आफू अमेरिका जान पत्नीमाथि घाेर अत्याचार
नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ का रामेश्वर पाण्डेले अमेरिका जान जम्मै डकुमेण्ट नक्कली बनाएको खुलेको छ । अमेरिकी नागरिक भइसकेका उनको सम्पूर्ण डकुमेण्ट ‘फेक’ भएको खुलेपछि छानबिन अघि बढाइएको छ । सामाजिक परम्पराअनुसार विवाह गरेर ल्याइएकी श्रीमती भगवती पाण्डेलाई अलपत्र पारेर प्रेमिकासँग अमेरिका पुगेका उनी चार वर्षदेखि त्यतै छन् ।
जेठी श्रीमती कारागार कार्यालय, काठमाडौंमा जागिरे छिन् । भगवतीबाट जयजन्म भएका दुई सन्तान राजिव र कवितालाई उनले अमेरिका लगिसकेका छन् । तीर्थराज पाण्डेका नाति तथा खिलराज पाण्डेको छोरा उनले अमेरिका लैजाने भन्दै धेरैबाट रकम असुलेको बताइन्छ । दोस्री श्रीमती अप्सरा सेढाईसँग सम्बन्धविच्छेद गरेर अर्की महिलासँग विवाह गर्ने तरखरमा समेत रहेको बुझिएको छ ।
कर्तुतको भण्डाफोर त्यतिबेला भयो, जतिबेला उनी तेस्रो विवाह दर्ता गर्न वडा पुगे । रामेश्वरको परिवार अहिलेपनि गाउँमै छन् । फण्डा गर्न माहिर उनी अप्सरासँग प्रेममा थिए । सम्बन्धमा खटपट भएपछि घरपरिवारको सहमतिमा भगवतीसँग सामाजिक परम्पराअनुसार विवाह गरे । अमेरिका जाने सपना बोकेर बसेका उनले भगवतीसँग विवाह दर्ता भने गराएनन् । दुई सन्तानको पिता भएपछि बल्ल अप्सरालाई डिभी परेको थाहा पाए । र उनलाई फकाउन थाले ।
रोचक प्रसङ्ग त के भने रामेश्वरको परिवारका कसैको पनि कागजात वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा भेटिँदैन । यसबाट उनी आफैंले सबै कागजात बनाएको पुष्टि हुन्छ । सन्तानलाई अमेरिका लैजाँदा जन्म दिने आमाको नाम कहीँ–कतै उल्लेख गरेको पाइन्न । प्रेमिका अप्सरालाई नै ती दुई बालबालिकाको आमा बनाइएको छ ।
एक स्थानीयका अनुसार उनले भगवतीको झुठ्ठो मृत्युदर्ताको प्रमाणपत्र पनि बनाएको पाइएको छ । ‘उनलाई पहिल्यैदेखि भगवती श्रीमती हो भनेर कसैले नचिनोस् भन्ने थियो । त्यसैले कागजात बनाइदिएनन् । खै कसरी सन्तानलाई अमेरिका लिएर गए ?’, उनले भने ।
१३ नम्बरका वडाध्यक्ष नवराज पाण्डेका अनुसार उनको नागरिकतालगायत कुनैपनि डकुमेण्टको विवरण वडा कार्यालयमा छैन । उनी आफैंले नक्कली कागजपत्र बनाएको हुनसक्ने पाण्डेको अनुमान छ । ‘डकुमेण्ट खोजीका लागि वडा कार्यालयसँग आग्रह गरिएको थियो । मैले खोजें । तर, केही पनि भेटिएन । न जन्मदर्ताको विवरण छ न नागरिकताको । विवाह दर्ता पनि छैन्’, भन्छन्, ‘उनी अमेरिकी नागरिक भइसकेका छन् । यहाँबाट बसाइँसराइँको कागजात बनाएर लगेकोमा त्योचाँहि फिर्ता गरे । मैले जिल्ला प्रशासन कार्यालयसँग उनको विवरण माग गरिसकेको छु ।’
वडाध्यक्ष पाण्डेका अनुसार उनले कर्मचारीहरुलाई थर्काउने, आफ्नो काम गर्न बाध्य बनाउने, नमानेको खण्डमा वडाको कागजात नै उठाएर लैजानेलगायतको हर्कत गर्दै आएका छन् । बेलाबखत नेपाल आउने उनले वडाका कर्मचारीहरुलाई धुरुक्क बनाएको गुनासो छ ।
वडा कार्यालयले गत भदौ १३ गते रामेश्वर, भगवती, अप्सरा, राजीव र कविताको विवरण उपलब्ध गराइदिन माग गर्दै प्रशासनलाई पत्र लेखेको छ । ‘रामेश्वर पाण्डे नागरिकता प्रमाणपत्र नं.८४७७०–३८०४ भएको निज र निजसँग सम्बन्धित तपसिलबमोजिमका व्यक्तिहरुको त्यहाँ कार्यालयबाट सेवा प्रवाह भएका नागरिकता प्रमाणपत्र, राहदानी प्रमाणपत्र, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र के कति छन्, आवश्यक परेकोले प्रमाणपत्रहरु यकिन गरी यस वडालाई उपलब्ध गराइदिनुहुन यसै पत्रसाथ अनुरोध गर्दछु’, पत्रमा उल्लेख छ ।
