सेबोन अध्यक्षका 'बहिष्कारवादी उम्मेदवार' लाई फेरि बोलाइयो

सेबोन अध्यक्षका 'बहिष्कारवादी उम्मेदवार' लाई फेरि बोलाइयो
सुन्नुहोस्

नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षका लागि आवेदन दिई सर्ट लिष्टमा परेका तर अन्तर्वार्ता 'बहिष्कार' गर्दै आएका ३ उम्मेदवारलाई फेरि अन्तर्वार्तामा बोलाएको छ । 

बोर्डको अध्यक्ष नियुक्त गर्न गठित सिफारिस समितिले आज सार्वजनिक सूचना निकालेर डा. नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीलाई अन्तरवार्तामा आउन भनेको हो । उनीहरुलाई व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ताका लागि बोलाएको समितिले जनाएको छ । 

तीनै जनालाई आगामी मंसिर ९ गते बिहान ८ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयमा उपस्थित हुन भनिएको छ । यसअघि गत असोज १८ गते प्रस्तुतीकरण र अन्तरवार्ताका लागि बोलाएपनि तीनैजना अनुपस्थित भएपछि अन्तिम समयमा स्थगित गरिएको थियो । अर्थ मन्त्रालयले विशेष कारणवश अन्तरवार्ता रोक्नुपरेको बताएको थियो । 

असारमा सर्ट लिस्टमा परेका पाँच जनालाई अन्तरवार्ताका लागि बोलाइएपनि दुई जनामात्र उपस्थित भएका थिए । तीनजना प्रस्तुतीकरण र अन्तरवार्तामा सहभागी नभएपछि सिफारिस समितिले नाम सिफारिस गर्न सकेन । 

धितोपत्रको कार्यकारी अध्यक्ष बनाएर हिमालयन स्टक एक्सचेञ्जको स्वीकृति लिने योजनामा पहिलो नम्बरमा सन्तोषनारायण श्रेष्ठ र दोस्रो नम्बरमा मुक्ति श्रेष्ठलाई दिपक भट्टको समूहले अघि सारेपछि माओवादी निकट भनिएका अधिकारी, चापागाईं र कार्की ‘योजनाबद्ध’ रुपमा अन्तर्वार्तामा अनुपस्थित भएको त्यसबेला चर्चा थियो । तत्कालीन प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनलाई दबाब दिएर केपी शर्मा ओलीको चाहनाअनुसार त्यस्तो सेटिङ मिलाइएको माओवादी पक्षको दाबी रहँदै आएको छ ।  

तीनजनाले अन्तर्वार्ता बहिष्कार गरेपछि सरकारले नयाँ प्रक्रिया शुरु गर्न समिति बनाएसँगै त्यसविरुद्ध सर्ट लिस्टमा परेका श्रेष्ठ सर्वोच्च अदालत पुगेका थिए । धितोपत्र बोर्ड ०८० पुस २० गतेदेखि अध्यक्षविहीन छ ।

 

टिप्पणीहरू