आज लक्ष्मी जयन्ती, विभिन्न कार्यक्रम हुँदै

आज लक्ष्मी जयन्ती, विभिन्न कार्यक्रम हुँदै

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइदैछ । वि.सं १९६६ कार्तिक २७ गते काठमाडौँमा जन्मिएका देवकोटालाई आधुनिक नेपाली साहित्यका पर्याय मानिन्छ । 
 

बाबु तिलमाधव देवकोटा र आमा अमर राज्यलक्ष्मी देवकोटाको साइलो सन्तानको रुपमा जन्मिएका उनको न्वारनको नाम तिर्थमाधव हो । तर लक्ष्मीपूजाको दिन जन्मिएको कारण परिवारले लक्ष्मीप्रसाद राखिदिएको थियो । 

वि.स १९९१ मंसिर १५ गोरखापत्रमा ‘पूर्णिमाको जलदी’ नामक कविता प्रकाशित गरेका उनले त्यसयता सहित्यबाट अलग हुन सकेनन् । सानैदेखि मेधावी विद्यार्थीको रुपमा परिचित उनले दरबार स्कुलमा विभिन्न रेकर्डहरु बनाएका छन् । कक्षा ७ मा पढ्दै गर्दा कक्षा १० का विद्यार्थीलाई पढाएपछि विद्यालयले नै ८ मा भर्ना नगरेर एकैचोटी कक्षा ९ मा भर्ना गरिदिएको थियो । 

देवकोटा नेपाली साहित्यका एकमात्र त्यस्ता नक्षत्र हुन्, जसले कविता, गीत, खण्डकाव्य, महाकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, अनुवाद लगायतका अधिकांश विधामा कृति लेखेका छन् । जसमध्ये उनका  मुनामदन, सावित्री, शाकुन्तल, कुञ्जिनी, सुलोचना, प्रमिथस निकै चर्चित छन् । 

धेरैले उनलाई स्वच्छन्दवादी साहित्यकारको रुपमा चित्रण गरे पनि देवकोटा आफूलाई भने प्रगतिशिल विधारधाराबाट प्रभावित भएको बताउँथे । त्यसलाई प्रमाणित गर्न उनले ‘पागल’ कविता लेखे । जसलाई आज पनि नेपाली गद्य कविताको एउटा उत्कृष्ट सृजना मानिन्छ । 

देवकोटामा भाषा र संस्कृतिप्रतिको लगाब तथा क्षमता देखेर वि.सं २०१४ साउन ११ गते तत्कालीन राजा महेन्द्रले शिक्षामन्त्री बनाएका थिए । करिब एक वर्ष शिक्षामन्त्री भएपछि उनले आफू राजनीतिको लागि नजन्मिएको भन्दै राजनीमा दिएका थिए ।
 

टिप्पणीहरू