दुई महिना बितिसक्दापनि प्रशासनबाट कुनै जवाफ नआएको वडाध्यक्ष पाण्डे बताउँछन् । स्रोतका अनुसार रामेश्वरसहित सन्तानले समेत अमेरिकाको नागरिकता र राहदानी प्राप्त गरिसकेका छन् । उनीहरु ‘भिजिट भिसा’ मा नेपाल आउँछन् । उनको अमेरिकी पासपोर्ट नम्बर सी २८९२९५०० हो । गएको अप्रिल ११ मा नेपाल आएका उनी सोही महिनाको ३० तारिखमा फर्किएका थिए । उनले भिसामा इमेल, फोन नम्बरजस्ता डिटेल पनि नराखेको खुलेको छ ।
प्राप्त जानकारीअनुसार अप्सरासँग पनि सम्बन्ध राम्रो छैन । यसअघि नेपाल आउँदा एक महिला लिएर वडा कार्यालय पुगी विहे दर्ताका लागि दबाब दिएकोमा वडासचिवले मान्दै मानेनन् । उनको काठमाडौंको तारकेश्वर नगरपालिकामा पनि घरजग्गा छ ।
विवाह दर्ता नभएपछि बसाइँसराइँ प्रमाणपत्र लिएर आएपछि मात्र वडासचिवले रामेश्वरले अमेरिकी नागरिकता लिइसकेको थाहा पाएका हुन् । वडासचिवले तारकेश्वर नगरपालिकामा सम्पर्क गरेर उनको बसाइँसराइँ रद्द गराइदिए । सो विषयमा रामेश्वरले फोन गरेर थर्काएको वडाध्यक्षको भनाइ छ । भन्छन्, ‘तपाईंले मसँग किन दुश्मनी गरिरहनुभएको भन्दै थिए । मैले के दुश्मनी गर्नु ? भनिदिएँ ।’
उनले २०७३ पुस २२ गते आफू र प्रेमिकाको जन्मदर्ताको प्रमाणपत्र लिएको पनि पाइएको छ । एकैदिन दुवैको जन्मदर्ता काम गराइएको देखिन्छ । उक्त प्रमाणपत्र लिँदा नागरिकता बनाइसकेका थिए । जन्मदर्ता नै नभएको व्यक्तिले कसरी नागरिकता लिए ? गम्भीर प्रश्न उठेको छ ।
उनले नेपाली नागरिकता दुरुपयोग गरेर तारकेश्वरको जायजेथा धितो राखी बैंकबाट कर्जा लिएको प्रमाण पनि भेटिएको छ । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा लगायत नेताहरुसँग खिचाएको फोटो देखाएर पैसा असुल्ने, गैरकानुनी काम गर्न दबाब दिने उनले अमेरिकामा आफूलाई जय नेपाल भनेर चिनाउँदै आएका छन् ।
श्रीमानले लैजाने आशमा भगवती
श्रीमानले आफूलाई पनि अमेरिका लैजान्छन् कि भन्ने आशमा छिन्, भगवती । त्यसैले मुखमा ताला लगाएर बसेकी छिन् । उनका आफन्तले भने आश नपाल्न पटकपटक सम्झाइसकेका छन् । हाल जिल्लाका पोलहरुमा रामेश्वरलाई कारबाहीको माग गर्दै पोस्टरहरु टाँसिएको छ ।
लेखिएको छ, ‘बागमती अञ्चल, नुवाकोट जिल्ला साविक मदानपुर गाविस वडा नम्बर २, हाल बेलकोटगढी नगरपालिका वडा नम्बर १३ बस्ने रामेश्वर पाण्डेले आफ्नै जेठी श्रीमतीलाई मरेको भनी वि.सं.२०७२ सालमा मृत्यु दर्ताको प्रमाणपत्र बनाई सोही जिल्ला र सोही नगरपालिका, सोही वडा बस्ने देवबहादुर सेढार्इं (चिसापानी कृष्ण) को माइली छोरी अप्सरा सेढाईंसँग दोस्रो विवाह गरी हाल अमेरिका लगेको खुल्न आएको छ । निज रामेश्वर पाण्डेको जेठी श्रीमती काठमाडौंमा जिँउदो रहेको खुल्न आएको छ । निज रामेश्वर पाण्डेले झुठ्ठो विवरण पेश गरी साविक वडा नम्बर २ र हालको वडा नम्बर १३ बाट मृत्यु दर्ताको प्रमाणपत्र लिएको हुँदा निजलाई हदैसम्म कारबाही गरी पाऊँ ।’
अमेरिकामा समेत बद्नाम
नेपालमा बद्नामी कमाएका उनलाई पक्राउ गर्नुपर्ने माग अमेरिकास्थित नेपाली समुदायले गरेका छन् । एक जना महिलाले सामाजिक सञ्जालमा स्ट्याटस लेखेर उनलाई पक्राउ गर्न अमेरिकी प्रहरीसँग आग्रह गरेकी छिन् ।
(साभार:जनआस्था-साप्ताहिकबाट)
टिप्पणीहरू