दश लाख पर्यटकको माइलस्टोन ११ महिनामै पूरा

दश लाख पर्यटकको माइलस्टोन ११ महिनामै पूरा
सुन्नुहोस्

नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या बढेको छ । पछिल्लो ११ महिनामा विश्वका विभिन्न देशबाट साढे दश लाख पर्यटक नेपाल भित्रिएका छन् । 

सन् २०२३ मा १० लाख १४ हजार पर्यटक नेपाल आएका थिए । यो वर्ष भने दश लाख पर्यटकको माइलस्टोन ११ महिनामै पूरा भएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । 

बोर्डका अनुसार सन् २०२४ जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५३३ जना पर्यटक नेपाल घुम्न आएका छन् । जसमध्ये नोभेम्बरमा मात्रै सवा एक लाख पर्यटकको आगमन भएको छ । जुन तीन वर्षयताकै सर्वाधिक हो । 

नोभेम्बरमा भारत, चीन, अमेरिका, अस्ट्रेलिया, बेलायत, जर्मनी, फ्रान्स, बंगलादेश, श्रीलंका, क्यानडा, पोल्याण्ड, नेदरल्याण्ड, रसिया, स्पेन, जापान, थाईल्याण्ड, सिंगापुर, पाकिस्तानलगायत देशबाट एक लाख १४ हजार ५०१ जना नेपाल घुम्न आएको पर्यटन बोर्डले जनाएको छ । 

बोर्डका अनुसार यस महिना नेपाल घुम्न आउनेमा सबैभन्दा बढी भारतीय पर्यटक १९ हजार ९१५ जना रहेका छन् । त्यसपछि अमेरिकाबाट दश हजार ९८१, चीनबाट ९ हजार ४५८ जना, बेलायतबाट ६ हजार ६११, बंगलादेशबाट ५ हजार १४८, अस्ट्रेलियाबाट ४ हजार ८२९, थाईल्याण्डबाट ४ हजार ४६२, श्रीलंकाबाट ४ हजार ३९६, फ्रान्सबाट ३ हजार ८४१ जना पर्यटक नेपाल आएका हुन् ।  

पर्यटकीय सिजनमा पर्वातारोहण, पदयात्रा र धार्मिक यात्राका लागि पर्यटकहरु नेपाल आउने गरेको बोर्डले जनाएको छ । तर, सिजनमा अपेक्षा गरेअनुरुप पर्यटक नभित्रिएको बोर्डले बताएको छ । बोर्डका निर्देशक मणि लामिछानले प्राकृतिक विपत्ति र विमानस्थल बन्दलगायत कारणले नोभेम्बरमा अपेक्षअनुसार पर्यटक नभित्रिएको बताउँछन् । 

उनले भने, ‘हामीले यसपालि डेढ लाख बढी पर्यटक आउँछन् भन्ने आँकलन गरेका थियौं । तर, बाढी, पहिरो, सडकको अवस्था, विमानस्थललगायत कारणले पर्यटकले बुकिङ्ग रद्द गरे । जसले आगमन घट्यो ।’ यद्यपि, पर्यटक आगमनको यो संख्याले पर्यटक उद्योगमा उत्साह थपेको उनको भनाइ छ । उनले यो वर्ष साढे ११ लाख पर्यटक भित्रिने अपेक्षा गरिएको पनि जानकारी दिए ।

टिप्पणीहरू