पोखराको दौड प्रतियोगितामा १२ सय प्रतियोगी, ६४ जना चिनियाँ
पोखरामा तेस्रो क्रस कन्ट्री दौड प्रतियोगिता भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चिनियाँ राजदूत छङ सोङले स्थानीय बाराहीघाटमा उद्घाटन गर्नुभएको प्रतियोगितामा ६४ चिनियाँसहित १२ सयभन्दा बढी धावक सहभागी छन् ।
प्रतियोगितामा खुला समूहगत दौड, महिला तथा पुरुष च्यालेन्ज इन्डिभिजुअल दौड, छात्र÷छात्रा विद्यार्थी दौड र ह्याप्पी रन समूह गरी चार विधामा प्रतिस्पर्धा भएको छ । ५० किलोमिटर लामो समूहगत दौडका प्रतियोगीहरु दुई हजार दुई सय ५८ मिटर उचाइसम्म पुगेर पुनः बाराहीघाट आइपुग्ने बताइएको छ ।
५० किलोमिटर दौडमा एक सय जना नेपाली र ५२ जना चिनियाँले प्रतिस्पर्धा गरेका छन् । कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरु पाँच किलोमिटर दौडमा सहभागी भएका छन् । प्रतियोगितामा पाँच सयभन्दा बढी विद्यार्थीको सहभागिता छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डे र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराबाट नियमित उडानका लागि चिनियाँ पक्षलाई आग्रह गर्नुभएको छ । चिनियाँ राजदूत छनले खेलकुदको माध्यमले दुई मुलुकको सम्बन्धलाई बलियो बनाउँदै पोखरा जान चिनियाँ पर्यटकलाई अभिप्रेरित गर्ने विश्वास लिनुभएको छ ।
टिप्पणीहरू