो काममा हस्तक्षेप गरेकोमा गुनासोसमेत गरेका छन् । लगत्तै पुनः माथिको दबाब आएपछि दुई जनालाई मात्रै लिएर राजस्वले कपिलवस्तुस्थित सरकारी वकिल कार्यालयमा म्याद थप गराएको छ । उनीहरुलाई विदेशी विनिमय ऐनअनुसार मुद्दा दर्ता गरेर भोलि जिल्ला अदालतमा उपस्थित गराइने तयारी छ ।

टिप्पणीहरू