होस्टल अभिलेखीकरण गर्न निर्देशन

होस्टल अभिलेखीकरण गर्न निर्देशन

काठमाडौंमा खोलिएका होस्टेल स्थानीय तहमा दर्ता हुनुपर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्रका छात्रावास (होस्टल)लाई अभिलेखीकरण हुन निर्देशन दिएको हो । 

छात्रावास सञ्चालनसम्बन्धी मापदण्ड, २०८० बमोजिम अभिलेखीकरणका लागि निवेदन पेश गर्न महानगरले आह्वान गरेको छ। 

तोकिएको कागजातसहित महानगरको शिक्षा विभागमा आगामी ३० दिनभित्र निवेदन पेश गर्न भनिएको छ । महानगरले होस्टललाई व्यवस्थित, मर्यादित, सुरक्षित र पारदर्शी बनाई छात्रावासको व्यवस्थापनमा एकरुपता कायम गर्न लागिएको जनाउँदै तोकिएको मापदण्डअनुरुप सञ्चालन गर्न पनि निर्देश गरेको छ । 

छात्रावास सञ्चालन गर्दा अनिवार्य रुपमा स्वीकृत लिन आग्रह गरिएको छ । अन्यथा, कानूनबमोजिम कडा कारबाही गरिने महानगरको चेतावनी छ । 

‘यस महानगरपालिकाभित्र तत्कालिन जिल्ला शिक्षा कार्यालयबाट  छात्रावास (होस्टल) सञ्चालन अनुमति लिई वा वडामा व्यवसाय दर्ता गरी छात्रावास सञ्चालन गरिरहेका संस्थाले सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र काठमाडौं महानगरपालिका छात्रावास सञ्चालनसम्बन्धी, २०८० बमोजिम अभिलेखीकरणका लागि निवेदन पेश गर्न सूचित गरिन्छ', सूचनामा उल्लेख छ । 

अनुमति नलिई सञ्चालन भएको पाइएमा कानूनबमोजिम कडा कारबाही हुने व्यहोरासमेत जानकारी गराइन्छ ।’

टिप्पणीहरू